मानव सभ्यताको विकासका क्रममा फिरन्ते जीवन त्यागेर एक ठाउँमा स्थायी रूपले बस्न थाले। यस अवस्थामा पनि जंगली जीवन रुचाउने एक थरी थिए भने अर्का थरी खेतीपाती गरी बस्ने समुदाय पनि थियो। त्यतिखेरको प्राचीन अवस्थामा पनि यी दुुई मानव समुदायबिच द्वन्द्व भइ नै रहन्थ्यो। यस अवस्था यी दुई मानव समुदायबिच संघर्ष देवासुर संग्राममा परिणत भयो। पछि सबै मानव समुदायले स्थायी बसोबास नै आफ्ना लागि सुरक्षाको ठुलो आधार महसुुस गर्न थाले।
अब मानिसलाई आफ्नो जीवन धान्न खाद्य पदार्थ, पिउने पानी र वस्तुुभाउका लागि घाँस पात हुने ठाउँको खोजीमा मानिसले नदीका आसपासका ठाउँलाई रोज्न थाले। त्यहाँ वस्तुहरूका लागि सुलभ तरिकाले घाँसपात उपलब्ध हुने र नदीको मलिलो माटोमा अन्तपात पनि सहजै उब्जने हुँदा मानिसहरूले स्थायी बसोबास नदीका किनारमा नै गरे। मानव सभ्यताको पहिलो किरण यसरी नै नदीका किनारबाट आरम्भ भयो।
यसरी मानव सभ्यताको किरणसँगै एउटा निश्चित व्यवस्थित जीवन पद्धतिको आरम्भको उद्गम स्थान सिन्धुुघाटी, नीलघाटी, टिग्रिस र युफ्रेटस घाटी, याङ्टो सोक्याङ र हुुङ हो आदि थिए। मानिसले अनेक सोच र विचारसँगै आफ्ना गतिविधिमा पनि सुधार उन्मुख हुँदै आए। मानव चेतनासँगै विकासका क्रमहरू पनि बढ्दै आए।
प्राचीन मिश्र आजको संयुक्त अरब गणतन्त्र हो। यो अफ्रिकी महादेशको उत्तरपूर्वमा पर्छ। यस ठाउँमा इसा जन्मनुुभन्दा हजारौं वर्ष पूर्व नै मानव सभ्यताका विकास भएको थियो। प्राचीन सभ्यताको विकास नदी किनार र नदीतटमै भएको पाइन्छ। मिश्रको विकास पनि नील नदीको देन मानिन्छ। मिश्र सभ्यतालाई नै नीलघाटीको सभ्यता भनेर अहिले पनि भन्ने गछौं।
तत्कालीन मिश्रहरू पनि हिन्दुुहरूले विष्णुको अवतारलाई मानेझैं सूर्यलाई देवताको आधार मान्थे। त्यहाँ पनि राजाको स्थान सर्वोपरि थियो। ईश्वरपछि राजा ठुलो भन्थे। तिनको जीवनयापनको मूल आधार खेती नै थियो। केही औंलामा गन्न सकिने थोरै संख्यामा माटाका उद्योगहरू पनि खुल्न थालेका थिए। कपडा बुन्ने माटाका भाँडाकुँडा बनाउने काम गर्थे। त्यति बेला माटाका चम्किला भाँडा, काष्ठकला, हात्तीका दाँत तथा गहनाहरू पनि प्रयोगमा ल्याएको पाइन्छ।
