१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सवारी चालक अनुपती पत्र बापत १४ करोड राजश्व संकलन

बुटवलमा आधुनिक ट्रायल सेन्टर संचालनमा आएपछि उत्रीर्ण संख्या बढ्यो

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र बुटवलले चालु वर्षको सात महिनामा १४ करोड बढी राजश्व संकलन गरेको छ। कार्यालयले साउनदेखि माघ मसान्त सम्ममा सवारी अनुमती  पत्र जारी तथा नविकरण बापत १४ करोड ५६ लाख ५८ हजार राजश्व संकलन गरेको हो।  

यो राजश्व लाइसेन्स नविकरण, नयाँ लाइसेन्स जारी तथा लाइसेन्स परीक्षाको फर्म दर्ता शुल्क बापतको राजश्व हो। कार्यालयका प्रमुख तेजनारायण यादवले गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष ४५  प्रतिशतले राजश्व वृद्धि भएको बताए। गत आर्थिक वर्षको सोही अवधिमा यो कार्यालयले १० करोड १ लाख ५५ हजार राजश्व संकलन गरेको थियो।

कार्यालयले ७ महिनामा २४ हजार १३५ वटा सवारी अनुमती पत्रको नविकरण बापत ७ करोड ५७ लाख ९६ हजार राजश्व संकलन गरेको प्रमुख यादवले जानकारी  दिए। कार्यालयले ५४१ प्रतिलिपि  बापतको २ लाख ९० हजार राजश्व संकलन गरको छ। ७ महिनामा  सवारी अनुमती पत्रकालागि ५० हजार ८४४ जनाले आवेदन फर्म भरेका थिए। फर्म भरेका मध्ये १८ हजार ९२१ जनाले अनुमती पत्रकालागि कार्यालयले लिएको ट्रायल पास गरेका छन्। अर्थात पछिल्ला ७ महिनामा यो कार्यालयबाट १८ हजार ९२१ वटा  नयाँ सवारी अनुमती पत्र जारी भएको छ।  

लाइसेन्सकालागि भरीने फर्म बापतको राजश्व २ करोड ५४ लाख २२ हजार  छ। नयाँ अनुमती पत्र जारी बापतको राजश्व ३ करोड ३ लाख ७७ हजार छ। थप लाइसेन्सकालागि १५ हजार ६४५ जनाले आवेदन  फर्म भरेकोमा ४ हजार ९४८ जनाले ट्रायल पास गरी लाइसेन्स लिएका छन्। जसमा फर्म दर्ता बापत ७८ लाख २२ हजार र लाइसेन्स जारी बापतको २६ लाख ६४ हजार राजश्व संकलन भएको छ।  

सात महिनामा सबैभन्दा धेरै २८ हजार ८९८ जनाले मोटरसाइकलको लाइसेन्सकालागि फर्म भरेकोमा ११ हजार ४८८ जनाले लिखित/मौखिक परीक्षा पास गरी लाइसेन्स प्राप्त गरेको कार्यालयका सहलेखापाल नारायण अर्यालले जानकारी  दिए। ११ हजार ५० जनाले स्कुटरकालागि फर्म भरेकोमा ३ हजार ९४७ जनाले लाइसेन्स पाएका छन्। ९ हजार २५२ जनाले कारको लाइसेन्सकालागि आवेदन दिएकोमा ३ हजार ८८ जनाले लाइसेन्स पाएका छन्।

सवारी अनुमती पत्र लिनेको  बढ्दो चाँपलाइ व्यवस्थापन गर्दै सेवालाइ छिटो छरीतो र प्रभावकारी बनाउँदै लगेको कार्यालयका प्रमुख यादवले बताए। त्यसकालागि आधुनिक ट्रायल सेन्टरको संचालन र ट्रायल परीक्षाकालागि नयाँ सवारी साधनको व्यवस्थापन गरीएको यादवले बताए।  

सवारी अनमती पत्रकालागि बुटवलमा आधुनिक ट्रायल सेन्टर संचालन

प्रदेश सरकारले  बुटवलमा निर्माण गरेको आधुनिक ट्रायल सेन्टर गत माघमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र बुटवललाइ हस्तान्तरण गरीएको हो।

