२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नागढुङ्गास्थित सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत

नागढुङ्गास्थित सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ। हालसम्म आर्थिक प्रगति ‘मोबिलाइजेसन एडभान्स’सहित ४३ प्रतिशत पुगेको छ।

जमिनमा गरिने काममा सडकमार्ग खन्ने काम ७६ प्रतिशत सकिएको छ भने बाँधमा भर्ने काम ३७ प्रतिशत सकिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ। निर्माण गर्नुपर्ने संरचनामध्ये ‘ओभर पास’ सम्पन्न भइसकेको छ भने ‘फ्लाइओभर’ निर्माणाधीन छ। तीन ‘अण्डर पास’मध्ये दुई सकिएको छ र चार ‘बक्स कल्भर्ट’मध्ये तीन सकिएको छ। तीन पुल निर्माण गर्नुपर्नेमा हालसम्म दुई सकिएको छ।

मुख्य सुरुङ हालसम्म पूर्वतर्फबाट ५५३ मिटर र पश्चिम तर्फबाट ५५३ मिटर गरी एक हजार १०६ मिटर सम्पन्न भएको छ। मुख्य सुरुङको लम्बाई दुई हजार ६८८ मिटर रहेको छ। ‘निष्काशन टनेल’ को लम्बाइ दुई हजार ५५७ मिटरमध्ये एक हजार ३८४ मिटर सकिएको आयोजनाले जनाएको छ। पूर्व तर्फबाट ५०७ मिटर र पश्चिम तर्फबाट ५७७ मिटर सकिएको छ। ‘वर्किङ अडिट’ सम्पन्न भइसकेको छ । ‘क्रस प्यासेज’ १२८ मिटर लम्बाईमध्ये हालसम्म ४८ मिटर खनिसकेको छ।

गत महिनामा ३० प्रतिशत भौतिक प्रगति रहेकामा एक महिनामा थप पाँँच प्रतिशत प्रगति भएको हो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ‘सफ्ट लोन’ मा निर्माणाधीन सो सुरुङमार्ग नेपालको पहिलो सुरुङ हो। जापान सरकारको ‘सफ्ट लोन’ मा विसं २०७६ कात्तिकमा ४२ महिनामा सम्पन्न गर्ने गरी सो आयोजना निर्माण सुरु भएको थियो।

नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच विसं २०७६ असोजमा सम्झौता भएको थियो। सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने जाम हट्ने विभागले जनाएको छ। आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर चौडाइका गरेर दुई वटा सुरुङको निर्माण हुनेछ।

तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीनवटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन्। एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन्। सहायक सुरुङ तत्काल उद्धारका लागि प्रयोग हुने बताइएको छ। ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ। रासस

प्रकाशित: २५ चैत्र २०७८ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App