मिश्रहरू पुनर्जन्म तथा आत्मा अमर छ भन्थे। आत्मा अर्को शरीरमा प्रवेश हुने कुरामा विश्वास राख्थे। तिनले मृत शरीरलाई नष्ट नगरी सुरक्षित राख्थे। मृत शरीर राखेका ठाउँलाई पिरामिड भन्थे। झन्डै आठ हजार वर्ष पुरानो सिन्धु सभ्यता मोहन जोडादो, हरप्पा, चन्दडो, अलमगोर, कालिवङ, लेथिलजस्ता सुव्यवस्थित नगरहरूका रूपमा विकास भएका थिए। यी नगरका थुम्कामा राजकीय भवन र समथर जमिनमा नगरवासीका घर थिए। नगरका सडकहरू फराकिला, चौडा हुनुका साथै नहर र ढलको समेत व्यवस्था थियो। सडकका किनारामा पंक्तिबद्ध ससाना रुखहरू लगाउनुुका साथै सार्वजनिक विश्रामस्थल, सभाभवन, अन्न भण्डार, हवन कुण्ड र ढुुंगाका चिल्ला सिँढीहरू आदि त्यहाँका सभ्यताका सूचकहरू थिए भन्ने कुरा इतिहासमा पढ्दै आएका कुरा हुन्।
सिन्धुघाटीका सभ्यता फैलँदै पूर्वतर्फ बग्ने गंगा, यमुना नदीका किनारमा दिल्ली, इलाहवाद वनारस, पटना आदि नगरहरू विकसित भए। यसैगरी प्राचीन समयमै नेपालको काठमाडौ उपत्यकाभित्र बागमती र विष्णुको दोभानबाटै सभ्यता आरम्भ हुन थाल्यो। प्राचीन सभ्यतामा ग्रिसलाई नकार्न मिल्दैन। यसको पूर्वमा एजिएन सागर, पश्चिममा एड्रियाटिम सागर र दक्षिणमा भूमध्य सागर रहेको ग्रिस एउटा प्रायद्वीप हो।
ग्रिस युरोपेली सभ्यताको उद्गमस्थल मात्र नभएर आधुनिक विचार, दर्शन र ज्ञान विज्ञानको भण्डारसमेत बन्न गयो। त्यहाँका हरेक कुरा बजारबस्ती सफासुग्घर, सुन्दर र आकर्षक थिए। प्रत्येक टोल टोलमा शौचालय, खेल मैदान, स्कुलहरू खोलिएका थिए। ग्रिसेलीहरू खेलकुद प्रिय थिए। प्रत्येक नगर खेलकुद मैदानका साथै प्रतियोगिता पनि थुप्रै हुने गर्थे। यसरी खेलकुदप्रतिको झुुकावले गर्दा नै ग्रिसको ओलम्पिया भन्ने नगरबाट आजको ओलम्पिक खेलको आरम्भ भएको हो।
ग्रिसेलीहरू बौद्धिक स्तरमा पनि निकै माथि थिए। तिनले दर्शन शास्त्र, गणित र इतिहास, तर्कशास्त्र आदिमा गहिरो अध्ययन गर्नुुका साथै विज्ञान, भूगोल र खगोलशास्त्रदेखि ज्ञान–विज्ञानका हरेक पक्ष धेरै जिज्ञासुु थिए। कुनै विषय आफू स्पष्ट नहुन्जेल बुझ्न निकै प्रयत्न गर्थे। हरेक कुरामा किन, कसरी, कहाँ, कहिले, कस्तो, कति आदि असंख्य प्रश्नहरू गरिरहन्थे। यही जिज्ञासु स्वभावले नै ग्रिसेलीहरू अगाडि बढेका हुन्। ग्रिसेलीहरूमा ज्ञान प्राप्तिको तिर्खाले कहिले मेटियन, तिनका तिर्खा जीवनपर्यन्त नै रहिरहेको छ। सूूर्य पूर्वबाट उदाउने कुरा सरल रूपले स्विकार्ने प्रक्रिया भए तापनि उनीहरूमा जिज्ञासा बढी थियो। यसैले यस विषयमा पनि तर्क र छानबिनबिना सहजै स्विकार्दैनथे।
