coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीहरुले पदीय आचरणविपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।  

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको शुक्रबार सिंहदरवारमा बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरण विपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।  

सर्वोत्तम सिमेन्टको सेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउँदले परिवारका सदस्यहरुको नाममा खरिद गरेर पदीय आचारण विपरित काम गरेको भन्दै चर्को आलोचना भईरहेका बेला समितिले तत्काल छानवीन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सचेत गराएको हो। नियमक निकाय आफैंले पदीय मर्यादाविपरित सेयर कारोबार गरेकाले तत्काल छानवीन गरी उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए। 

उनले भने, ‘नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुले भित्री सूचनाका आधारमा गरेको भनिएको सेयर कारोबारको सम्बन्धमा अर्थ मन्त्रालयबाट अध्ययन छानवीन भईरहेको जानकारी माननीय मन्त्रीज्यू र अर्थसचिवज्यूबाट प्राप्त भएको छ। उक्त छानवीन यथाशीघ्र सम्पन्न गरी आवश्यक कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ।’

बैठकले सेयर बजारको दीगो विकास र स्थायित्व कायम गर्दै यस क्षेत्रको स्वच्छता, पारदर्शीता, सदाचारिता, नैतिकता साथै जिम्मेवार र जवाफदेहिता प्रवद्र्धन गर्न नीतिगत, कानुनी र संरचनागत व्यवस्था गरी समितिलाई जानकारी गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ। बैठकमा समितिका सदस्यहरुले पूँजी बजारको नियमक निकायलाई स्वच्छ, जवाफदेही, पारदर्शी र विश्वासयोग्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग माग गरेका थिए। 

प्रकाशित: ४ भाद्र २०७८ ०९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App