१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

लोभलाग्दो कठिना हाइटेक नर्सरी

जुम्ला तिला गाउँपालिका–७ का जगबहादुर बुढा यो बेला बिरुवा हुर्काउन व्यस्त छन्। उनी जडिबुटी, डालेघाँस र फूल प्रजातिका बिरुवा हुर्काउन लागि परेका हुन्।

बालबालिका हुर्काउन र नर्सरीमा बिरुवा हुर्काउन उस्तै उस्तै लाग्ने गरेको उनी बताउँछन्। यो वर्ष जगबहादुरले नर्सरीमा बिरुवा लगाएकाले कालापहाड जानु परेको छैन। उनी नर्सरीमै दिन बिताइरहेका छन्। बिरुवामा पानी हाल्ने,गोडमेल गर्ने र रेखदेख गर्ने उनको दैनिकी हो।

‘यो कठिना हाइटेक नर्सरी तिला–७ तुहीगाउँको समृद्धिको आधार बन्ने देखिएको छ। अबको आम्दानीको स्रोत पनि यहाँ उत्पादित बिरुवा नै हुनेछन्,’ उनले भने, ‘पहिले जडिबुटी कोर्नुपर्छ, वनजंगल फँडानी गरेर खोरिया खन्नुपर्छ भन्ने मान्यता थियो। अहिले जडिबुटीको व्यावसायिक खेती गर्नुपर्छ। वनजंगल जोगाउनुपर्छ। जलवायु परिवर्तनको असर कम गर्न वृक्षरोपणमा जोड दिनुपर्छ भन्ने भावनाको विकास हुन थालेको छ। यो निकै सकारात्मक कार्य हो।’ चैत १८ गते कठिना हाइटेक नर्सरी स्थापना भएपछि अहिले किसान बिरुवा उत्पादनमा जोड दिन थालेका छन्।

हाइटेक नर्सरीभित्र अतिस, निमारो, किमु, पौलेनिया, बकाइनो, राइखन्यु, बुद्धचित्त र कल्फी प्रजातिका फूल छन्। अतिसका ८ हजार बिरुवा उमारिएको छ।निमारो दुई हजार ८ सय, किमु एक हजार ५ सय, पौलेनिया ५ हजार, बकाइनो १५ हजार र राइखन्युका ३ हजार बिरुवा लगाइएको छ।

बुद्धचित्तका एक सय बिरुवा छन्। कल्फी प्रजातिका फूल तीन सय बिरुवा उमारिएको छ। गाउँमै आधुनिक नर्सरी खेती हुन थालेपछि किसान चकित छन्। उनीहरूले नयाँ नयाँ प्रजातिका बिरुवा आगनमै देख्न पाउँदा उत्साहित भएको बताउँछन्।

विश्व खाद्य कार्यक्रम र वन तथा वातावरण मन्त्रालयको सहयोगमा पेस नेपालअन्तर्गतको क्याप्स कर्णाली परियोजनाले हाइटेक नर्सरी स्थापना गरेको हो।

नर्सरी स्थापनामा २८ लाख ४२ हजार ५ सय ७६ रूपैयाँ लगानी गरिएको छ। यहाँ उत्पादित बिरुवाको बजारीकरणको पेस नेपालले गर्ने कठिना हाइटेक नर्सरी आयोजनाका सचिवसमेत रहेका जगबहादुरले बताए। उनले भने, ‘नर्सरी स्थापना भएपछि कालापहाडको यात्रा रोकिएको छ। नर्सरीतिरै ध्यान केन्द्रित भएको छ। भविष्य पनि बिरुवामै देखिन थालेको छ।’ हाइटेक नर्सरी वरिपरिको खाली जमिनमा रोजमरीका बिरुवा रोपिएको छ। यो चिया, अगरबत्ती बनाउनका लागि प्रयोग हुन्छ।

नर्सरीले उत्पादन गरेको बिरुवा बजारीकरणमा समस्या हुनेछैन। नर्सरी स्थापनाबाट एक सय घरधुरीका ४ सय ५५ जनसंख्या प्रत्यक्ष लाभान्वित छ। नर्सरीमा छरिएको बिउ पेस नेपालले खरिद गरेर किसानलाई उपलब्ध गराएको हो।

अहिले नर्सरीको अवस्था राम्रो छ। चिसो मौसममा पनि निकै राम्रो देखिएको छ। अन्य नर्सरीभन्दा हाइटेक नर्सरी फरक खाले छ। ग्रिन हाउसमा सिधैं प्रकाश छिर्ने भएकाले सहज हुन्थेन तर यसमा प्रकाश छेक्ने खालको व्यवस्थापन गरिएको छ।

‘बिरुवा हुर्काउनु र बच्चा हुर्काउनु बराबरी नै हो,’ जगबहादुरले भने, ‘बेलाबेला सिँचाइ गर्ने, गोडमेल गर्ने गर्छौं। जिल्लाकै सबैभन्दा ठुलो नर्सरी पनि यही हो। मुगुको रारा र चन्दननाथ मन्दिर अवलोकन गर्न आएका पर्यटक हाइटेक नर्सरीमा आएर फोटो खिचेर फर्कन्छन्। जडिबुटीबारे चासो राख्छन्। जुम्लामा हाइटेक नर्सरी स्थापना गरेर निकै राम्रो गरेको प्रतिक्रिया दिने गर्छन्।’ 

हाइटेक नर्सरीका कारण अहिले गाउँले पनि जंगल जोगाउने अभियानमा छन्। पहिले आगनमैे नर्सरी स्थापना हुन्छ। ‘विभिन्न प्रजातिका बिरुवा हुर्काउन सकिन्छ भन्ने लागेको थिएन। अहिले निकै खुसी छौं,’ उनले भने, ‘अब जंगलमा जडिबुटी सकिएको बेला यहाँ उत्पादित जडिबुटीले प्राथमिकता पाउँछन्।’ गाउँपालिका कृषि शाखा, वन कार्यालयमा समन्वय गरेर बिरुवा बिक्रि गर्ने रणनीति स्थानीयले बनाएका छन्।

नर्सरी स्थापना भएपछि विभिन्न प्रजातिका बिरुवा उत्पादनमा किसानको रुचि जागेको छ। कर्णाली राजमार्ग आसपासमै हाइटेक नर्सरी भएकाले सहजै रूपमा सबैले अवलोकन गर्न सक्ने अवस्था छ। जिल्लाका विभिन्न क्षेत्रबाट किसान आउँछन्। जडिबुटी, घाँस प्रजातिबारे निकै चासो राख्छन्। बाहिरबाट हेर्दा प्लास्टिकको विशाल घरजस्तो देखिन्छ। तर भित्र प्रवेश गर्दा विभिन्न खाले जडिबुटीले रंगीचंगी जस्तो लाग्छ।

अहिले जिल्लाका जडिबुटी किसानको ध्यान हाइटेक नर्सरीतिर केन्द्रित भएको छ। नर्सरीभित्र उमारिएका बिरुवा किसानले आफ्नो खेतबारीमा लगाउन सक्नेछन्। गाउँलेले सामुदायिक वनमा डालेघाँसका बिरुवा लगाउन सक्नेछन्।

प्रकाशित: ४ मंसिर २०७८ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App