१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

साढे ६ अर्बमा नागढुंगा–मलेखु सडक स्तरोन्नति हुँदै

फाइल तस्बिर।

सरकारले संघीय राजधानी काठमाडौं भित्रिने मुख्य राजमार्गको नागढुंगा–नौबिसे–मलेखु खण्डको ५६ किलोमिटर सामरिक सडक कनेक्टिभिटी तथा व्यापार सुधार आयोजना अन्तर्गत स्तरोन्नति गर्ने भएको छ। साढे ६ अर्ब रूपैयाँ खर्चेर दुई खण्डको झन्डै ५६ किलोमिटर स्तरोन्नति गर्न लागेको हो। 

नौबिसे–मुग्लिन खण्डमा ९६ किलोमिटर सडक पर्छ तर पहिलो खण्ड नागढुंगा–नौबिसे १२.२६ किलोमिटर र दोस्रो खण्ड नौबिसे–मलेखु ४३.५४२ किलोमिटरको स्तरोन्नति प्रक्रिया तत्कालै अघि बढ्न लागेको हो। बाँकी ४० किलोमिटरको लागि पनि बोलपत्र आह्वान भई ठेकेदार कम्पनीको प्राविधिक प्रस्ताव छनोटको क्रममा छ।

सडक विभाग मातहतको विकास सहायता कार्यान्वयन महाशाखाले उक्त सडक ६ अर्ब ६४ करोड रूपैयाँ लागतमा स्तरोन्नति गर्न लागेको हो। महाशाखाका अनुसार नागढुंगा–नौबिसे खण्डको ठेक्का जियाङ्सु/सगुन जेभीले १ अर्ब ३१ करोड ८४ लाख लागतमा पाएको हो। पहिलो खण्डमा १८ वटा कम्पनीले आर्थिक प्रस्ताव पेस गरेका थिए। तीमध्ये सबैभन्दा कम कबोल गर्ने जियाङ्सु/सगुन जेभीले ठेक्का पाएको हो।

यो कम्पनीले सबैभन्दा कम लागतमा बनाउने गरी बोलपत्र पेस गरेको थियो। दोस्रो खण्ड नौबिसे–मलेखु खण्डको ठेक्का शर्मा/लामा/जिआइसिजी जेभीले पाएको छ। उसले ५ अर्ब ३३ करोड १९ लाख रूपैयाँमा उक्त खण्ड विस्तार गर्नेछ। दोस्रो खण्डमा पनि १२ वटा ठेकेदार कम्पनीले आर्थिक प्रस्ताव पेस गरेका थिए। तीमध्ये सबैभन्दा कम कबोल गर्ने छानिएको हो।

नागढुंगा–मुग्लिन सडक योजना प्रमुख किरण कार्कीले नागढुंगा–नौबिसे खण्ड दुई वर्षभित्रै र नौबिसे–मलेखु खण्ड तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित ठेक्का सम्झौता हुने बताए। महाशाखाले गत असोज ७ गते दुवै खण्डको लागि बोलपत्र आह्वान गरेको थियो। बोलपत्र आह्वान भएको करिब पाँच महिनापछि ठेकेदार छानिएको हो।

नागढंगा–मुग्लिन सडक योजना प्रमुख कार्कीले बोलपत्र प्रकाशन भएको पाँच महिनाभित्रै ठेक्का सम्झौता भएको बताए। ‘महाशाखाले लेटर अफ इन्टेन्ट जारी गरिसकेको छ,’ उनले भने, ‘छनोट भएको ठेकेदार कम्पनीविरुद्ध उजुरबाजुर र ठेक्का सम्झौताको लागि १५ दिनको म्याद राखिएको हुन्छ।’ पहिलो खण्डमा प्राविधिक रूपमा १२ वटा कम्पनी छानिएका थिए।

तीमध्ये कम रकममा काम गर्ने प्रस्ताव पेस गर्ने कम्पनी छानिएको हो। योजनाले ठेकेदार कम्पनीसँग सम्झौता भएर चालु आर्थिक वर्षभित्रै निर्माणको काम सुरु हुने सम्भावना रहेको जनाएको छ। ‘१२.२६ किलोमिटरमध्ये साढे ५ किलोमिटर ३ र बाँकी अप्ठेरो भूगोलमा २ लेनमा विस्तार गरिनेछ,’ उनले भने, ‘अहिलेको भन्दा त विस्तार गरिसकेपछि धेरै राम्रो हुनेछ।’

नौबिसे–मलेखु खण्डको बजार क्षेत्रमा डेडिकेटेड ४ लेन र सर्भिस थप २ गरेर ६ लेनको पनि हुनेछ। खानीखोला, महादेव बेसी, धार्के बजार, गजुरी लगायत ६ लेनको हुनेछ। अरू ठाउँमा कतै ३ लेन हुनेछ। अप्ठेरो भूभागमा २ लेनको मात्रै हुनेछ। नागढुंगा–मुग्लिन खण्डमा २६ वटा र नागढुंगा–नौबिसे खण्डमा दुइटा मात्रै पुल निर्माण गर्नुपर्नेछ।

त्यो खण्डमा खत्रीपौवा र नौबिसे बजारमा मात्रै पुल बनाउनुपर्छ। यो परियोजना विश्व बैंकको १९ अर्ब ऋण सहयोगमा निर्माण हुन लागेको हो। योजनाले राजमार्गमा सवारी दुर्घटना न्यूनीकरणको लागि नागढुंगा–मुग्लिन सडक खण्डको बजार क्षेत्रमा आकाशेपुल, ब्रेकर सुधार लगायत काम गर्ने जनाएको छ। बजार क्षेत्रमा करिब १९ वटा आकाशेपुल निर्माण गर्ने योजना छ।

‘यो सडक स्तरोन्नतिसँगै राजमार्गको मोडहरू सुधार गरिनेछ। एउटा पुल भएको ठाउँमा अर्काे पुल थपिनेछ,’ उनले भने, ‘सडक चौडा भएसँगै आवातजावत सहज हुने अपेक्षा गरेका छौं।’ योजनाले यो सडक बनेसँगै सवारी दुर्घटना पनि न्यूनीकरण हुने जनाएको छ। व्यापारिक मालसामान बोकेका सवारी साधनलाई उच्च प्रथामिकतामा राखेर हिँड्ने लेनको विकास गरिनेछ।

प्रकाशित: ६ चैत्र २०७८ ०२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App