३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

रात्रिकालीन व्यवसाय गर्न पाउनुपर्ने माग

पोखराको बजार क्षेत्रका व्यावसायीहरूले लेकसाइडमा जस्तै बजार क्षेत्रमा पनि रात्रिकालीन व्यवसाय गर्न पाउनुपर्ने माग गरेका छन्।

पृथ्वी होटल व्यावसायी समितिको शनिबार भएको ९औं साधारणसभा तथा पाचौं अधिवेशनमा बोल्ने वक्ताहरूले बजार क्षेत्रमा पनि लेकसाइडमा जस्तै २४ सै घन्टा खुला गरिनुपर्नेमा जोड दिएका हुन्। लेकसाइड र बजार क्षेत्रका व्यावसायीबीच सरकारदेखि राज्यका सरोकारवाला निकायले विभेद गरेको गुनासो थियो।

कार्यक्रममा बोल्दै पृथ्वी होटल व्यावसायी समितिका संस्थापक अध्यक्ष रिजन शेरचनले राज्यले फेवा लेकसाइडलाई काखा र अरूलाई पाखा गरेको आरोप लगाए। लेकसाइडमा रातभर व्यवसाय गर्न पाउने? बजार क्षेत्रका हामीले किन नपाउने ? उनले प्रश्न गर्दै भने, ‘हामीमाथि अन्याय भयो। हामीलाई न्याय चाहियो। प्रदेशले हामीलाई न्याय देओस्।’

उनले पर्यटन प्रवद्र्धनलगायतका लागि आएको बजेटपनि लेकसाइडलाई मात्रै दिने गरेको भन्दै गुनासो गरे। होटल व्यावसायी महासंघका केन्द्रीय उपाध्यक्ष केपी पाध्याले लेकसाइडलाई चौबिसै घन्टा खोल्न दिने हो भने आफूहरूले पनि खोल्न पाउनुपर्ने बताए।

‘लेकसाइडलाई चौबिसै घन्टा खोल्न दिने अनि हामीलाई ८ बजे नै बन्द गराउने? हामीलाई पनि चलाउन दिनुपर्छ,’ उनले भने। उनले लेकसाइडको दादागिरीमा बजार क्षेत्रका अन्य होटल तथा रेष्टुरेण्ट व्यावसायीलाई पर्यटन क्षेत्रसमेत नमान्ने गरेकोप्रति आपत्ति जनाए। ‘पर्यटकलाई सेवा दिने होटल, रेष्टुरेण्ट लेकसाइडको होस् कि बजार क्षेत्रका, सबै पर्यटन व्यवसाय हो। त्यसैले प्रदेशले ल्याउन लागेको पर्यटन विधेयक हामीलाई समेट्नेगरी आओस्,’ उनले भने।

निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले पनि लेक साइडलाई मात्रै पर्यटकीय केन्द्र मान्ने केन्द्रिकृत मानसिकताबाट बाहिर निस्केर समग्र पोखरालाई नै पर्यटकीय हब बनाउनुपर्ने बताए। उनले भने, ‘लेकसाइड बाहिरपनि यतिधेरै लगानी छ तर राज्यले चिन्न नसकेको हो कि किन हो? लेकसाइडलाई मात्रै केन्द्र मान्ने मानसिकताबाट मुक्त हुन जरुरी छ।’

होटल व्यावसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष अर्जुन चोखालले लेकसाइडबाहेक अन्य क्षेत्रकालाई राज्यले पर्यटन व्यावसायी नदेख्नु दुःखद् भएको बताए। ‘हामी पनि लेकसाइडका जस्तै पर्यटन व्यावसायी हौं तर हाम्रो पहुँच छैन। हामीलाई नत नीजि क्षेत्र, नत राज्यले नै मञ्च र स्थान उपलब्ध गराउछ,’ उनले भने।

समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले विगतमा क्षेत्रगत रूपमा विभेद भए पनि आगामी दिनमा नदोहोर्‍याउन ध्यानाकर्षण गराए। पृथ्वी होटल व्यावसायी समितिका निवर्तमान अध्यक्ष तथा घरभाडा सरोकार समिति नेपालका अध्यक्ष कमलप्रसाद न्यौपानेले कोरोनाको महामारी कालमा घरभाडाको समस्या विकराल भएर आएको बताए तर घरधनी र व्यावसायीबीच समस्या समाधानका लागि सक्दो पहल गरेको उनको भनाइ थियो।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले लेकसाइडलाई मात्रै राज्यले प्राथमिकता दिनु विडम्बना भएको बताए। उनले बजार क्षेत्रका व्यवसायपनि लेकसाईड भन्दा कम छैन भन्ने बनाएर बलियो उपस्थिति देखाउन सुझाव दिए। व्यावसायीको कुरा गम्भीर भएर सुनेका गण्डकी प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्मा कँडेलले कसैलाई काखा र कसैलाई पाखा गर्ने सरकारको नीति नभएको बताए।

काठमाडौं, लेकसाइडमा जस्तै तपाईंहरू पनि चौबिसै घन्टा सेवा दिन सक्नुहुन्छ। ‘तर तपाईंहरूले छिमेकीको निन्द्रा नबिथोलिने गरी सञ्चालन हुने व्यवस्था गर्नुस्, काठमाडौं, लेकसाइडले पाउने, तपाईंहरूले नपाउने हुन सक्दैन।’ उनले पर्यटन विधेयकमा साना तथा बजार क्षेत्रका व्यावसायीलाईसमेत सम्बोधन गर्न आफूहरू तयार रहेको बताए।

प्रकाशित: २९ फाल्गुन २०७८ ०१:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App