२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लेकसाइडः साँझ नपर्दै सुस्ताउन थाल्यो

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड। तस्बिरः उमेश पुन/नागरिक

तीनसाता अघिसम्म पर्यटन क्षेत्र निकै नै चलायमान थियो। होटलमा आन्तरिक पाहुनाको भीडभाड थियो। रेस्टुराँमा पनि पाहुना पर्याप्त देखिन्थे। पदयात्रा क्षेत्रका गन्तव्यमा पनि उत्तिकै पाहुना पुगेका थिए। सहर नजिकका पर्यटकीय गाउँमा मात्र नभई टाढाटाढाका गन्तव्यमा पनि पाहुना उक्लेका थिए। अन्नपूर्ण आधारशिविर होस या मर्दी हिमाल, मुस्ताङ, मनाङ सबैतिर पाहुनाको हुल देखिन्थ्यो।  

पाहुनाको आउजाउ हुँदा हवाई यात्रामा भीडभाड थियो। त्यस्तै स्थलमार्गमा पनि पर्यटकीय सवारीमा उत्तिकै यात्रु थिए। सवारी रिजर्भ गरेर विभिन्न गन्तव्यमा पुग्ने पाहुना थिए। होटलमा बस्ने, रेस्टुरेन्टमा खानपिन गर्ने गर्दा पर्यटकीय क्षेत्र लेकसाइड व्यस्त देखिन्थ्यो। आन्तरिकसँगै भारतीय पाहुना पनि थपिँदा पर्यटन क्षेत्र ब्यस्त बनेको थियो। पाहुना पाउँदा व्यवसाय त फस्टाएको थियो नै, कामदारले काम पाएका थिए, किसानको उत्पादनले बजार पाएको थियो।  

तर, तीनसातामा पर्यटन क्षेत्र एकाएक सुस्ताउन पुगेको छ। हुन त पर्यटन क्षेत्रमा यतिबेला अफसिजन हो, तर, पाहुनाविहीन अवस्थामा अहिले पर्यटन क्षेत्र पुगेको छ। कोरोनाले थला पारेको पर्यटन क्षेत्र विदेशी पाहुना नआउँदा पनि उकासिन सकेको थियो। विदेशी अभाव हुँदाहुँदै पनि आन्तरिक पाहुनाका कारण पर्यटन क्षेत्र उकासिएको भएपनि अहिले भने सबैतिर सुनसान बनेको छ । सबैतिरका गन्तव्य अहिले सुनसान बनेका छन्।  

पर्यटन क्षेत्र पुन ओरालो लागेको भन्दै व्यवसायी चिन्तित बनेका छन्। यतिसम्म की कतिपय व्यवसायीले त व्यवसायको बोहनी समेत गर्न पाउँदैनन्। बेलुकी सातबजे नै लेकसाइड सुनसान हुने गरेको व्यवसायीले बताएका छन्।  

‘एक–दुईवटा कोठामा पाहुना राखेको भरमा कसरि पर्यटन धान्नु? लामो समय पाहुना पाएका थियौ, तर, अहिले एकाएक सुनसान बनेको छ,’ लेकसाइडस्थित एकजना होटल व्यवसायीले भने,‘केहीदिन अघिसम्म पाहुना थिए। तर, कोरोनाले सबैतिर आक्रान्त पारेपछि एकाएक खस्कियो। एकैजना पाहुना नपाउने अवस्था पनि आएको छ।’ अहिलेको समय अफसिजन भनिएपनि संक्रमण उत्तिसारो नघटिसकेकोले अझै केही समय पर्यटन क्षेत्र सुनसानमै रहने उनको अनुमान छ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी पनि पर्यटन क्षेत्र निकै नै सुस्ताएको बताउँछन्। ‘हुन त यो बेला पर्यटनमा अफसिजन पनि हो। सामान्य अवस्थामा पनि यो बेला आन्तरिक पाहुना कम हुने र विदेशी ठप्प हुने समय हो। तर, अहिले त सबैखालका पाहुना आउने अवस्था रहेन,’ सुवेदी भन्छन, ‘लामो समय पर्यटन क्षेत्र ठप्प हुने संकेत देखिएको छ।’ उनका अनुसार माघ महिनाका लागि केही ठुलो संख्यामा पाहुना आउने गरि विभिन्न समुहको तयारी थियो। तर ती सबैखालका तयारी ओमिक्रोनका कारण रोकिएका छन्।

