१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कोरोना संक्रमणले रोकिए पर्यटन प्रवर्द्धनका गतिविधि

दुई वर्षदेखि प्रवर्द्धन गतिविधि हुन सकेनन्

पोखरा–२५ पुम्दीकोटको शिव मुर्ति र लेकसाइड क्षेत्र। तस्बिरः सन्तोष/नागरिक

पर्यटन क्षेत्र उकास्नका लागि गरिने प्रवर्द्धनात्मक गतिविधिमाथि कोरोना भाइरस संक्रमणले अन्योलता थपिदिएको छ। पर्यटन क्षेत्रले वार्षिक रुपमा गर्दै आएका प्रवर्द्धनात्मक गतिविधि संंक्रमणका कारण रोकिएका छन्। तत्काल प्रवर्द्धनात्मक गतिविधि गर्न व्यवसायीले आँट पनि गरेका छैनन्। लामो समयसम्म प्रवर्द्धन गर्न नपाउँदा त्यसको मार आगामि दिनमा पर्न सक्ने व्यवसायीको चिन्ता छ।  

पश्चिमाञ्चल होटल संघले वर्षेनी भारतका विभिन्न सहरमा गर्दै आएको ‘चलिए पोखरा’ अभियान कोरोना भाइरस संक्रमणका कारण हुन सकेको छैन। वर्षेनी हुने यो प्रवर्द्धनको गतिविधि विगत दुई वर्षदेखि गर्न नसकेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। उनका अनुसार यो वर्ष पनि भारतमा ‘चलिए पोखरा’ अभियान चलाउने वा नचलाउने भन्ने अझै यकिन छैन। ‘योवर्ष पनि प्रवर्द्धन गर्न नपाएमा तीनवर्षसम्म हामी भारतीय बजारमा अनुपस्थित हुनेछौ,’ सुवेदीले भने, ‘कोरोना संक्रमणले गर्दा भारतीय बजारमा छिर्नै सकिएन।’

संक्रमण केही कमजोर भएको बेलामा प्रवर्द्धनका गतिविधि गर्न सकिने अवस्था यसअघि नै आएको भएपनि त्यसले पनि अन्योल सिर्जना गरेको उनले बताए। ‘जसोतसो प्रवर्द्धन त गरौंला, तर, पाहुना आउन सक्ने अवस्था रहेन भने के गर्ने भन्ने अन्योल भयो,’ उनले भने, ‘प्रवर्द्धन गरौं पाहुना आउनै नपाउलान भन्ने डर, प्रवद्र्धन नगरौं पाहुनाको आगमनमा असर पर्ने डर भयो।’  

भारतीय बजारमा पश्चिमाञ्चल होटल संघ दुई वर्षदेखि ‘ग्याप’रहँदा त्यसको असर आगामि दिनमा पर्न सक्ने उनले बताए। संघले झन्डै दशकदेखि भारतीय सहरमा प्रवर्द्धनात्मक कार्यक्रम गर्दै आएको थियो। ‘कोरोनाको असर रहिरहेमा पनि प्रवर्द्धन गरेर खासै अर्थ राख्दैन, नगर्दा पनि बजारमा उपस्थिति नै हराउँछ,’ उनले भने। संघले भारतका विभिन्न सहरमा प्रवर्द्धनका गतिविधि गरेका कारण कोरोना संक्रमण सुरु हुनु अघि पोखरामा भारतीय पाहुनाको आगमनमा व्यापक सुधार भएको थियो।  

संघले भारतका सीमावर्ति सहित प्रमुख सहरमा वर्षेनी पालैपाले प्रवद्र्धन गर्दै आएको थियो। यो पटक पनि भारतीय सहरमा चलिए पोखरा अभियान चलाउन नसके अहिलेसम्म गरेको मेहनतको औचित्य नै नहुने त्रास छाएको उनले बताए। ‘पोखरा सुरक्षित छ भनेर पाहुनालाई घुम्न बोलाउने हो, तर, घुम्न आउने बेलामा लकडाउन हुने त्रास रहिरह्यो,’ उनले भने।

चलिए पोखरा मात्र नभई आन्तरिक पर्यटक लक्षित ‘जाउँ है पोखरा’ अभियान पनि तोकिएको बेलामा गर्न नसकेको संघले बताएको छ। अध्यक्ष सुवेदीका अनुसार कोरोना संक्रमणका बाबजुत स्वदेशी गन्तव्यमा जाउँ है पोखराका कार्यक्रम भने निरन्तर भएका छन। तर, तोकिएको समयमा हुन सकेका छैनन। ‘आगामि फागुनमा जाउँ है पोखरा अभियान चलाउने योजना बनेको छ। तर संक्रमणले कुन गति लिन्छ भन्ने यकिन नभएकोले कहिले अभियान थाल्ने भन्ने निश्चित भएको,’ उनले भने।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि नियमित गतिविधि रोकिँदा त्यसको मार पर्यटक आउजाउमा पर्ने बताउँछन । उनले पनि दुई वर्षदेखि भारतीय सहरमा प्रवर्द्धन गर्न नपाउँदा त्यसको असर आगामि दिनमा पर्यटक आगमनमा पर्न सक्ने सम्भावना रहेको बताए। ‘हामीलाई अबका केही वर्षका लागि विदेशी पाहुना भनेकै भारतीय हुन, तर, ती पाहुनालाई पनि पोखरामा बोलाउन सकिएको छैन। दुई वर्षदेखि हामी भारतीय बजारमा उपस्थित हुन सकेका छैनौ,’ पराजुलीले भने, ‘कोरोना संक्रमण रहिरहेकोले यसले तत्कालै असर त परेको देखिन्न। तर, दीर्घकालिन रुपमा यसको प्रभाव पर्ने पक्का छ।’  

