मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा हुन लागेको ‘ट्रेड एक्स्पो–२०२२’ को सम्पूर्ण तयारी पूरा भएको छ। चैत १८ गतेदेखि २६ गतेसम्म विराटनगर–२ स्थित शंकरपुरमा आयोजना हुन लागेको एक्स्पोको तयारी पूरा भएको मोरङ व्यापार संघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
आयोजक समितिका अनुसार शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले एक्स्पोको उद्घाटन गर्नेछन्। एक्स्पो विगतका वर्षहरुभन्दा फरक हुने आयोजकले जनाएको छ। मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालका अनुसार यसपटकको एक्स्पोमा स्वदेश तथा विदेशका विभिन्न उत्पादनहरु सहित लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब र सेन्ट वेसिल जस्ता अन्तर्राष्ट्रिय संरचनाको आकर्षण समेत थपिएको छ। यस्तै सेल्फी जोन र साहसिक खेल मन पराउनेहरुका लागि जीप लाइन, रिभर्स बन्जी र जिप साइक्लिनिङ्गको प्रबन्ध पनि मिलाईएको छ। कुल ९ दिन चल्ने एक्स्पोमा नेपालसँगै भारत, बङगलादेश र पाकिस्तानका उत्पादनहरु समेत प्रदर्शनीमा राखिने छन्।
एक्स्पोमा कृषि, पर्यटन, सूचना प्रविद्यि, अटोमोबाईल्स, बाल उद्यान र खानाका विभिन्न परिकार सँगसँगै नियमित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहने जनाईएको छ। एक्स्पोबाट स्वदेशी उत्पादन तथा प्रविधि प्रवर्द्धन, व्यावसायिक उत्पादनमा जोड, उत्पादक तथा उपभोक्ताबीच सम्बन्ध विस्तार र पर्यटन प्रवर्द्धन तथा लगानी मैत्री वातावरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्वदेशी र विदेशी उत्पादन समेट्ने गरी कुल २७० स्टलहरु रहने एक्स्पो २ लाख बढी उपभोक्ताहरुले अवलोकन गर्ने व्यापार संघले जनाएको छ। एक्स्पोमा ४० करोडको बराबरको कारोबार हुने अपेक्षा गरिएको मोरङ व्यापार संघका उपाध्यक्ष तथा एक्स्पोका संयोजक विकास वेगवानीले बताए।
प्रकाशित: १७ चैत्र २०७८ २०:३० बिहीबार