६ चैत्र २०८० मंगलबार
अर्थ

एसियन कंक्रिटोले पायो नेपाल गुणस्तर चिन्ह

एसियन कंक्रिटो नेपाल प्रालि नवलपरासीले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ। कंक्रिटजन्य निर्माण सामग्री उत्पादन गर्ने उद्योग मध्ये एसियन कंक्रिटो नेपाल गुणस्तर चिन्ह पाउने पहिलो उद्योग बनेको छ। जर्मनको विश्वप्रशिद्ध प्लान्ट मार्फत कंक्रिटका निर्माण सामग्री उत्पादन गरीरहेको उद्योगले गुणस्तर चिन्ह प्राप्त गरेको कम्पनीका अध्यक्ष मनिष रुंगटाले बताए।  

कंक्रिटोले गत वैशाखमा नेपाल गुणस्तर तथा नापतौल विभागबाट ‘एनएस’ चिन्ह प्राप्त गरेको हो। त्यसअघि युरोपियन तथा भारतीय मापदण्ड अनुरुप निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको कंक्रिटोले नेपाल सरकारले मापदण्ड निर्माण गरेपछि नेपाल गुणस्तर मापदण्ड अनुरुप उत्पादन थालेको अध्यक्ष रुंगाटाले बताए। ‘नेपालमा यस्ता सामग्रीको मापदण्ड नभएको अवस्थामा यूरोपियन र भारतीय मापदण्ड अनुशरण गरेका थियौं। तर सरकारले यससम्बन्धी मापदण्ड बनाएपछि नेपाल गुणस्तर एनएस लिएर सोही मापण्दड अनुरुप उत्पादन थालेका हौं’, कम्पनीका अध्यक्ष रुंगाटाले भने।

नवलपरासीको रामग्राम नगरपालिका १६ मा रहेको उद्योगले ३० प्रकारका निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको कम्पनीका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए। जसमध्ये कर्बस्टोन र इन्टरलक व्लकले एनएस चिन्ह प्राप्त गर्ने पहिलो प्रोडक्ट भएको अग्रवालले जानकारी दिए। एनएस चिन्ह प्राप्त ती उत्पादन अहिले सरकारी विकास निर्माणका काममा करिब ८५ प्रतिशत खपत हुने गरेको उनले बताए। कम्पनीबाट उत्पादित एनएस चिन्ह प्राप्त उत्पादनको प्रयोगले सरकारी विकास निर्माणका काम टिकाउ हुने र मर्मत सम्भारमा खर्च गर्नुपर्ने अर्बौ रकम सरकारको बचत हुने दावी कम्पनीका उपाध्यक्ष स्यामल झाले बताए।

कम्पनीले उत्पादन गरीरहेको कर्बस्टोन सडक छेउ किनार तथा डिभाइडरमा प्रयोग गर्न सकिन्छ भने इन्टरलक ब्लकबाट फुटपाथदेखि शहरी क्षेत्रका भित्रि सडक बनाउन सकिने पनि झाले बताए। विश्वका विकसित मुलुकमा भित्रि तथा शहरका मुख्य सडक नै इन्टरलक ब्लकबाट समेत बनाइने उनले बताए।  

यसअघि नेपालमा गुणस्तरीय उत्पादन नहुँदा सरकारी विकास निर्माणका आयोजनाहरुमा गुणस्तरहिन सामग्री प्रयोग गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै झाले अब उप्रान्त सरकारी पूर्वाधार निर्माणमा एनएस चिन्ह प्राप्त कर्बस्टोन तथा इन्टरलक ब्लक नै प्रयोग हुने विश्वास व्यक्त गरे। हाल नेपालमा उत्पादन हुने ब्लकहरु एम १०,१५,२०का मात्रै रहेको उल्लेख गर्दै उनले एसियन कंक्रिटोको ब्लक न्युनतम एम ३५ देखि एम ५५ सम्मका रहेको जानकारी दिए। ठूला आयोजनामा पनि प्रयोग गर्न सकिने ब्लकहरु निकै टिकाउ भएको दावी झाले गरे।

तोकिएको मापदण्ड अनुरुप उत्पादन गरीएका इन्टरलक ब्लकबाट भित्रि तथा शहरी सडक बनाउँदा टिकाउ, दिगोपन र वातावरणमैत्री हुने र मर्मत सम्भार खर्च जोगाउन सकिने कम्पनीका प्रबन्ध निर्देशक अग्रवालले बताए। उनका अनुसार सरकारले विश्व बैंकको सहयोगमा चोभारमा निर्माण गरीरहेको सुख्खा बन्दरगाहामा एसियन कंक्रिटोले उत्पादन गरेको इन्रटलक ब्लक प्रयोग गरीरहेको पनि उनले जानकारी दिए। कम्पनीका उत्पादन गुणस्तरयुक्त भएकाले सडक, पुल, पार्किङस्थल, वेयर हाउस, मिल, व्यापारिक भवन, होटल, रिसोर्ट, सपिङमल आदीमा प्रयोग गर्न सकिने उनले बताए।  

गुणस्तरीय सामग्री उत्पादन गरेर स्वदेशसंगै छिमेकी मुलुक भारतमा समेत निर्यात गर्ने लक्ष्य रहेको अग्रवालले बताए। पछिल्लो समय प्रतिकुल अवस्थाका बावजुद पनि कम्पनीले उत्पादनलाई निरन्तरता दिएको र मुलुकभर यसले राम्रो बजार लिइरहेको भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।  

डेढ अर्ब बढी लगानीमा संचालित एसियन कंक्रिटो उद्योग प्रालिको दैनिक ५ सय टन ब्लक उत्पादन क्षमता छ। साथै उद्योगले पेभर, ब्लक, स्लाव, कर्व स्टोन, इँट्टा र टायल उत्पादन गर्छ। उद्योगमा अत्याधुनिक स्वचालित मेसिनको प्रयोग गरीकाले श्रम शक्ति पनि कम लाग्ने र उत्पादित बस्तुको उच्च गुणस्तर कायम हुने कम्पनीका उपाध्यक्ष श्यामल झाले बताए। झाका अनुसार पन्ध्र सय जना जनशक्ति आवश्यक पर्ने कामका लागि स्वचालित मेसिनको प्रयोगका कारण २५ जना जनशक्तिको मद्दतबाट उद्योग पूर्ण क्षमतामा चल्न सफल भएको छ।  

ठूलो जोखिम मोलेर उद्योगमा जर्मनको मासा कम्पनीको प्लान्ट जडान गरीएको उनले बताए। उद्योगका लागि आवश्यक कच्चा पदार्थ मध्ये ९० प्रतिशत स्वदेशमै उपलब्ध हुने कम्पनीले जनाएको छ। उद्योगद्वारा उत्पादित ब्लकको मूल्य प्रतिबर्गफिटमा करिब ६५ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। उद्योगका उत्पादन पचास वर्ष बढी टिक्ने दावी गरीएको छ।  

हाल कंक्रिटोमा उत्पादन बुटवल, भैरहवा, पोखरा, काठमाडौं, चितवन, हेटौंडा, नेपालगञ्ज, धनगढी लगायतका शहरहरुमा पुगीसकेको कम्पनीले जनाएको छ।

प्रकाशित: २ आश्विन २०७८ १०:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App