७ असार २०८२ शनिबार
image/svg+xml
अर्थ

ब्रोइलरभन्दा लोकल कुखुराको माग बढी

गजुरी–१ बरेछापकी मनिषा बसेल एउटा भाले २५ सयमा बिक्री गर्छिन्। कुखुराको भाले लिन मानिसहरू उनको घरमै पुग्छन्। राजमार्गबाट नजिक भएकाले पनि उनको घरमा जोकोही सजिलै भाले किन्न पुग्छन्। मनिषा भन्छिन्–‘तरिका जानियो भने पैसा कमाउन घर बाहिर निस्कन नपर्ने रहेछ।’

मनिषाले यसपाली चिटिक्क परेको नयाँ खोर थपेकी छिन्। अहिले उनको घरमा बेच्ने बेला भएको २० ओटाजति भाले छन्। सकेसम्म घरकै पोथीले कोरलेको चल्ला हुर्काउँछिन्। त्यसले नगुग्दा बजारमा पाइने लोकल चल्ला किनेर हुर्काउने गरेको उनले बताइन्।

मनिषाले जस्तै गजुरीका अधिकांशले परम्परागत कुखुरा पालनलाई नै व्यवस्थित बनाउन थालेका छन्। स्थानीयहरूले घरघरै लोकल कुखुरा पालन गर्न थालेका छन्। गजुरी गाउँपालिकाका स्थानीयले पाल्दै आएको लोकल कुखुरा घरायसी आम्दानीको दरिलो स्रोत बनेको छ। ब्रोइलरको तुलनामा लोकल कुखुराको माग बढेकाले गाउँमा लोकल कुखुरा व्यवस्थित तवरले पाल्न थालिएको छ।

गिरिराज जातको चल्ला हुर्काएर पनि गजुरीका स्थानीयले राम्रो आम्दानी लिइरहेका छन्। एक सय रूपैयाँमा किनेको गिरिराज जातको चल्लाले ६ महिनापछि २ हजारदेखि २५ सयसम्म फाइदा दिने स्थानीयहरू बताउँछन्। कसैले फाइदाकै लागि मात्रै पालेका छन् त कसैले बालबच्चाको पोषणको लागि कुखुरा पालन गर्न थालेका रहेछन्।

कुखुरा छुनसमेत हुँदैन भन्ने ब्राह्मणले समेत घरमा कुखुरा पाल्न थालेका छन्। गजुरी गाउँपालिका– २, डाँडागाउँकी दुर्गा सिलवाल भन्छिन्–‘बालबच्चाको पौष्टिक आहारकै लागि भए पनि अहिले हरेकघरमा लोकल कुखुरा पाल्न थालिएको छ।’

दुर्गाको घरमा अहिले २५ ओटा कुखुरा छन् तर उनले आजको दिनसम्म कुखुराको मासु खाएकी छैनन्। बालबच्चालाई खुआएर बाँकी रहेको कुखुरा बेचेर पनि राम्रै आम्दानी गरिरहेकी छन्। ‘आफू खान्न, बच्चालाई समय समयमा मासु खुवाएर बचेको कुखुरा बेचेर पनि राम्रै आम्दानी भइरहेको छ’– उनले भनिन्। एउटा भाले २ हजारको दरले हचुवामा छानिछानी बेच्ने गरेकी छन्।

गजुरी–२, मायाटारी मुना पौडेललाई आफैंले कुखुरा पाल्न त परको कुरा घरमा अभिभावकले कुखुरा छुन समेत दिँदैन थिए। पेसाले शिक्षक मुनाले पनि ब्राह्मण समुदायका ससुरा, सासुलाई सम्झाएर दुधे बच्चाको लागि मासु र अण्डा खुआउन घरमै कुखुरा पाल्न थालेकी छन्। अहिले उनको घरमा गज्जबको ३ वटा भाले छ। २ वटा पोथीले फुल पार्ने बेला भएको छ। ‘सुरुका दिनमा सासु ससुरालाई सम्झाउन कठिन भयो नाती नातिनालाई बलियो तगडा बनाउन मासु र अण्डा चाहिन्छ त्यसैले कुखुरा पालौं भनेपछि बल्ल मान्नुभयो’– उनले विगत सुनाइन्।

