८ वैशाख २०८१ शनिबार
अर्थ

‘पृथ्वीलाई क्यासिनो ठान्ने प्रवृत्तिले मानव जातिको अस्तित्व संकटमा’

नोवेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले पृथ्वीलाई क्यासिनोजस्तै पैसा बनाउने साधनको रूपमा हेर्ने मानवीय प्रवृत्ति बढ्दै जाँदा मानव जातिको अस्तित्व नै संकटमा परेको चेतावनी दिएका छन्।

युनुसले जथाभावी प्राकृतिक स्रोतको दोहन बन्द गरी दिगो विकासको अवधारणा अनुसार काम गर्नुपर्ने सुझाव दिए।सामाजिक व्यवसाय विश्व शिखर सम्मेलन २०७८ को अवसरमा मंगलबार स्वावलम्बन विकास केन्द्रले आयोजना गरेको नेपाल सभामा उनले यस्तो धारणा राखेका हुन्।

‘नयाँ अर्थतन्त्रको बिजारोपण गरौं :समय अहिले हो’ नाराका साथ आयोजना भएको सामाजिक व्यावसाय विश्व शिखर सम्मेलन नेपाल सहित १४ देशमा आयोजना भएको छ।

युनुसले विश्वका तीन ठूला समस्या–गरिबी, बेरोजगारी र कार्बन उत्सर्जन–मा सबैले आ–आफ्नो क्षेत्र र व्यक्तिगत तवरबाट समेत काम गर्न आग्रह गरे।

युनुसले शून्य गरिबी,शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जन गर्ने तीन शून्यको अवधारणा पनि विश्वव्यापी संकटसँग जुध्न अघि सारिएको जानकारी दिए। युनुसले २१औं शताब्दि मानव जाति सुध्रिने अन्तिम मौका हुने चेतावनी दिए।

‘सम्भवतः यो दशक हामीले संकट मोचन गर्न काम गर्न सक्ने अन्तिम दशक हुनेछ। यसपछि हामीले चाहेर पनि वातावरणीय समस्या समाधान गर्न सक्ने छैनौं।धेरै ढिलो भइसक्ने छ र मानव जातिको अस्तित्व नै मेटिने छ,’उनले भने,‘त्यसैले सुधारको अन्तिम मौका खेर नफालौं।

’स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले धनी थप धनी बन्दै जाने र गरिब झन्झन् गरिब हुँदै जाने वर्तमान अर्थ व्यवस्थाले असमानता पैदा गरेको र विश्वलाई खतरामा पारेको धारणा राखे। उनले अब विश्वमा सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने खालको अर्थ व्यवस्थामा जानुपर्ने र नेपालमा पनि सामाजिक व्यवसाय प्रवर्द्धन सुरु भएको बताए।

प्रकाशित: २५ कार्तिक २०७८ ०२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App