१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

शंकास्पद व्यक्ति पसेको घटनामा निगमका सुरक्षा कमान्डर निलम्बित

नेपाल वायु सेवा निगमको कतार उड्न तयार विमानभित्र पासपोर्ट र टिकट नभएका अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा सुरक्षा लापरबाही देखिएको भन्दै निगमका विमानस्थल सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरिएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सो घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिएका थिए। क्याप्टेन विजय लामाको संयोजकत्वमा गठित छानविन उपसमितिले संवेदनशील क्षेत्रमा सुरक्षा लापरबाही देखिएको भन्दै थापालाई निलम्बन गर्न सिफारिस गरेको थियो।

बोर्डिङ पाससमेत नभएको व्यक्ति सुरक्षा चेकजाँचबिना जहाज भित्र पुग्नुमा सुरक्षा कमजोरी देखिएको भन्दै थापालाई निलम्बन गरिएको छ। फागुन ९ गते राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको नाइन एन एएलवाई, एयरबस ३३० दोहा उडानका लागि तयार निगमको विमानभित्र रौतहटका १८ वर्षीय हस्पम आलम भेटिएका थिए। मानसिक सन्तुलन ठिक नभएका ती व्यक्ति हाल महानगरीय प्रहरी प्रभाग गौशालाको नियन्त्रणमा छन्।

उनले यसअघि पनि सोही खालको हर्तक गरेका थिए। पहिलो पटक मानसिक अवस्था ठिक नभएको भन्दै सोधपुछपछि त्यसै छोडिएका उनले पुनः सोही खालको हर्कत देखाएपछि विमानस्थलको सुरक्षामासमेत प्रश्न उठेको छ। सो घटनाले विमानस्थल सुरक्षामै प्रश्न उठेपछि निगमलाई छानबिनका लागि मन्त्री आलेले निर्देशन दिएका थिए। छानबिन समितिलाई शुक्रबारसम्मको समय दिइएको छ।

विमानको बिजनेस क्लासमा पुगेपछि मात्र विमानका कर्मचारीले घटनाबारे सुइँको पाएका थिए। उनी विमानस्थलको पेरिमिटर नाघेर कोटेश्वरतर्फबाट विमानस्थल प्रवेश गरेको खुल्न आएको छ। विमानस्थलको बाहिरी पेरिमिटरको सुरक्षामा नेपाली सेना खटिएको छ।

सोमबारको घटनापछि बुधबार विमानस्थलमा सुरक्षा समितिको बैठक बसेर कडाइ गरिएको छ। अन्तर्राष्ट्रिय आपराधिक क्रियाकलापसँग र त्यस्ता संगठनसँग नजिक भएका व्यक्तिहरूसमेत विमानस्थलबाट आवतजावत गर्ने सम्भावना देखिएको भन्दै पछिल्लो सयम यस खबरले सबैको ध्यान तानेको छ।

प्रकाशित: १३ फाल्गुन २०७८ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App