‘समुहमा पाहुना आउने गरि कार्यक्रम तय भएको थियो। ती सबै कार्यक्रम कोरोनाका कारण रोकियो,’ उनले भने। अध्यक्ष सुवेदीका अनुसार डान्स, डिस्को लगायतका गतिविधिमा पनि रोकावट भएकोले पाहुनाको हिडडुल पुरै शुन्यमा झरेको छ। ‘समुहमा नै घुमघाममा निस्कन पाउने अवस्था रहेन। सरकारले पनि समुहमा हिडडुल गर्न रोक्यो,’ उनले भने, ‘अझै केही समय मार पर्ने पक्का भएको छ। किनकी पर्यटन क्षेत्रमा तत्काल सुधार देखिने अवस्था रहेन।’

पोखरा पर्यटन परिषद (पिटिसी) का पूर्व अध्यक्ष सोम थापा अझै दुईसाता पाहुना आउने अवस्था नरहेको बताउँछन। ‘सबैतिर सहज भएमा मात्र पर्यटन चल्ने हो। अहिले बजारमा चहलपहल छैन,’ थापाले भने, ‘गतिविधि सबै रोकिएका छन्। त्यसको मार पर्यटनमा परेको छ।’ उनका अनुसार आजकल बेलुकी सातबजे नै लेकसाइड सुनसान हुन थालेको छ। सबैखाले रात्रीकालिन व्यवसाय बन्द छन्। लेकसाइड रमाउने रात्रीकालिन व्यवसायमा हो, तर, अहिले रात्रीकालिन व्यवसाय नै बन्द भएपनि साँझ पर्न थालेसँगै सुनसान हुने गरेको उनले बताए। ‘चिसोका कारण पनि सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्। त्यसैमा पनि रमाउने गतिविधि केही छैनन,’ थापाले भने, ‘पर्यटकीय क्षेत्रका सबै गतिविधि सुस्ताएपछि पाहुना आउने कुरै भएन।’  

इम्बोइडरी एण्ड गार्मेन्ट एशोसिएसन अफ नेपाल (एगा)का अध्यक्ष विश्व पोखरेल पनि अहिले पर्यटन क्षेत्रले घुँडा टेकेको बताउँछन्। उनले पनि बेलुकी ७ बजेभित्रै पसल बन्द गर्ने बताए। ‘अधिकांश व्यवसाय बेलुकी ६ बजेपछि बन्द हुन थाल्छन्। केही डिपार्टमेन्टल स्टोर र किराना पसल बाहेक अरुखाले व्यवसाय बेलुकी ७ बजेभित्रै बन्द भईसक्छन्,’ पोखरेलले भने, ‘व्यवसाय खोलेर मात्र भएन, किनमेलका लागि आउने कोही हुँदैनन्।’  

पोखरेलले पनि आन्तरिक पर्यटककै भरमा पनि पुस महिना भरको लेकसाइडको व्यवसाय निकै नै राम्रो थियो  तर, माघ लागेपछि एकाएक सुस्ताएको छ। ‘माघ लागेपछि एकाएक ओरालो लागेको छ। कोरोनाले हिडडुल मात्र मात्र समस्या पारेन की धेरैलाई बिरामी नै बनायो,’ उनले भने, ‘त्यसले गर्दा पनि बजार ठप्प बन्यो।’ उनका अनुसार पर्यटनमा अघिल्लो दिन आएर भालिपल्ट फर्किने खालका पाहुना हुन्छन्। तर, ती पाहुना अहिले हिडडुल गर्न पाएका छैनन। त्यसले गर्दा व्यवसाय उकासिन नसकेको पोखरेलले बताए।

पोखराभित्रैका पाहुना खानपिनका लागि पुग्ने रेस्टुरेन्ट पनि अहिले सुनसान बनेका छन्। होटलमा बस्ने पाहुना नहुँदाको बेलामा पनि रेस्टुरेन्टमा खानका लागि पोखराभित्रैका पाहुना पुग्ने गरेका थिए। तर, अहिले स्थानीय पाहुना पनि रेस्टुरेन्टमा झरेका छैनन। रेस्टुरेन्ट व्यवसायी दोर्जे लामा भन्छन्, ‘अहिले रेस्टुरेन्टमा आउने पाहुना कोही छैनन्। सबैतिर सुनसान बनेको छ।’ संक्रमणले गति लिँदा पनि अहिले आन्तरिक र स्थानीय पाहुना खानपिनका लागि लेकसाइड झर्न नसकेको उनले बताए। ‘एकाध पाहुनाको भरमा टिकाउन चुनौती छ। अझै एकवर्ष यसैगरि बिताउनुपर्ने भएमा व्यवसाय थेग्न सकिन्न,’ उनले भने। 

प्रकाशित: २० माघ २०७८ १०:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App