१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

राष्ट्रिय प्रशारण लाइनमा ३६ मेगावाट विद्युत थपिँदै

अपर बलेफी–ए उत्पादन तयारीमा

उत्पादन तयारीमा रहेको अपर बेलफी–ए जलविद्युत आयोजना। तस्बिर: ध्रुव/नागरिक

राष्ट्रिय प्रशारण लाइनमा ३६ मेगावाट विद्युत थपिने भएको छ। जिल्लाको जुगल गाउँपालिकामा निर्मित अपर बलेफी–ए जलविद्युत आयोजना व्यवसायिक उत्पादनको तयारीमा जुटेसँगै राष्ट्रिय प्रशारण लाइनमा विद्युत थपिने भएको हो।  

हालै निर्माण सम्पन्न आयोजनाको प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ। बलेफी हाइड्रोपावर लिमिटेडको अगुवाइमा चार वर्षमा यो आयोजना निर्माण पूरा भएको हो। ‘उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाइनमा जोड्ने तयारी भइरहेको छ,’ कम्पनीका कार्यकारी अध्यक्ष उमेश कसजूले नागरिकसँग भने, ‘प्राविधिक टोलीले काम गरिरहेको छ।’  

आगामी चैतभित्र आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाइनमा जोडिने उनले जानकारी दिए। उनका अनुसार लिमिडेटले आफ्नै लगानीमा एक सय ३२ केभिए क्षमताको २२ किलोमिटर लामो प्रशारणलाईन निर्माण गरेको छ। लामोसाँघुस्थित विद्युत प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्रको सब–स्टेशनमार्फत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ।  

प्राविधिक परीक्षण सफल भइसकेकाले तत्काल परीक्षण प्रशारणको तयारी भइरहेको कार्यकारी अध्यक्ष कसजूले जानकारी दिए। ‘परीक्षण सकेर चैतभित्रै व्यसायिक उत्पादनमा जान्छौँ,’ उनले भने। जिल्लाको कर्णाली भनेर चिनिने बिकट क्षेत्र जुगल गाउँपालिकाको वडा नं. २, ३ र ४ मा आयोजना फैलिएको छ। आयोजनाको पानीको मुख्य स्रोत जुगल हिमशृंखलाबाट पग्लने हिउँ र विभिन्न खहरे, खोल्सा हुन्।  

ब्रह्मायणी नदीको गोल्चे र गुम्बामा बाँध रहेको आयोजनाको उत्पादनगृह गोल्चेको बैकुण्ठेमा निर्माण गरिएको छ। बाँध र उत्पादनगृहलाई चार हजार तीन सय मिटर भूमिगत सुरुङले जोडेको आयोजनाले जनाएको छ। कसजूका अनुसार पानीको स्रोत र बहाव घट्ने हिँउदको समय भएकाले आयोजनाबाट तत्काल १५ मेगावाट विद्युत उत्पादन हुने प्राविधिक प्रक्षेपण रहेको छ।

२०७४ बाट आयोजना निर्माण थालिएको थियो। आयोजना निर्माणमा झण्डै ७ अर्व रुपैयाँ लगानी भएको लिमिटेडका कार्यकारी अध्यक्ष कसजूले बताए। उनका अनुसार ७० प्रतिशत बैँक ऋण र ३० प्रतिशत कम्पनीले बेहोरेर लगानी जुटाइएको हो। आयोजना निर्माणमा ग्लोबल आइएमइ बैँकको नेतृत्वमा नेपाल बाणिज्य बैँक, एभरेष्ट बैँक र सानीमा बैँकले ऋण लगानी गरेका छन्।  

२०७० मा लिमिटेड र प्राधिकरणबीच विद्युत खरिद सम्झौता (पिपिए) भएको थियो। सम्झौता अनुसार प्राधिकरणले प्रतियुनिट हिउँदमा आठ र बर्षामा चार रुपैयाँका दरले विद्युत खरिद गर्ने छ। आयोजनाले स्थानीय प्रत्यक्ष प्रभावितका लागि १८ करोड रुपैयाँको सेयर निष्कासन गरेको छ। अहिले स्थानीयले धमाधम सेयर खरिद गरिरहेका छन्। अबको दुई सातापछि सर्वसाधरणका लागि १८ करोड रुपैयाँकै सेयर निष्कासन गर्ने तयारी भइरहेको आयोजनाले जनाएको छ।

लिमिटेडका कार्यकारी अध्यक्ष कसजू सिन्धुपाल्चोकमा सफल जलविद्युत प्रवद्र्धक मानिन्छन्। उनकै अगुवाईमा जिल्लामा २२ मेगावाट क्षमताको माथिल्लो चाकु, हाँडीखोला लगायत जलविद्युत आयोजना बनेका छन्। कसजूकै नेतृत्वमा बन्न लागेका ४६ मेगावाटको माथिल्लो बलेफी लगायत आयोजना पाइप लाइन्मा छन्। ‘अघिल्ला आयोजना निर्माणको अनुभवले अपर बलेफी–एमा सफलता मिलेको हो,’ कसजूले भने।

प्रकाशित: २३ फाल्गुन २०७८ १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App