लोकल कुखुरा ग्रामीण बस्तीका प्रायः सबै घरमा पालिएका हुन्छन्। उद्देश्य विना नै पालिएका कुखुरा न फस्टाउँछ्न न त स्थानीयले त्यसबाट फाइदा लिन सकेका हुन्छन् तर गजुरी गाउँपालिकाभित्रका अधिकांश स्थानीयले भने लोकल कुखुरालाई नै घरायसी आम्दानीको स्रोत बनाएका छन्।

घर वरपर भएका झारबुट्टा घास नै खाएर पनि खाएर कुखुरा हुर्कने र धान, मकै गहुँलगायतका अन्न नै आहाराका रूपमा दिन सकिने भएकाले पनि कुखुरा घरायसी आम्दानीको स्रोत बनेको हो। परम्परागत कुखुरा पालनलाई नै व्यवस्थित गरेर घर खर्च चलाउनेहरू पनि गजुरीमा धेरै छन्।

परम्परागत कुखुरा पालनलाई नै व्यवस्थित गराउँदा रामै्र आम्दानी गरिरहेका गजुरी–१ उज्यालोगाउँकी हिरा बिकले बताइन्। अहिले हिरासँग भाले पोथी गरी ३२ वटा बेच्ने बेला हुँदै गरेका कुखुरा छन्।

हिरा भन्छिन्– ‘पहिले पनि अलिअलि पाल्ने गरेका थियौं, अहिले अझ राम्रो भएको छ।’ हिराले पालेको आधाजसो कुखुरा त गाउँमै बिक्री हुन्छन्। पुजा चलाउन, सुत्केरी र बालबच्चालाई खुआउन भन्दै गाउँकै मान्छेले कुखुरा किनेर लाने गरेको उनी बताउँछिन्। गाउँमा नबिकेका कुखुरा गजुरी, मलेखु, बेनिघाट लगायतका होटल व्यवसायीले किनेर लग्ने गरेको उनले बताइन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप)ले गजुरी गाउँपालिकामा कुखुरा वितरणसँगै घरबारी पोषण बगैंचाको लागि तरकारी र फलफूलको बिउ पनि वितरण गर्दै आएको छ।

दुई वर्षसम्मका बालबालिका, किशोरी, गर्भवती एवं सुत्केरी महिलाहरूको पोषण सम्बन्धी चेतना अभिवृद्धि गरी खानपानमा सुधार ल्याउन विभिन्न गतिविधि सञ्चालन गरिरहेको फ्यानसेपका आयोजना सहजकर्ता सर्मिला नेपालले बताइन्। गजुरीमा २ वर्षमा ४७ वटा पोषण समूह गठन गरिएको छ। गजुरी गाउँपालिकासँगको साझेदारीमा एकजना सदस्य बराबर ५ वटा कुखुरा ८५ प्रतिशत अनुदानमा वितरण गरिएको हो।

पोषण सुरक्षाका दृष्टिकोणले संवेदनशील समूह निर्माण गरेर त्यही समूहका सदस्यहरूलाई आवश्यक सहयोग गर्दै कुखुरा पालन गरी मासु र अण्डाको उपभोगले पोषण अवस्थामा सुधार आएको छ। पहिलेको तुलनामा बालबालिका, गर्भवती, सुत्केरी आमाहरूको स्वास्थ्यमा सुधार आउन थालेको गजुरी–२ की स्वास्थ्य स्वयंसेविका मिना लामाले बताइन्। घरमै कुखुरा पालेर बालबच्चालाई मासु र अण्डा खुआउन थालेको सीता खरेलले बताइन्। ‘छोरा र छोरीको गरी २ जना बच्चा छ, त्यसमाथि पनि बच्चालाई यहीं छोडेर छोरीज्वाईं विदेश जानुभएको छ’, आमाको दूध समेत खान नपाएको बच्चालाई मासु र अण्डा खुआउन कुखुरा पालेकाले सजिलो भएको छ’– खरेलले भनिन्।

प्रकाशित: १८ चैत्र २०७८ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App