७ वैशाख २०८१ शुक्रबार
अर्थ

चाडपर्वमा तरकारीको भाउ ह्वात्तै बढ्यो

चाडबाडको समयमा हरियो तरकारीको मूल्य ह्वात्तै बढेको पाइएको छ। ताजा हरियो तरकारीको उत्पादन घटेको तथा चाडपर्वका केही तरकारीको माग बढेको हुनाले हरियो तरकारीको मूल्य करिब दोब्बरले वृद्धि भएको देखिएको हो।

गत हप्ता प्रति किलो ७० देखि ८० रुपैयाँसम्म पाइने काउली तीज, चकुचन्ना र ऋषिपञ्चमीको अवसरमा एक सय ७० देखि २ सय रुपैयाँ किलोसम्म बिक्री भएको पाइएको छ। रौतहटको मध्यभागमा रहेको गरुडा बजारमा काउली २ सय रुपैयाँमा एक किलो बिक्री भएको हो।

जिल्लाका मुख्य बजारहरु गौर, गरुडा, चन्द्रपुर, कटहरिया, समनपुर, माधोपुर, पिपरा, राजपुर, मौलापुरसहित अन्य साना हाटबजारमा पनि तरकारीको मूल्य आकासिएको हो। तरकारी बजारमा औसतमा मूला ६०, परवल ८० देखि १००, बन्दा ५० देखि ६०, गोलभेडा १२० देखि १५०, भन्टा ६० देखि ७०, भिन्डी ७० देखि ९०, झिगुनी ८०, घिरौला ६० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ।

चाडपर्वमा बढी माग हुने काउली तथा परवल र केराको मूल्यमा अस्वाभाविक वृद्धि भएको हो। स्थानीय उत्पादन नहुँदा बाहिरबाट झिकाउनु पर्ने र उत्पादन हुने ठाउँमा माग अत्यधिक भएकोले मूल्य वृद्धि भएको खुद्रा व्यापारीहरुको भनाइ रहेको छ।

रौतहटको बजारमा खपत हुने परवल, लौका, आलु, प्याजको अधिकांश भाग भारतबाट आउँछ भने काउली, बन्दा, मूला, गोलभेडा मकवानपुर आउने गर्दछ । भन्टा, घिरौला, झिगुनी, भिन्डीजस्ता हरियो तरकारी प्रायः स्थानीय उत्पादन हुने गर्दछ।

स्थानीय जातका तरकारीको उत्पादन पनि कम भएको छ। वर्षाको कारणले तरकारी उब्जने खेतमा पानी भरिएको तथा धेरै किसानले तरकारी खेतमा एक बाली धान उत्पादन गर्ने हुनाले तरकारी खेती सीमित बन्न पुगेको हो।

चाडपर्वको समयमा आलु, काउली, परवल, केरा आदि तरकारीको तरुवा पकाएर खाने चलन रहेकोले पनि हरियो तरकारीको माग बढी हुने गरेको छ। मधेसी समुदायमा तीज, चकुचन्ना तथा ऋषि पञ्चमीलाई पूर्णतया शाकाहारी पर्वको रुपमा लिइने भएकोले पनि तरकारीको माग बढी भएको उपभोक्ताहरुको भनाइ छ।

चाडपर्वको समयमा जुन हरियो तरकारीको माग बढी हुन्छ त्यसैको मूल्य अस्वभाविक रुपमा बढ्ने गरेको गौरका एक उपभोक्ता बताउँछन्। बिपि चौकस्थित तरकारी बजारमा भेटिएका टिकुलियाका एक उपभोक्ताले गुनासो गरे, 'चाडबाडको समयमा सम्बन्धित निकायले बजार अनुगमन गरेर तरकारीको आपूर्ति सहज बनाउनु पर्ने तथा लागतभन्दा दोब्बर नाफा लिएर उपभोक्ताको ढाड सेक्ने बेपारीलाई कारबाही गर्नुपर्छ।'

चाडबाडको समयमा हरियो तरकारीको मूल्य अत्यधिक वृद्धि हुँदा उपभोक्ताको बजेट सन्तुलन बिग्रिने र चाडबाड नै खल्लो हुने गरेको गुनासो रहेको छ। नाफाखोरहरुलाई कारबाही नगरेसम्म उपभोक्ताले यस्तो नियति भोगिरहनु पर्ने गौरका बुद्धिजीवीहरुको भनाइ छ।

प्रकाशित: २६ भाद्र २०७८ १४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App