२९ वैशाख २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

सार्थक लगानी सम्मेलनको शुभकामना!

विकासको पथमा फड्को मार्दै गरेको नेपाल जस्तो मुलुकका लागि यतिबेला पर्याप्त स्रोत चाहिएको छ। यस्तो स्रोत नेपाल र नेपालीको पुँजीबाट मात्र जुटाउन असम्भव छ। त्यसैले मुलुकको विकास निर्माणका लागि स्रोत जुटाउन मुलुकले विभिन्न प्रयास गर्दै आएको पनि छ। आइतबार सुरु हुने लगानी सम्मेलन यही प्रयासको एउटा कडी हो।

लगानी गर्ने क्षमता भएका ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने निश्चित भएकाले यो सम्मेलन निकै फलदायी हुने सरकारको अपेक्षा छ। सम्मेलन प्रक्रियाको नेतृत्व गरिरहेको लगानी बोर्ड र सहआयोजकका रूपमा रहेका निजी क्षेत्रका छाता संस्थाहरू पनि यो सम्मेलनप्रति निकै आशावादी देखिन्छन्।

सम्मेलनमा लगानीयोग्य परियोजनाहरूबारे सहभागीलाई जानकारी गराइने उद्देश्य छ ताकि उनीहरू यस्ता परियोजनामा लगानी गर्न उत्सुक होउन्। लगानी बोर्डले विदेशी लगानीकर्ताका लागि डेढ सय आयोजना प्रर्दशनमा राखिने भएको छ। जसमध्ये २० वटा परियोजनाचाहिँ तत्काल सुरु गर्न सकिने छन्।

नेपालमा पर्यटन, कृषि , पूर्वाधार, विद्युत् उत्पादन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी अभाव छ। नेपाल उन्नत हुने सम्भावना भएका यी मुख्य क्षेत्रमै लगानी आकर्षित गर्ने उद्देश्यले सम्भावित परियोजनाहरू तयार भएका देखिन्छन्। यसरी तयार पारिएका मुख्य योजनामा पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र, धुलिखेल मेडिसिटी परियोजना, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुत मार्ग, बबरमहल प्रशासनिक प्लाजा, जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेज आदि छन्।

खासगरी उद्योगीहरूले लगानीकर्तालाई लगानी गर्ने वातावरणका लागि बाधक बनेका तथा असहज कानुनहरू सरकारले अध्यादेशमार्फत संशोधन गरेको छ। वन ऐन, भूमिसम्बन्धी ऐन, जग्गा प्राप्ति ऐन, औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन जस्ता केही कानुन संशोधन गरेको छ। लगानीकर्तालाई विश्वास दिलाउन सरकारले हतार हतारमा मन्त्रिपरिषद्ले अध्यादेशमार्फत यस्ता कानुन संशोधन गरेको छ।

सम्मेलनमा बहुराष्ट्रिय कम्पनीका उच्च नेतृत्व सम्हालेका व्यक्तिलाई पनि आमन्त्रण गरेको छ। स्वदेशी र विदेशी गरी करिब १६ सय सहभागी हुने भएका छन्। विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी हुन आएको बोर्डले जनाएको छ।

लगानी सम्मेलन नेपालमा पहिलो पटक आयोजना भएको होइन। त्यसैले सम्मेलनबाटै लगानीको ओइरो नै लाग्ने अपेक्षा पनि वास्तविकतामा आधारित नहुन सक्छ। जस्तो यसभन्दा अघिको सम्मेलनमा उपस्थित सहभागीहरूले करिब १४ खर्ब रुपियाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए तर आउने बेलामा अपेक्षित लगानी आएन। विदेशी लगानीकर्ताले उद्योग विभाग र लगानी बोर्डमार्फत गरेको प्रतिवद्धताको ३५–४० प्रतिशत विदेशी लगानी आउने गरेको छ।

हामीले विगतका प्रतिबद्धता र वास्तविकता तुलना गरेर यथार्थतामा आधारित भएर अपेक्षा राख्नुपर्छ।

लगानी सम्मेलन मुलुकका लागि आवश्यक थियो जुन हुँदै पनि छ। अब यसलाई कसरी सफल तुल्याउने भन्नेमा सबै नेपाली लाग्नुपर्छ। किनकि यो सम्मेलन गर्नु उचित थियो वा थिएन, अहिलेको सरकार यसका लागि सही पात्र थियो वा थिएन वा परियोजनाहरू सही वा बेठीक के थिए भन्नेबारे बहस गर्ने समय अहिले होइन। अहिलेको समय सुरु भइसकेको यो सम्मेलनलाई आकर्षक तुल्याउने, सम्भावित दाताहरूलाई हाम्रो र उनीहरू दुवैका लाभ र हितबारे सुझाउने र लगानीको पोको खन्याउँ खन्याउँ पार्ने हो।

हामी सबैले आआफ्नो ठाउँबाट सकेको योगदान गर्नु उत्तिकै जरुरी छ।

शान्त र सौम्य बनेर नेपालीपनको परिचय दिने, अराजकता खडा नगर्ने, फोहोर र ध्वनिलगायतका प्रदूषण न्यूनीकरण गर्ने जस्ता कार्यमार्फत सर्वसाधारण नेपालीले पनि विश्वभरका अतिथिलाई आकर्षित तुल्याउन सक्छौँ। त्यसैले यो सबै काम सरकारको वा कुनै अमुक निकायको हो भनेर नपन्छौँ। अतिथि देवोः भवः को नेपाली सर्वमान्य परम्परालाई फेरि एकपटक सार्थक तुल्याउन आआफ्नो ठाउँबाट योगदान गरौँ। यो हाम्रा लागि कर्तव्य र अवसर दुवै हो। यसलाई आत्मसाथ गरेर लगानीकर्ताको विश्वास जितौं।

प्रकाशित: १६ वैशाख २०८१ ०६:०७ आइतबार

Download Nagarik App
Download Nagarik App