१९ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

अनुदानको आँखामा नपरेका किसानको ५० लाखको बाख्रा फार्म

इलामको माइजोगमाई गाउँपालिका–३, शुक्रबारेका किसान पारसमणि घिमिरे (दायाँ) आफ्नो फार्ममा रहेका बाख्रा देखाउँदै। तस्बिर: भीम/नागरिक

कृषि व्यवसाय र पशुपालन गर्ने वास्तविक किसानले हत्तपत्त सरकारी सुविधा–सहुलियत पाउँदैनन्। कृषि र पशुपालनमा किसानले पाउने सरकारी सुविधा लिन कि बिचौलिया चाहिने, कि ‘पहुँच’ नै पुर्‍याउनुपर्ने बाध्यता रहेकाले वास्तविक किसान प्रायः यस्तो सुविधाबाट वञ्चित हुनेगरेको गुनासो धेरै आइरहन्छ।  

माइजोगमाई गाउँपालिका–३, शुक्रबारेका किसान पारसमणि घिमिरे यस्ता किसान हुन्, जसले बाख्रा पालन व्यवसाय थालेको ३ वर्ष बित्यो। अहिलेसम्म ५० लाख रुपैयाँ हाराहारी खर्च भएको उनको फार्ममा बोयर जातका सहित १ सय १० बाख्रा छन्। उनले गरेको व्यवसाय सरकारले नदेखेको होइन तर घिमिरेले अहिलेसम्म आफ्नै बलबुतामा फार्म सञ्चालन गरेका छन्। सरकारी अनुदान र सहयोग छैन।  

उनले आफ्नो घिमिरे नमुना बाख्रा पालन फार्मबाट गाउँपालिका, पशुसेवा कार्यालय, प्रदेशस्थित कृषि मन्त्रालयलगायतमा प्रस्तावना पेस नगरेका होइनन्। तर, नजिकैका ‘देखावटी’ फार्ममा अनुदान आयो, उनलाई चाहिँ कसैले ‘पत्याएन’। ‘अनुदानकै लागिमात्र कृषि र पशुफार्म खोल्नेहरू गाउँमा भेटिन्छन्,’ उनले भने, ‘अनुदान दिनेले अनुगमन गर्ने दिन गाउँभरिका बाख्रा भेला गरेर आफ्नो फार्ममा देखाउनेसमेत गाउँतिरै छन् तर मैले ३ वर्षदेखि निरन्तर गरेको व्यवसायलाई दाताले पत्याउँदैनन्।’  

घिमिरेको फार्ममा अहिले धेरैजसो बोयर जातका बोका र पाठापाठी छन्। खरी र पुङपुङे जातका बाख्रा पनि छन्। उनी र पत्नी डेगकुमार घिमिरे बिहान उज्यालो नहुँदैदेखि राति करिब ९ बजेसम्म बाख्रा फार्ममै खटिन्छन्। ‘घाँस काट्ने, बाख्राको खोर सफा गर्ने, खोले खुवाउने, आवश्यक पर्दा औषधि दिनेजस्ता काममा हामी दम्पतीले मात्रै नभ्याएर थप दुई जनालाई रोजगारी पनि दिएका छौं,’ पारसले भने, ‘बाख्रा पालनमा निकै ठूलो लगानी खर्च हुन्छ तर मेहनत गर्नसक्दा यसबाट आम्दानी पनि राम्रो हुन्छ।’  

उनले सबै खर्च कटाएर वर्षेनि ५ देखि ६ लाख रुपैयाँ आम्दानी हुने गरेको बताए। ‘अहिलेसम्म लगानी चाहिँ उठाउन सकिएको छैन,’ उनले भने, ‘लगानी उठाउन अझै निकै वर्ष लाग्छ तर म आफू पशुको प्राविधिक पनि भएकाले अरू किसानलाई सिक्ने अवसर पनि भएको छ यो फार्म। हामीलाई कसैले अनुदान त पत्याउँछन्जस्तो लाग्दैन, धेरै आस पनि छैन।’

