१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मध्यपहाडी सडक निर्माण कछुवा गतिमा

फाइल तस्बिर

सरकारले पूर्व–पश्चिम राजमार्गको विकल्पमा २६ वटा पहाडी जिल्लालाई जोड्ने गरी अघि सारेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग संशोधित कार्यतालिका बमोजिम पनि निर्माण सम्पन्न नहुने लगभग निश्चित भएको छ।

सरकारले संशोधित कार्यतालिका अनुसार राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग आर्थिक वर्ष २०७९/८० सम्म १८ सय ७९ किलोमिटर कालोपत्रे गर्ने महत्वाकांक्षी लक्ष्य राखेको थियो। संशोधित कार्यतालिका अनुसार आयोजनाको म्याद सकिन डेढ वर्ष मात्रै बाँकी छ।

अहिलेसम्म ११ सय ४७ किलोमिटर मात्रै कालोपत्रे भएको छ। अब ७ सय ३२ किलोमिटर कालोपत्रे गरेमात्रै लक्ष्य हासिल हुन्छ। यही आयोजना मातहत पर्ने २ सय ३६ किलोमिटर सडक र २५ वटा पुलको ठेक्का समेत लागेको छैन। तोकिएको समयमा निर्माण नहुँदा यो आयोजना एक दशकदेखि अलपत्र छ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयका प्रवक्ता तथा इन्जिनियर सुरजहरि अधिकारीले आयोजनाको समष्टिगत भौतिक प्रगति पुस मसान्तसम्म ५९.४२ प्रतिशत र वित्तीय प्रगति ६५.४५ प्रतिशत भएको बताए। ‘अहिलेसम्म आयोजना मातहत ११ सय ४७ किलोमिटर सडक कालोपत्रे भएको छ,’ उनले भने, ‘९१ वटा पुल पनि बनिसके ।’ तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले २०६४/६५ मा मध्यपहाडी लोकमार्गको अवधारणा अघि सारेका थिए।

पछि यो आयोजना आव २०७४/७५ भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखियो। तर ठेकेदार कम्पनीको ढिलासुस्ती, सडकको मुआब्जा विवाद र बाँकी खण्डको ठेक्का व्यवस्थापन गर्न नहुँदा सुरुमा लक्षित समय सकिइसक्दा पनि आयोजना निर्माणले गति लिन सकेको छैन।

संशोधित कार्यतालिका अनुसार आर्थिक वर्ष २०७९/८० सम्म यो राजमार्ग निर्माण सम्पन्न हुनेछ। सरकारले पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको मध्यपहाडी क्षेत्रका २६ जिल्ला र २ सय १५ बस्ती जोड्ने गरी यो राजमार्ग निर्माण गरिरहेको छ।

आयोजना सुरु गर्दा प्रारम्भिक चरणमा ३३ अर्ब ३६ करोड रूपैयाँ लागत अनुमान गरिएको थियो। सुरुआती चरणमा यो आयोजना आव २०७४/७५ भित्र सम्पन्न गर्ने लक्ष्य थियो। समयमै निर्माण सम्पन्न नहुँदा आयोजनाको संशोधित लागत अहिले १ खर्ब १ अर्ब ५० करोड रूपैयाँ पुगेको छ।

निर्देशनालय मातहतको आयोजनाबाट आव ०७७/७८ सम्म ६ सय ५१ किलोमिटर सडक कालोपत्रे भएको छ। सडकका अन्य निकायले ४ सय ६२ किलोमिटर कालोपत्रे गरेका छन्। चालु आवको ६ महिनामा ३३.५ किलोमिटर सडक कालोपत्रे भएको छ। बाँकी रहेको ७३२ किलोमिटरमध्ये २३६ किलोमिटरको ठेक्का व्यवस्थापनको काम नै बाँकी छ। ४९६ किलोमिटर निर्माणाधीन अवस्थामा छ। ३० देखि ३१ किलोमिटर सडक टेन्डरको प्रक्रियामा छ।

प्रवक्ता अधिकारीले सरकारले तोकेको लक्ष्य अनुसार सडक निर्माणको काम सम्पन्न गर्न गाह्रो हुने बताए। ‘बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा र पोखराको मणिपाल अस्पताल पछाडिको क्षेत्रको एलाइनमेन्टमा समेत समस्या भएकाले आयोजना तोकिएको समयभित्रै सम्पन्न गराउन कठिन हुने देखिन्छ,’ उनले भने। यो आयोजना अन्तर्गत १३७ पुलमध्ये ९१ पुल निर्माण सम्पन्न भइसकेको छ। २१ वटा पुल निर्माणाधीन अवस्थामा छन् भने बाँकी २५ वटाको ठेक्का लाग्न बाँकी छ। 

६ महिनामा साढे ३३ किलोमिटर कालोपत्रे

चालु आर्थिक वर्षको ६ महिना अवधिमा उक्त राजमार्गको साढे ३३ किलोमिटर कालोपत्रे भएको छ। बहुवर्षे ठेक्का अनुसार सञ्चालित यो आयोजनाको चालु आवमा ३ सय ४० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य थियो। पुष्पलाल राजमार्ग आयोजना निर्देशनालयका आयोजना निर्देशक हरिकुमार पोखरेलले चालु आवको ६ महिनामा १९.३६ प्रतिशत भौतिक प्रगति भएको बताए। ‘सरकारले चालु आवको बजेटमा आयोजनाको लागि ८ अर्ब ३ करोड ४५ लाख रूपैयाँ विनियोजन गरेको थियो। 

अहिलेसम्म एक अर्ब ९२ करोड रूपैयाँ खर्च भइसकेको छ,’ उनले भने, ‘वर्षात् र कोभिड १९ को कारण लक्ष्यअनुसार खर्च नभएको हो। अब निर्माणको मुख्य सिजन आएकाले लक्ष्य अनुसार सडक पूर्वाधार तथा पुल निर्माणको कामले गति लिनेछ ।’ चालु आवमा आयोजनाको ३४ प्रतिशत वित्तीय प्रगति भएको छ।

यो राजमार्गले पूर्वमा पाँचथरको चिवाभन्ज्याङबाट पश्चिममा बैतडीको झुलाघाट छुनेछ। यो सडक तयार भएसँगै २६ जिल्ला आर्थिक समृद्धिको मार्गमा जोडिनेछन्। यो राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि पहाडी जिल्लामा करिब ५ हजारदेखि १० हजार मेगावाट जलविद्युत् आयोजनाको पहुँचमार्ग बन्नेछ। 

यो सडकले ग्रामीण बस्तीबाट सहर बसाइँसराइ गर्ने परिपाटीको अन्त्य गर्दै गाउँगाउँमा पर्यटन, कृषि तथा अन्य उद्यमको विकासमा टेवा पु‍र्‍याउने अपेक्षा छ। १ हजार ८ सय ७९ किलोमिटर लामो पुष्पलाल (मध्यपहाडी) राजमार्ग बनेसँगै मुलुकको एक तिहाइ जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुनेछ। यो राजमार्गले पहाडी जिल्लाका धेरै ग्रामीण बस्ती जोड्नेछ।

प्रकाशित: १८ माघ २०७८ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App