८ वैशाख २०८१ शनिबार
अर्थ

नेपालगन्ज नाकामा भारतीय पर्यटकलाई स्वागत

नेपालगन्जस्थित जमुनाहामा पुगेर भारतीय पर्यटकलाई स्वागत गरिँदै । तस्बिरः अर्जुन/नागरिक

भारतबाट कैलास मानसरोवर दर्शन गर्नका लागि आएका पर्यटकलाई नेपालगन्ज नाकामा स्वागत गरिएको छ। नेपालगन्जका पर्यटन ब्यवसायीले सोमबार अपरान्ह नेपाल भारत सीमानाकाको जमुनाहामा पुगेर भारतीय पर्यटकलाई स्वागत गरेका हुन्।  

नेपाल प्रवेश गरेका पर्यटकलाई पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, होटल सिद्धार्थ भ्यू नेपालगन्जका केशव न्यौपाने, मेरो प्लानेटका प्रबन्ध निर्देशक ओम मिश्र लगायत ब्यवसायीले खादा र टिका लगाएर स्वागत गरे।  

भारतको मुम्बई र गुजरातबाट ९ जनाको टोली रुपैडिहा हुँदै नेपालगन्ज प्रवेश गरेको थियो। नेपालगन्जको प्रवेशद्वारमै न्यानो स्वागत पाउँदा भारतीय पर्यटक हर्षित भएका थिए। ‘नाकामै हामीलाई यसरी स्वागत हुन्छ भनेर कल्पना नै गरेका थिएनौं, हामी धेरै खुसी छौं, यो स्वागतले नेपालको हाम्रो यात्रा सुखद हुनेछ,’ एक पर्यटकले भने।  

आफूहरु नेपालमा करिव दुई सातासम्म रहन सक्ने उनले बताए। उनीहरु नेपालगन्जको तारे होटल सिद्धार्थ भ्यूमा बास बसेर नेपालगन्ज विमानस्थल, हुम्लाको सिमकोट हुँदै हिल्सा नाका भएर कैलास मानसरोवर दर्शन गर्न जानेछन्। पर्यटन ब्यवसायीका अनुसार यहाँबाट भारतीय पर्यटकका लागि कर्णाली प्रदेशको हुम्लास्थित नेपाल–चिन हिल्सा नाका छोटो दूरीमा पर्दछ।  

पर्यटन प्रवर्द्धन मञ्चका संयोजक श्रेष्ठले भारतीय पर्यटकका लागि नेपालगन्ज नाका एकदमै सहज र सरल भएको बताए। ‘वास्तबमा भारतीय पर्यटकका लागि हिल्सा नाका एकदमै सहज र छोटो दूरीमा पर्छ, सरकारले मानसरोवर तिर्थयात्रीका लागि अझ सहज वातावरण बनाउन जरुरी छ,’ उनले भने। उक्त नाका भएर वर्षेनी हजारौंको संख्यामा भारतीय पर्यटकहरु मानसरोवर तिर्थयात्रामा जाने गरेको उनले सुनाए।  

यस्तै नाटा बाँके च्याप्टर अध्यक्ष सिग्देलले भारतीय पर्यटकलाई मात्रै लक्षित गरेर नेपालगन्जमा पर्यटनका गतिविधी सञ्चालन गर्न सकियो भने पर्यटन ब्यवसायले धेरै फड्को मार्ने बताए। ‘भारतबाट वर्षेनी हजारौंको संख्यामा पर्यटकहरु मानसरोवर तिर्थयात्राका लागि आउँछन्, उनीहरुलाई मात्रै टार्गेट गरेर सरकारले विशेष कार्यक्रम ल्याउने हो भने नेपाले धेरै लाभ लिन सक्छ,’ सिग्देलले भने। केही दिनदेखि मानसरोवर तिर्थ यात्रामा जाने भारतीय पर्यटक आउने क्रम सुरु भएको उनले जनाए। पर्यटन दिवसको अवसरमा बास बस्न आएका पर्यटकलाई नेपालगन्जस्थित होटल सिद्धार्थ भ्युले पनि स्वागत गरेको थियो।

प्रकाशित: ११ आश्विन २०७८ १३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App