बुटवल उपमहानगरपालिका १३ को २ बिघा क्षेत्रफलमा निर्माण गरीएको ट्रायल सेन्टर संचलनमा आएपछि प्रविधिक परीक्षा उत्रीण गर्नेको दर बढेको कार्यालयका प्रमुख तेजनारायण यादवले  बताए। ट्रायल सेन्टर संगै यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्रको भवन पनि संगै निर्माण गरीएको छ। आगामी वैशाखदेखि नयाँ भवनबाट सेवा प्रवाह हुने यादवले जानकारी दिए। ट्रायल सेन्टर र लाइसेन्सको कार्यालय एकै स्थानमा हुँदा सेवा प्रवाह चुस्त दुरुस्त हुनुका साथै सेवाग्राहीलाइ  समेत सहज हुने यादवले बताए।

यसअघि  बुटवल ११ को देविनगरमा अव्यवस्थितरुपमा प्रयोगात्मक परिक्षा लिदै आएको थियो। तर अब कार्यालयको आफ्नै संरचनामा सेवा प्रदान गर्दा सेवाग्राही ठगिनबाट जोगीने अपेक्षा गरीएको छ। त्यसकालागि सेन्टरको चारैतिर सिसिटिभि लगाइएको छ। यो ट्रायल सेन्टरमा एकै दिनमा एक हजार भन्दा धेरैले ट्रायल दिन सक्ने कार्यालयका प्रमुख यादबले बताए।

८ सय मोटरसाइकल र २ सय चारपाँग्रे सवारी  साधनको लाइसेन्सकालागि ट्रायल लिन सकिने छ।  ट्रायल सेन्टरमा परीक्षार्थी बाहेक अन्यले प्रवेस पाउदैनन। परिक्षा दिन सेन्टर भित्रै नयाँ सवारी साधनको व्यवस्था गरीएको छ। यातायात कार्यालयको सेवामा बिचौलीयाको बिगबिगी बढेको भन्ने गुनासोलाइ सम्बोधन गर्दै समस्या समाधानकालागि  ट्रायल दिने परीक्षार्थीलाइ सवारी साधन उपलब्ध गराउने व्यवस्था गरीएको  हो। ‘सवारी लाइसेन्सकालागि प्रयोगात्मक परीक्षा दिन आउनेलाइ यातायात कार्यालयबाटै सवारी साधन उपलब्ध गराउने व्यवस्था गरेका छौं’ यादवले भने।  

कार्यालयले टेण्डर मार्फत नै साना ठूला सवारी साधन उपलब्ध गराउने कम्पनीसंग सम्झौता गरेको हो। छनौट भएको कम्पनीले  ट्रायल सेन्टर भित्र दुइ पाँग्रेमा ६ वटा मोटरसाइकल र चारपाँग्रेमा ६ वटा टेक्सीको व्यवस्था गरेको छ। जसमा श्यामसुन्दर बीएन जेभिसंग ५ बर्षकालागि सम्झौता भएको छ। चार पांग्रेका लागि ४९५ र दुइ पाङ्ग्रेकालागि २९५ रुपैँया शुल्क तोकीएको छ। 

यो व्यवस्था संगै सर्वासाधरणले ड्राइभिङ  सेन्टरहरुबाट महङ्गोमा थोत्रा सवारी भाडामा लिएर ट्रायल दिनु पर्ने बाध्यता हटेको छ भने सवारी भाडा बापतको राजश्व समेत उठने गरेको छ। आफ्नै सवारी साधनबाट ट्रायल दिने हो भने सम्बन्धित  परीक्षार्थीको परिवार भित्रकै या नातागोताको साधन हुनुपर्ने,  ट्रायल सेन्टर सम्म लाइसेन्स भएका व्यक्तिले परीक्षार्थीलाइ ल्याउनु पर्ने, सो सवारीको ट्रायल दिन आउने दिन सम्मको कर चुक्ता गरेको हुनुपर्ने, तेश्रो पक्ष बिमा अनिवार्य गरेको हुनुपर्ने उल्लेख छ।

प्रकाशित: १५ फाल्गुन २०७८ ०८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App