१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ताप्लेजुङका चार स्थानीय तहको बजेट बढ्यो

चालू आर्थिक वर्षभन्दा आगामी आवका लागि ताप्लेजुङका ४ पालिकामा बजेटको रकम बढ्दा ४ पालिकामा घटेको छ भने एउटामा बराबर रकम आएको छ।

अर्थ मन्त्रालयले बजेट बक्तव्यमार्फत घोषणा गरेको बजेट अन्र्तगत फुङ्लिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका, मैवाखाला गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाको बजेटमा केही वृद्धि भएको छ।

आठराइ त्रिबेणी गाउँपालिका, सिदिङ्वा गाउँपालिका, मेरिङ्देन गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाको बजेटको सानो परिमाण घटेको छ भने सिरिजङ्गा गाउँपालिकामा भने चालू आव र आगामी आवको बजेट समान देखिएको छ।

आगामी आवका लागि फुङलिङ नगरपालिकामा ५० करोड ८८ लाख बजेट विनियोजन भएको छ। आव २०७८/०७९ मा नगरपालिकामा ४७ करोड ७४ लाख रुपैयाँ विनियोजन भएको थियो। तर नगरपालिकाले विभिन्न निकायबाट प्राप्त अनुदान, स्रोत थप र योजना माग समेत गरी २०७८ साल चैत १७ गते सम्पन्न गरेको अन्तिम नगरसभामा ६६ करोड ४१ लाख बढी रकमको शंसोधित बजेट प्रस्तुत गरेको थियो।

यो हिसाबले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पहुँच पुगेमा अहिलेको बजेटको तुलनामा मोटो रकम थप गर्न सकिने रहेछ भन्ने यसले देखाउँछ। अन्य स्थानीय तहले पनि फुङलिङको झैं बजेट थप गर्न सक्ने छन्। फुङलिङले सुरुमा आएको बजेट भन्दा १८ करोड रुपैयाँ बढी स्रोत थप्न सकेको थियो। यस्तै पाथीभरा याङ्वरक गाउँपालिकामा ३२ करोड ७१ लाख आउने छ।

आव २०७८/०७९ मा त्यहाँ ३० करोड ५७ लाख रुपैयाँ विनियोजन भएको थियो। मैवाखोला गाउँपालिकामा आगामी आवका लागि २८ करोड २ लाख रुपैयाँ बजेट आएको छ। चालू आवका लागि सुरुमा त्यहाँ अर्थमन्त्रालयले २७ करोड १० लाख रकम विनियोजन गरेको थियो। चालू आवमा ३२ करोड ८४ लाख बजेट विनियोजन भएको आठराइ त्रिबेणी गाउँपालिकामा भने सानो हिस्सा घटेर आएको छ।

आगामी आवका लागि त्यहाँ ३२ करोड ६१ लाख रकम विनियोजन भएको छ। यस्तै आगामी आवमा २४ करोड ५७  लाख बजेट विनियोजन भएको मिक्वाखोला गाउँपालिकामा चालू आवका लागि भने २३ करोड ७३ लाख रुपैयाँ बजेट रहेको थियो। मेरिङदेन गाउँपालिकामा पनि आगामी आवका लागि आउने बजेटमा चालू आव भन्दा सानो हिस्सा घटेर आएको छ।

त्यहाँ आगामी आवमा ३१ करोड ६ लाख बजेट आउने छ। चालू आवका लागि भने त्यहाँ ३१ करोड ७० लाख रुपैयाँ बजेट थियो। सिदिङ्वा गाउँपालिकाको चालू आवका लागि सुरुमा अर्थले स्वीकृत गरेको बजेट ३० करोड ४ लाख रुपैयाँ हो। त्यहाँ पनि केही रकम घटेर आएको छ। त्यहाँ आगामी आवका लागि अर्थले ३० करोड रुपैयाँ बजेट पठाउने छ।

सिरिजङ्गा गाउँपालिकामा आगामी आवका लागि ३८ करोड ३५ लाख रुपैयाँ रकम विनियोजन भएको छ। चालू आवका लागि त्यहाँ अर्थले त्यतिनै रकम विनियोजन गरेको थियो। आगामी आवका लागि २८ करोड ७० लाख बजेट रहेको फक्ताङ्लुङ गाउँपालिकामा अघिल्लो आवमा ३१ करोड १० लाख रुपैयाँको बजेट रहेको थियो। त्यहाँ पनि चालू आवका लागि भन्दा आगामी आवमा आउने बजेट घटेको छ।

प्रकाशित: १६ जेष्ठ २०७९ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App