१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

राष्ट्रिय कफी दिवसः कफी उत्पादन घट्यो साढे १० करोडको आयात

मुलुकमा कफी खेतीको प्रचुर सम्भावना भएर पनि उत्पादन वृद्धि हुन सकेको छैन। स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा यहाँ उत्पादन भएको कफीको उच्च माग भए पनि कफी खेती फस्टाउन सकेको छैन।

पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा कफी उत्पादन घट्दो छ। आर्थिक वर्ष ०७७/७८ मा करिब साढे १० करोड रूपैयाँको कफी आयात भएको छ। उत्पादन वृद्धि होला भन्दा घट्दै गएको छ। 

आर्थिक वर्ष ०७३/७४ मा दुई हजार ६ सय ५० हेक्टर क्षेत्रफलको खेतीबाट चार सय ६६ मेट्रिक टन कफी उत्पादन भएको थियो। आव ०७७/७८ मा आइपुग्दा उत्पादन घटेर तीन सय १४ मेट्रिक टनमा सीमित भएको छ। आव ०७५/७६ मा पाँच सय ३० मेट्रिक टन ग्रिनबिन कफी उत्पादन भएकोमा आव ०७६/७७ मा घटेर दुई सय ९६ मेट्रिक टनमा सीमित भयो।

सरकारले किसानलाई प्रोत्साहित नगर्दा उत्पादन वृद्धि हुन नसकेको कफी व्यवसायी महासंघका उपाध्यक्ष भवानीप्रसाद शर्माले बताए। यहाँ उत्पादित कफीले उचित मूल्य पाए पनि सरकारी निकायले प्रोत्साहित नगरेको किसानको गुनासो छ। 

‘नेपालको माटोमा कफी खेतीको प्रशस्त सम्भावना छ,’ उपाध्यक्ष शर्माले भने, ‘राज्यका निकायबाट किसानलाई सहयोग पुगेन।’ किसानका लागि आवश्यक तालिम, बिरुवा, बीउ उपलब्ध गराउनुपर्ने शर्माको तर्क छ।

पर्वतमा कफी खेती गर्दै आएका शर्माले २२ मेट्रिक टन उत्पादन हुने ठाउँमा अहिले १५ टन मात्र उत्पादन भएको उनले बताए। युवा जनशक्ति वैदेशिक रोजगारमा जाँदा कामदारको पनि अभाव रहेको शर्मा बताउँछन्।

सरकारले बुधबार कफी किसानलाई संरक्षण र प्रोत्साहन व्यावसायिक कफी उत्पादनमा युवाको योगदान नाराका साथ १७ औं राष्ट्रिय कफी दिवस मनाएको छ। केही कफी नेपालबाट विदेश पनि निर्यात हुने गरेको छ। नेपाली कफीलाई स्पेसियालिटी कफीको रूपमा परिचित भएकाले यहाँको अर्गानिक कफीको माग स्वदेश तथा विदेशमा बढ्दै गएको छ। नौ करोड ६० लाखको कफी निर्यात भएको छ। 

कफी आयात पाँच वर्षमा दोब्बर भएको छ। आर्थिक वर्ष ०७३/७४ मा पाँच करोड ५५ लाखको कफी आयात भएकोमा आव ०७७/७८ मा १० करोड ६७ लाखको आयात भएको छ। कफी निर्यात भने बढ्न सकेको छैन। ०७३/७४ मा आठ करोड ४५ लाखको निर्यात भएकोमा गत आवमा नौ करोड ६० लाखको मात्र निर्यात भएको छ।

जर्मनी, कोरिया, जापान, अमेरिका, फ्रान्स लगायत मुलुकमा कफी निर्यात हुन्छ। यहाँको कफी एभेरस्ट कफी मिल,हाइल्यान्ड, बुद्ध अर्गानिक, पर्वत अर्गानिक कफी सहकारी, मुस्ताङ कफी, प्लान्टेक कफी प्रमोसन कम्पनी लगायतले स्वदेशी तथा विदेशी बजारमा बिक्री गर्दै आएका छन्। 

बजारको माग अनुसार कफीको उत्पादन वृद्धि हुन सकेको छैन। उत्पादन वृद्धि नहुँदा आन्तरिक बजारमा विदेशबाट पनि कफी आयात भइरहेको छ।

गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङ लगायत जिल्लामा व्यावसायिक खेती छ। 

प्रकाशित: २ मंसिर २०७८ ०२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App