४ वैशाख २०८१ मंगलबार
अर्थ

‘गर्व गर्नलायक पूर्वाधार तयार’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

पोखरामा निर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल।

निकै चासोका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पूर्वाधारतर्फका सम्पूर्ण काम सकिएको छ। आन्तरिक पूर्वाधारतर्फका सबै काम सकिएपछि विमानस्थल हवाई उडान र अवतरणका लागि पूर्ण रूपमा तयार भएको आयोजनाले जनाएको छ।

आपत्कालीन अवस्थामा अब यो विमानस्थलबाट उडान र अवतरण गर्न सकिनेछ। पूर्वतर्फ आधा किलोमिटर क्षेत्रमा तारबार र आन्तरिक भवनमा सरसफाइ गर्नेबाहेक सबै काम पूरा भएको आयोजनाका उपप्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘केही क्षेत्रमा तारबार र आन्तरिक सरसफाइबाहेक गर्नुपर्ने आन्तरिक काम अब बाँकी छैन। एउटा ए ग्रेडको विमानस्थल तयार भएको छ,’ पौडेलले भने, ‘गर्व गर्नलायक पूर्वाधार तयार भएको छ।’ पौडेलका अनुसार अब विमानस्थलका लागि आन्तरिक रूपमा आवश्यक पूर्वाधार बनाउन बाँकी छैन। थप संरचना बनाउनुपर्ने आवश्यकता महसुस भएबाहेक योजनामा रहेका सबै काम पूरा भएको उनले बताए।

भौतिक पूर्वाधार निर्माणसँगै उपकरण जडान, परीक्षण, कर्मचारी प्रशिक्षण लगायत काम पनि भइरहेको छ। प्रशिक्षणमा कर्मचारीलाई अभ्यस्त बनाउने काम भइरहेको छ। विमानस्थलका लागि तीनवटा अग्निनियन्त्रक साधन (बारुणयन्त्र) पनि ल्याइएको छ।

‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा तयार भएको छ। बाह्य क्षेत्रमा हुनुपर्नेबाहेक भित्री खण्डका काम सकिएका छन्,’ पौडेलले भने, ‘गर्नुपर्ने ठुला आकारका काम केही बाँकी नहुनु नै पूर्वाधार तयार हुनु हो। बाहिरी काम सम्बन्धित निकायले गर्नुपर्छ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। गत जुलाई १० मा काम सक्ने गरी विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना सिएएमसिईले शिलान्यासको डेढ वर्षपछि काम थालेको थियो।

यो बीचमा कोरोना भाइरस संक्रमण फैलियो। तर पनि चिनियाँ कम्पनीले निर्माणलाई गति दिइरह्यो। कोरोना कहरका बीचमा पनि ९३ प्रतिशत काम पूरा भएपछि गत चैत तेस्रो साता निर्माण कम्पनीले महत्त्वपूर्ण पूर्वाधार सकिएको भन्दै विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

कोरोना कहरले तोकिएकै समयमा सबै काम नसकिएपछि एक वर्षका लागि थपिएको म्याद आगामी जुलाई १० मा सकिँदैछ। थपिएको म्याद नसकिँदै विमानस्थल अहिले पूर्ण रूपमा तयार भइसकेको छ। यो विमानस्थलबाट न्यारोबडी एयरबस ३२० र बोइङ ७५७–२०० जहाज उडान र अवतरण गर्न सक्छन्।

यी जहाज २ सय सिटभन्दा कम यात्रु क्षमताका हुन्। विमानस्थलमा ३ वटा ठुला र ८ वटा साना गरी ११ वटा जहाज पार्किङ गर्न सकिन्छ। विमानस्थलको धावनमार्ग २५ सय मिटर र चौडाइ ४५ मिटर छ। धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर छ। विमानस्थल परिसरमा प्रतिघन्टा ६ सय १० यात्रु राख्न सकिन्छ। १४ हजार वर्गमिटरको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेको पौडेलले बताए ।

विमानस्थल निर्माण भए पनि जहाजका लागि आवश्यक इन्धन डिपो भने परिसरभित्र बनेको छैन। पोखराकै हाल चालु विमानस्थलबाटै आयल निगमले अन्तर्राष्ट्रिय विमानस्थलसम्म इन्धन ढुवानी गरिदिने आश्वासन दिएको पौडेलले बताए। दुईवटा विमानस्थलको दुरी करिब तीन किलोमिटर छ। ‘आयल निगमले चालु विमानस्थलबाटै इन्धन आपूर्ति गरिदिने भनेको छ।

