१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कृषि मन्त्रीको सय दिनको प्रगति सार्वजनिक

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले आफू मन्त्री भएपछिका सय दिनको प्रगति सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयले सम्पादन गरेका कामको बारेमा जानकारी गराए।

मन्त्री यादवले किसानले अब मलको अभाव झेल्नु नपर्ने बताए। लामो समयदेखि किसानले मलको समस्या झेल्दै आएको बताउँदै आगामी दिनमा मागका आधारमा मलको व्यवस्था गर्ने दाबी गरे। भारत सरकारसँग जिटुजी गरेर पाँच वर्षका लागि रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि बढेको जानकारी दिए।

मन्त्री भएसँगै बर्डफ्लू नियन्त्रण नियमावली कार्यान्वयनमा ल्याएको, राष्ट्रिय पशु स्वास्थ्य र राष्ट्रिय पशु प्रजनन नीति २०७८ स्वीकृत गरेको, धान, उखु, कफी र कच्चा दूधको मूल्य निर्धारण गरेको लगायत जानकारी दिए।

राष्ट्रिय मत्स्य विकास नीतिको मस्यौदालाई अन्तिम रूप दिएको, राष्ट्रिय कृषि नीतिको मस्यौदा तयार गरी प्रदेश र स्थानीय तहसँग राय सुझावका लागि अनुरोध गरेको, पशु कल्याण विधेयक तर्जुमा गरेको, पशु संक्रामक रोग नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्राप्त गरेको, कृषि व्यवसाय प्रवद्र्धन विधेयकको मस्यौदा तयार गरी प्रदेश सरकारका सम्बन्धित मन्त्रालयमा राय सुझावका लागि अनुरोध गर्ने लगायतका नीतिगत सुधार गरेको बताए।

यसैगरी खाद्य ऐन, २०२३ बमोजिम दुई हजार एक सय २४ वटा खाद्य वस्तुका नमूना परीक्षण गरिएको, भन्सार बिन्दुमा खाद्य आयात भएको र निर्यात गरिने खाद्य वस्तुको गुण प्रमाणीकरण ३१ हजार ९ सय २७ पटक गरिएको, तरकारी तथा फलफूलमा हुन सक्ने विषादी अवशेषको ७ वटा नाकाहरूमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतका निकायबाट नियमित परीक्षण गरेको जानकारी दिए।

त्यसैगरी, कृषि तथा पशुपन्छी क्षेत्रमा व्यवसायीकरण विस्तार गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न बाली र वस्तुका ७१ वटा जोन र दुई सय ४० वटा उत्पादन पकेटहरू निर्धारण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १० फाल्गुन २०७८ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App