६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

मुलुक विद्युतमा आत्मनिर्भर बन्दै

रूकुमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ।

अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रूपमा उद्घाटन गरेका हुन्। सबस्टेसनबाट रुकुमपश्चिम, रुकुमपूर्व र जाजरकोटका केही ठाउँहरूमा विद्युत् आपूर्ति गरिनेछ।

कार्यक्रममा अर्थमन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्यासलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे। आफूले सुरु गरेको ‘उज्यालो रुकुम’ अभियान अहिले ‘उज्यालो नेपाल’मा परिणत भएको चर्चा गर्दै पूर्वऊर्जा मन्त्रीसमेत रहेका शर्माले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए। ‘विद्युत आर्थिक क्रान्तिको आधारभूत साधन हो, यसको प्रयोग घरघरमा, उद्योग उद्योगमा बढाएर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लाग्नुपर्छ, साथै गुणस्तरीय पूर्वाधारको निर्माण गरी गुणात्मक विकास गर्नु पर्छ,’ उनले भने।

उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री भुसालले विगतमा बत्ती बाल्न पाउनु नै ठूलो कुरा भएको उल्लेख गर्दै अब पर्याप्त बिजुली उपलब्ध रहेकोले भान्छामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गरिन्। उनले दुई वर्षभित्रमा सबै नेपालीको घरमा बिजुली पुर्याउने र विद्युत् सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयासका साथ काम भइरहेको बताइन्।

उनले भनिन्, ‘आफ्नै उत्पादनबाट माग धान्ने अवस्थामा पुगी विद्युत्मा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेका छौं, बर्खाका केही महिना देशभित्र खपत गरेर जगेडा भएको विद्युत् भारत निर्यात गर्न थालेका छौं, थप विद्युत् निर्यातका लागि भइरहेका पहल सकारात्मक रूपमा अगाडि बढिरहेको छ।’

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए। सल्यान सितलपाटी सबस्टेसनबाट करिब ८० किलोमिटर लामो ३३ केभी लाइनमार्फत बिजुली लगेर सबस्टेसन सञ्चालनमा ल्याइएको हो। यो सबस्टेसनमा ३ एमभिए क्षमताको पावर ट्रान्सफर्मर छ। सबस्टेसन सञ्चालनमा आएपछि रुकुममा बिजुलीको भोल्टेजमा उल्लेखनीय सुधार, लाइनमा नियमितता र प्राविधिक चुहावटमा कमी आएको छ।

जाजरकोटको कुदु सबस्टेसनबाट पनि जिल्लाभर विद्युत् आपूर्ति गर्न सकिने व्यवस्था मिलाइएको छ। यसले गर्दा सल्यान या दाङको तुलसीपुरमा विद्युत् अवरोध हुँदा पनि रुकुमपश्चिम तथापूर्वमा बत्ती बाल्न सकिन्छ।

सबस्टेसनबाट विद्युत् आपूर्तिका लागि फिडरहरू निर्माण भइरहेको छ। अहिले एउटा फिडरबाट मात्र जिल्लाभरी विद्युत् आपूर्ति भइरहेको छ। बाँकी फिडरहरू सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्तिमा झनै सुधार आउने छ। रुकुमपूर्वमा निजी क्षेत्रले निर्माण गरिरहेको ५ मेगावाटको रुकुमगाड जलविद्युत् आयोजनाको विद्युत् यही मुसिकोट सबस्टेसनमा जोडिने छ।

प्रकाशित: ९ चैत्र २०७८ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App