ग्रिसेलीहरू बुद्धिमान थिए। उनीहरूमा अन्धविश्वास थिएन। खासै कुनै धर्म र रीतिरिवाजको पछि दौडँदैनथे। तर्कद्वारा प्रमाण खोज्थे र सत्य पत्ता लगाउँथे। बुद्धि र तर्कद्वारा सृष्टि तथा समाजमा निश्चित नियम पत्ता लगाउने प्रयास गर्थे। समस्या पत्ता लगाउन निरन्तर अवलोकन, निरीक्षण, विश्लेषण र अन्वेषणमा लागि परिरहन्थ्यो। ग्रिसेली सभ्यतामा जिज्ञासुु शिक्षाको भूमिकाले नै त्यहाँका नागरिकमा चैतन्यको शिखमा पुर्याउन र ग्रिसेली सभ्यताको आदर्श निर्माणमा ठुलो भूमिका रह्यो।
ग्रिसेली सभ्यताको इतिहासले तिनको जिज्ञासु प्रवृत्ति र बुद्धिवादी सोचले आधुनिक जगत्लाई पनि सचेत तुल्याउन खोज्छ। आजको शिक्षामा पनि बालबालिकाले जानौं, बुझौं, सिकौं भन्ने प्रेरणा यस्तै सन्देशबाट प्राप्त हुन आउँछ।
प्राचीन सभ्यता र संस्कृतिलाई तिरस्कार गरेर आधुुनिकता शिष्ट र सभ्य बन्न सक्दैन। प्राचीन कालदेखिको सभ्यताको उपज नै आजको आधुनिकताको परिणति हो। यस्तै हाम्रा प्राचीन ऋषिमुनिहरूको त्याग, तपस्या र बलिदानबाट नै पूर्वीय सभ्यता र संस्कृतिले आज विश्व चुुम्न पुुगेको छ।
आज पनि पूर्वीय संस्कृति र दर्शनलाई अत्यन्त समृद्धिशाली मानिन्छ। प्राचीन पूर्वीय ऋषिमुनिहरूले संसार, प्रकृति तथा समाजबारे व्यापक चिन्तनमनन गरे। चार हजार वर्षअगाडिको बौद्धिक संहितामा ब्रह्माण्ड तथा अन्य घटकबिचको सम्बन्ध–मापदण्ड व्यवस्था आदि बुझ्ने प्रयास गरे।
प्राचीन वैदिक संहितामा रहेको ऋग्देवले विश्वका सबै घटकलाई ऋत मानेको छ। ऋत सार्वभौम नियम हो। यही ईश्वरीय सार्वभौम व्यवस्थाद्वारा सामाजिक ढाँचा निर्माण भएको अनुमान गर्न सकिन्छ।
प्राचीन सम्यतासँगै पूूर्वीय र पश्चिमी जगत्का विद्वान् दार्शनिकहरूको खोजपूूर्ण सोच र अन्वेषणले निरन्तरता पाउँदै आयो र आज सभ्यता र विकासमा गहकिलो भूमिका निर्वाह गर्न सक्यो र आजको शिक्षाले पनि हेर, बुझ, सिक र स्वयं सोचको ज्ञान दिन खोजेको छ। विद्यार्थी स्कुल वा कलेज जाँदैमा मात्र हुँदैन। त्यहाँ गएर सिक्ने, बुझ्ने, सोध्ने र सोच्ने कुरामा कत्तिको उद्यत छ या छैन भन्ने सवाल उठ्छ। जुन विद्यार्थी धेरै जान्ने, बुझ्ने र सोच्ने कुशाग्रता देखाउँछ, त्यो नै भोलि कुशल नागरिक बन्न सक्छ।
यसलाई हाम्रा प्राचीन ऋषिमुुनिहरू र प्राचीन ग्रिसेलीहरूको अतृप्त रहने उत्कण्ठाले पुष्टि गर्छ। शिक्षाको झोकले चेतनाको स्तर वृद्धिसँगै प्राचीन सभ्यतादेखि आधुुनिक सम्यतासम्म बेजोडको भूमिका निर्वाह गर्दै आएको कुरा घामझैं छर्लंग छ।
प्रकाशित: १ माघ २०८२ ०७:५० बिहीबार

