२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दरबार मार्गमा महोत्सव हुँदै

आगामी वैशाख ३ गते राजधानीको दरबारमार्गमा दरबारमार्ग महोत्सव आयोजना हुने भएको छ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डको संयुक्त पहलमा आयोजना हुने महोत्सवलाई दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले मुख्य प्रयोजन गरेको छ। त्यस्तै, महोत्सवलाई गोरखा ब्रुअरीले सहप्रायोजन गरेको छ।

नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुने यस महोत्सवबाट पर्यटन चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। महोत्सवबारे जानकारी दिन बिहीबार नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष शेखर गोल्छाले महोत्सवबाट कोभिड प्रभावित पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए।

निराशाबाट आशातर्फ अगाडि बढ्दै हाललाई आन्तिरिक पर्यटक प्रवद्र्धन गर्न सके बाह्य पर्यटकलाई तान्न समेत यस्ता आयोजनाले बल पुग्ने उनको विश्वास छ। त्यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले यस्ता गतिविधिले आन्तरिक पर्यटन प्रवद्र्धनसँगै नेपाली उत्पादन, कला संस्कृति र मौलिकताको संरक्षण एवं प्रवद्र्धन हुने बताए।

विदेशी पर्यटकले मात्रै नेपालको पर्यटन क्षेत्र धान्नुपर्छ भन्ने परम्परागत धारणामा कोभिडले परिवर्तन गरिदिएको बताउँदै उनले अहिलेलाई आन्तिरक पर्यटनमा टेवा पुग्ने गतिविधि सञ्चालन गर्र्नुपर्नेमा जोड दिए।

त्यस्तै, रेवानका अध्यक्ष अरनिको राजभण्डारीले महोत्सवबाट मनोरञ्जनसँगै पर्यटन, व्यवसायसँग नेपाली स्थानीय उत्पादन, नेपाली खाना र नेपाली मौलिकताको प्रवद्र्धनमा समेत सहयोग पुग्ने जोड दिए। कोरोना महामारीका कारण लामो समय ठूलो सभा सम्मेलन हुन नसक्दा प्रभावित पर्यटन क्षेत्रमा पुनः जागरण ल्याउन महोत्सवको आयोजना गरिन लागेको हो।

राजधानीमा पछिल्लो तीन वर्ष यताकै ठूलो मनोरञ्जनात्मक आयोजनाको रूपमा अगाडि बढाइएको यस महोत्सवमा विभिन्न कलाकारको प्रस्तुतिसमेत रहनेछ।

महोत्सवमा सातै प्रदेशको संस्कृति झल्कने गरी विभिन्न जातजातिका कला संस्कृतिहरू समेत प्रस्तुत गरिने भएको छ।

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना भएको पोखरा सडक महोत्सवपछिको दोस्रो पर्यटन प्रवर्द्धनात्मक यस महोत्सवमा दीपक बज्राचार्य, समृद्धि राई, सुवानी मोक्तान, सन्दीप क्षेत्री, सुरसुधा, सृष्टि केसी, मेलिना राई, महेश काफ्ले, रुशान एण्ड लज्जु, एभरेष्ट क्रु, राजनराज शिवाकोटी लगायतको प्रस्तुति रहनेछ। दरबारमार्गस्थित दक्षिणतर्फ महेन्द्र शालिकसम्म र उत्तरतर्फ नारायणहिटी संग्रहालय गेटको ट्राफिक पोलसम्मको सडकमा आयोजना हुने एक दिने महोत्सवमार्फत देशको सामाजिक, आर्थिक र पर्यटन क्षेत्र उत्साहमय हुने अपेक्षा गरिएको छ।

महोत्सवमा विभिन्न ३५ प्रकारका खानासहित ६० वटा स्टल रहने छन्। पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेसँगै उत्साहित पर्यटन व्यवसायीलाई यस्ता आयोजनाले थप हौसला पुग्ने विश्वास गरिएको छ। आन्तरिकसँगै पछिल्लो समय बाह्य पर्यटकहरूको समेत संख्या बढ्दै गएको समयमा नेपाल पर्यटनका लागि सुरक्षित रहेको सूचना प्रवाह गर्न कोशेढुङ्गा सावित हुने आयोजकको दाबी छ।

पुसमा सम्पन्न पोखरा सडक महोत्सवबाट हौसिएका पर्यटन व्यवसायीले यो उत्साहलाई कायम राख्न पर्यटनजन्य गतिविधिलाई निरन्तरता दिनुपर्ने बताउँदै आएका छन्।

आन्तरिक पर्यटनलाई थप चलायमान बनाउने विश्वाससहित आयोजना हुने यस महोत्सवमा विदेशी पर्यटकको बाक्लो उपस्थिति हुने अपेक्षा गरिएको छ। 

प्रकाशित: १८ चैत्र २०७८ ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App