७ वैशाख २०८१ शुक्रबार
अर्थ

हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत जडान

धादिङको सिद्धलेक गाउँपालिका वडा नं ६ मा निर्माण गरिएको स्वीचिङ स्टेसन।

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ताल्तीमा निर्माणधिन हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत पुगेको छ। मर्स्याङदी-स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा स्वीचिङ स्टेसन निर्माण गरिएको थियो। उक्त स्टेशनबाट उद्योगमा सोमबार २० मेगावट क्षमताको बिजुली जोडिएको हो।  

विद्युत आपूर्तिसँगै उद्योगको परीक्षण उत्पादनको बाटो खुलेको उद्योगकका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले जानकारी दिए। ‘उद्योगलाई विद्युत आपूर्ति भएको छ, अब हामी परीक्षण उत्पादनका लागि तयार भएका छौं,’ पोखरेलले भने ‘विद्युत प्राधिकरणद्धारा गरिएको परीक्षण सफल भएपछि उद्योगका लागि विद्युत चार्ज गरिएको हो।’ अबको तीन सातापछि उद्योगले परीक्षण उत्पादन थाल्ने पनि उनले बताए। दुई महिनाभित्रै गुणस्तर परीक्षण सकेर व्यवसायीक उत्पादन थाल्ने तयारी उद्योगले गरेको पोखरेलले बताए।

स्वीचिङ स्टेशन रहेको धादिङको सिद्धलेक गाउँपालिका ६ देखि उद्योगसम्मको प्रशारण लाइनमा विद्युत प्रवाह भएको बेनिघाट रोराङ गाउँपालिकाले जनाएको छ। १३२ केभी प्रशारण लाइनबाट विद्युत प्रवाह भएको भन्दै टावरमा नछुन, छेउछाउ नजान र सुरक्षाका उपाय अपनाउन पालिकाले सर्वसाधरणलाई सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ।

करीब १ करोडको लगानीमा निर्माण गरिएको स्वीचिङ स्टेसनले धादिङ जिल्ला भित्रको आन्तरिक विद्युत प्रवाहको समस्या पनि समाधान हुने उद्योगकका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले जानकारी दिए। ‘विद्युत भनेको कुनै पनि उद्योगिकरणको लागि मेरुदण्ड हो, कम्पनीसँग राज्यले बनाइदिने भन्ने सम्झौता छ, औद्योगिक ऐनमा पनि सडक बनाइदिने, विद्युत पुर्‍याउने भन्ने स्पष्ट रुपमा छ’, उनले भने, ‘तैपनि उद्योगले निर्माण गरेका हौँ, यसले हाम्रो उद्योगलाई मात्रै होइन, अन्य उद्योगका लागि पनि विद्युत लैजान सहज पुग्छ।’  

धादिङको ताल्तीमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्न तिहारको टीकाको दिन स्वीचिङ स्टेसन सञ्चालनमा ल्याइएको थियो। हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्वीचिङ स्टेसन र कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन निर्माण गरेको थियो। यस्तै कारखाना परिसरभित्र १३२.१० केभीको सबस्टेसन पनि निर्माण गरेको छ।

नेपालमा भित्रिएको विदेशी लगानीका उद्योगहरु मध्ये अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रभावशाली उपस्थिति रहेको कम्पनीको रुपमा हुवासिन सिमेन्टलाई लिइन्छ। हुवासिन सिमेन्ट उद्योगले दैनिक ३ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्नेछ। लुप इन र आउटमा गरी ४३ वटा टावर मध्ये १७ वटा नीजि जग्गामा र अन्य सरकारी जग्गामा पर्छ।  

चिनियाँ र नेपाली लगानीकर्ताहरुको संयुक्त लगानीमा निर्माण थालिएको उद्योग बाढी, कोरोना कहर लगायत विविध कारणले उत्पादनमा ढिलाई भएको हो। उद्योगमा सिमेन्ट उद्योगमा चिनियाँ कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनीको २० प्रतिशत शेयर रहेको छ। नेपाली लगानीकर्ताको प्रतिनिधित्व बैद्य गुप्रको तर्फबाट सुरज बैद्यले र चिनियाँ लगानीकर्ताहरुको प्रतिनिधित्व ह्वासिन सेन्ट्रल एसिया इन्भेष्टमेण्ट (हुवान) कम्पनी लिमिटेडले गरिरहेको छ।

प्रकाशित: २१ मंसिर २०७८ ०८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App