स्वदेशी बाहेक तेश्रो मुलुकका पाहुना आउने अवस्था तत्काल नभएकोले पनि भारतीय पाहुना आवश्यक रहेको उनले बताए। ‘भारतीय पर्यटक लक्षित गतिविधि गर्न नसक्ने हो भने सीमावर्ति सहरका पाहुना पनि कम आउन सक्छन। किनकी प्रवर्द्धनले प्रचारप्रसार गर्ने हो, नियमित गतिविधि नहुँदा असर परिहाल्छ,’ उनले भने । अब भने संक्रमण कम भएको मौका पारेर भारतीय सहरमा प्रवर्द्धन जरुरी रहेको उनले बताए। कोरोना विरुद्धको खोप लगाएकोले पनि भारतीय सहरमा प्रवर्द्धन गर्न उत्तिसारो अप्ठेरो नरहेको उनले बताए। पर्यटनका नियमित प्रवर्द्धनात्मक गतिविधि गर्न नपाउँदा पर्यटन क्षेत्र नै सिथिल बनेजस्तो देखिएको उनले बताए।  

पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष समेत रहेका पराजुलीले आन्तरिक पर्यटक लक्षित जाउँ है पोखरा अभियान भने आगामि महिना सुरु गर्ने योजना बनाएको बताए। ‘प्रवद्र्धनका लागि प्रचारसामाग्री पनि तयारी अवस्थामा छन। अंग्रेजी नयाँवर्ष महोत्सव सुरु हुनु अघि नै प्रचाप्रसारमा निस्कने योजना हो, त्यो बेला सकिएन,’ उनले भने। अब भने संक्रमण कम भएर सबै मापदण्ड खुकुलो पारेपछि बल्ल प्रवद्र्धन सुरु गर्ने उनले बताए।  

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीले कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धनात्मक गतिविधि संचालन गर्न सकेको छैन। नाट्टाका अध्यष सञ्जयकान्त सिग्देलले दुईवर्षदेखि अन्तर्राष्ट्रिय बजारमा जान नसकेको बताए। उनका अनुसार कोरोना संक्रमण सुरु हुनुभन्दा अघिल्लो वर्ष भारतको हैदरावाद र बैंगलोरमा प्रवद्र्धनात्मक गतिविधि गरेको भएपनि त्यसपछि हुन सकेको छैन।

‘अन्तर्राष्ट्रिय बजारमा छिर्न नसकेको पनि दुईवर्ष कटिसकेको छ। कोरोना संक्रमणले गर्दा प्रवद्र्धनात्मक गतिविधि नै ठप्प भएको हो,’सिग्देलले भने, ‘यो वर्ष पनि प्रवद्र्धनमा जान सकिने अवस्था कमै छ।’ नाट्टाले भारतीय बाहेक तेश्रो मुलुकमा पनि प्रवद्र्धन गतिविधि चलाउँछ। यसअघि मलेशिया, सिंगापुर, कोरिया, थाइल्याण्ड, भीयतनाम, कम्बोडिया लगायतका मुलुकमा प्रवद्र्धनात्मक गतिविधि चलाईसकेको छ।

कोरोना संक्रमण सुरु भएपछि प्रवद्र्धनका सबै गतिविधि रोकिएको उनले बताए। ‘पर्यटन प्रवद्र्धनका गतिविधि गर्दा घाटा नै त हुने होईन। तर, तत्काल फाइदा हुने अवस्था पनि छैन,’ उनले भने, ‘प्रवद्र्धन गरेर फर्किनासाथ लकडाउनमा फस्ने त्रास छ। कतिबेला कुन भेरियन्ट विकसित भएर हिडडुल नै प्रभावित हुने हो भन्ने नै यकिन भएन।’ कोरोना संक्रमणको समस्या दीर्घकालिन रुपमा समाधान नभएसम्म प्रवद्र्धनमा जान गाह््रो रहेको उनले बताए।

उनका अनुसार भारतीय व्यवसायीले पनि प्रवद्र्धनात्मक गतिविधि गर्न सकेका छैनन। ‘भारतीयलाई बरु नेपाल आउन सहज छ, अन्यत्र जान डर छ,’ उनले भने, ‘तरपनि भारतीय व्यवसायीले आँट गरेका छैनन।’ अब कहिले, कहाँ र कसरी प्रवद्र्धन गर्ने भन्ने नै निश्चित नभएको पनि उनले बताए। भारतको सिलिगुढीमा आगामि मार्च दोश्रो साता हुने बंगाल टुरिजम मार्टमा सहभागि हुने योजना बनाएपनि त्यो पनि कोरोना संक्रमणमा भर पर्ने उनले बताए। ‘पर्यटन बजारमा नियमित उपस्थिति चाहिने हो, तर, कोरोनाले सबैलाई अप्ठेरो पारेको हो,’ उनले भने।  

प्रकाशित: २४ माघ २०७८ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App