घिमिरे पशु स्वास्थ्यकर्मी पनि हुन्। उनले २०५८ सालमा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको तालिम लिएर पशुको औषधोपचार गरे। उनले शुक्रबारे बजारमा पशुका लागि औषधि पसलसमेत सञ्चालन गरिरहेका छन्। ‘गाउँमा कुनै पशु बिरामी भए टाढा–टाढासम्म पनि पुग्थें,’ उनले २ दशकयताको आफ्नो काम सुनाए, ‘अहिले त गाउँतिर पशुस्वास्थ्य कार्यकर्ताको संख्या पनि बढ्दैछ। मैले चाहिँ आफैं बाख्रापालन गरिरहेको छु। पशुको उपचारमा गाउँ डुल्न पनि छाडेको छैन।’

घिमिरेले २०७५ सालमा चितवनबाट बोयर जातको एउटा बोको र एउटा पाठी ल्याएका थिए। माइजोगमाई गाउँपालिकामै सबैभन्दा पहिला आफूले नै बोयर बाख्रा ल्याएको उनको दाबी छ। ‘त्यहीबाट उत्पादन भएका पाठापाठीबाट फार्म विस्तार गरें, गाउँका सबैजसो वडामा यही फार्ममा उत्पादन भएका बोयर पुगेका छन्,’ उनले भने।  

माइजोगमाई गाउँपालिकाले किसानलाई बोयर जातका बोका वितरण गर्ने कार्यक्रम ल्यायो। घिमिरेकै फार्मबाट बोको लग्यो र अरू किसानलाई वितरण गर्‍यो। घिमिरले आफूले उत्पादन गरेको बोयर बोको प्रतिगोटा ७५ हजारदेखि डेढ लाख रुपैयाँसम्ममा विक्री भएको बताए। ‘अहिले चाहिँ बोयर राम्रो भाउमा बिक्न छाड्यो,’ उनले भने, ‘कोरोना महामारी र विभिन्न कारणले खसी–बोकाको मूल्य कम भएको छ।’

त्यसो त घिमिरेले गाईपालन व्यवसाय पनि नगरेका होइनन्। तर, त्यसबाट सोचेजस्तो आम्दानी भएन। गाईपालन छाडेर उनी बोयर पालनमा लागेका हुन्। ‘बोयरबाट राम्रो आम्दानी हुन्छ भन्ने सुनेको थिएँ, चितवनको जगतपुर एग्रो गएर योगेन्द्रबहादुर खड्काबाट बोयरको बोका–पाठी ल्याएर व्यवसाय सुरु गरेको हुँ,’ उनले भने, ‘त्यसपछि हेटौंडाबाट पनि बोयरको अर्काे बोको ल्याएँ। त्यसले पनि राम्रो उत्पादन दियो। अहिले गाउँमा त्यसैको उत्पादनबाट नश्ल सुधार र विस्तार गरिँदैछ।’

उनले फार्म सुरु गर्दा पुङपुङे, खरी, जमुनापारीलगायत जातका बाख्रा थिए। अहिले त्यही फार्ममा बोयर बाख्रा धेरै छन्। खरी जातका बाख्रामा बोयरको नश्ल क्रस गराउँदा उत्पादन राम्रो भएको उनी बताउँछन्। ‘यहाँको हावापानीमा खरी जातको बाख्रा राम्रो हुनेरहेछ, बोयर र खरी जातको क्रसले निरोगी बाख्रा उत्पादन हुन्छ,’ उनले भने, ‘बोयरको पनि उत्पादन राम्रो छ तर किन्दा महँगो, बेच्दा सस्तो भएकाले आम्दानीमा चाहिँ अलि समस्या परिरहेको छ।’

अहिले उनको फार्ममा बोयरका २५ देखि ३० पाठापाठी छन्। बाख्राको दानापानी, घाँस र औषधोपचारमा गरी महिनामा ५० हजार रुपैयाँ हाराहारी खर्च भइरहेको उनले सुनाए। ‘पोहोर साल प्रदेशको कृषि मन्त्रालयको अनुगमन टोली आएर मेरो फार्म हेरेको थियो, यहाँ त उहाँहरू खुसी भएर जानुभएको थियो तर पछि किन हो मलाई पत्याउनुभएनछ,’ उनले भने, ‘फार्म देखाएर अनुदान लिने कतिपयले गाई–बाख्रा पाल्नै छाडे, आफैं लगानी गरेर सकीनसकी व्यवसाय गरिरहेका वास्तविक किसान अझै सरकारी निकायको आँखामा पर्न सकेका छैनन्।’ 

प्रकाशित: २० चैत्र २०७८ ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App