यसका लागि निगमले इन्धन क्षमता वृद्धि पनि गरेको छ,’ उनले भने, ‘उसले इन्धन आपूर्तिमा कुनै अप्ठेरो नहुनेमा विश्वस्त पारेको छ।’ विदेशी निर्माण कम्पनीले विमानस्थललाई पूर्णता दिए पनि सरकार र स्थानीय तहले गर्नुपर्ने महत्त्वपूर्ण काम भने अहिलेसम्म अघि बढाएको छैन। काम कहिले सुरु हुन्छ र सकिन्छ भन्ने कसैलाई थाहा छैन।

स्वदेशी निकायले काम फत्ते गरेपछि मात्र विमानस्थल सञ्चालनमा आउनेछ। सरकारी निकायले गर्नुपर्ने हवाईजहाजको पहुँचमार्गमा पर्ने लेखनाथको रिट्टेपानी डाँडा कटान, विमानस्थल नजिकैको ल्यान्डफिल साइट व्यवस्थापन, विमानस्थलमा भित्रिने भेलबाढीको व्यवस्थापन, आउजाउमा पहुँच पुग्ने सडक विस्तार लगायत काम बाँकी छन्।

पहुँच मार्गमा पर्ने रिट्टेपानीको डाँडाको चुचुरो ४० मिटर तलसम्म काट्नुपर्छ। डाँडा कटान गर्नुपूर्व गरिने वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को प्रक्रिया चलिरहेको छ। इआइए स्वीकृत नभई कटान सुरु हुँदैन। स्वीकृत भएपछि पनि टेन्डर आह्वान गरेर सुरु गर्दा अझै केही महिना लाग्ने आयोजनाका पदाधिकारीको अनुमान छ।

डाँडाको १४ मिटर उचाइ घटाएपछि बल्ल क्यालिब्रेसन फ्लाइट सम्भव हुन्छ। तर नियमित उडान–अवतरणका लागि १२ देखि ४० मिटर उचाइ घटाउनुपर्छ। डाँडा कटान गर्दा ६ सय रूख पनि काटिनेछन्। यस्तै विमानस्थलको अर्काे समस्या हो भेलबाढी नियन्त्रण हो। वर्षायाममा बजारतिरबाट सोहोरिएर आउने भेलबाढीले विमानस्थलको पूर्वी भेगमा क्षति पुर्‍याउने गरेको छ।

आयोजनाले नै भित्री खण्डको भेल व्यवस्थापनका लागि नालाको आकार बढाएको छ भने बाहिरी काम भने थाती रहेको छ, जुन सिँचाइ विभागको जिम्मा हो। अर्काे टड्कारो समस्या हो नजिकैको ल्यान्डफिल साइट स्थानान्तरण। ल्यान्डफिल साइट व्यवस्थापन विमानस्थल सञ्चालनमा सबैभन्दा ठुलो बाधक मानिएको छ।

पोखरा महानगरपालिकाले वर्षाैंदेखि सहरको फोहोर व्यवस्थापन गरिरहेको बाँच्छेबुडुवास्थित ल्यान्डफिल साइट विमानस्थलबाट करिब दुई किलोमिटर दूरीमा पर्छ। पोखरा महानगरपालिका–१४ बाच्छेबुडुवा ल्यान्डफिल साइटनजिक पर्ने भएकाले त्यहाँ आहारा खोज्न आउने पशु र चरा विमानस्थलसम्म आइपुग्छन्।

बेलाबेला गिद्धका बथान विमानस्थलको धावनमार्ग क्षेत्रमा आउँछन्। ल्यान्डफिल साइट व्यवस्थापन नगरेसम्म उडान सुरु नहुने पदाधिकारीले बताउँदै आएका छन्। पोखरा महानगरपालिका नवनिर्वाचित मेयर धनराज आचार्यले सहरको फोहोर व्यवस्थापनका लागि तत्काल कदम चाल्ने बताएका छन्। ल्यान्डफिल साइट व्यवस्थापन महानगरको प्राथमिकतामा रहेको उनले बताए।

‘ल्यान्डफिल साइट व्यवस्थापनमा हामीले तत्कालै ध्यान दिनेछौं,’ उनले भने। आचार्यको चुनावी घोषणापत्रमा पनि ल्यान्डफिल साइट व्यवस्थापन गर्नेछ। अबका ६ महिनाभित्र विमानस्थल सञ्चालन गर्नेगरी काम गर्ने उनले बताएका छन्।

विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रूपमा लिने सहमति छ। वान–वे एप्रोचको यो विमानस्थलमा पूर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन्।

पूर्वतिरै फर्केर टेकअफ गर्नेगरी विमानस्थल बनेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र सिएएमसिईबीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन) को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने सहमति भएको थियो।

चार दशकअघि पोखरा-१४, १५ र १८ वडाको ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो। त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। त्यसले पनि नपुगेपछि विमानस्थलवरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थल बनाउन थालिएको थियो।

प्रकाशित: २२ जेष्ठ २०७९ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App