११ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

पेट्रोलियम पाइपलाइनबाट ६ अर्ब लिटर इन्धन आयात, वार्षिक ३ अर्ब बचत

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको ६ वर्ष पूरा भएको छ। भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पाइपलाइनबाट ६ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ।  

पाइपलाइनबाट हालसम्म ६ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल र ४१ लाख लिटर मट्टितेल आयात भएको प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए। अहिले मोतिहारीबाट पाइपलाइनमार्फत अमलेखगञ्जसम्म पेट्रोल, डिजेल र मट्टितेल आयात भइरहेको छ। २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले यो परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए।  

सोही दिनदेखि पाइपलाइनबाट डिजेल आयात भइरहेको छ। २०८१ असोज २४ देखि पेट्रोल र २०८१ मङ्सिर १९ देखि मट्टितेल आयात थालिएको हो। दक्षिण एसियाको पहिलो अन्तरदेशीय पाइपलाइनको कुल लम्बाइ ६९.२ किलोमिटर छ, जसमा भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६.२ किलोमिटर छ।  

पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी ‘मल्टी प्रोडक्ट पाइपलाइन’ बनाइएको छ। पाइपलाइनबाट आयातित पेट्रोलियमले नेपालको करिब ७० प्रतिशत माग पूरा भएको छ। अमलेखगञ्जबाट काठमाडौं, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगञ्ज, जनकपुरस्थित डिपोमा इन्धन आपूर्ति हुन्छ। अमलेखगञ्जबाट स्थानीय पम्पका लागि पनि पेट्रोलियम पदार्थ बिक्री हुन्छ।  

‘नेपालको खपतको ७० प्रतिशत पेट्रोलियम पदार्थ अमलेखगञ्जबाटै आपूर्ति हुन्छ,’ प्रमुख आचार्यले भने। पाइपलाइनबाट दैनिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिन्छ, तर माग नबढेकाले पूर्ण क्षमतामा सञ्चालन भएको छैन। ‘दैनिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने अवस्थामा निगम पुगेको छैन,’ उनले भने।  

पाइपलाइन परियोजनाको पहिलो चरणमा मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइन बिछ्याइएको थियो। दोस्रो चरणमा अमलेखगञ्जमा भण्डारण क्षमता वृद्धि र ‘अटोमेसन’ सम्पन्न गरिएको छ। डिपोमा पेट्रोल, डिजेल र मट्टितेल भण्डारणका लागि ४ वटा नयाँ ‘भर्टिकल ट्याङ्क’ बनाइएको छ। पाइपलाइनबाट ल्याइएको पेट्रोलियमको शुद्धता कायम राख्न २ वटा ट्रान्समिक्स ट्याङ्क र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था छ।  

अमलेखगञ्जमा भण्डारण क्षमता विस्तार गरी १७ हजार ५०० किलोलिटर पेट्रोल, २७ हजार ५०० किलोलिटर डिजेल र २ हजार २०० किलोलिटर मट्टितेल राख्न सकिन्छ। पुराना र नयाँ गरी अमलेखगञ्जमा ९४ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिन्छ।  

मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि २०३० मा अमलेखगञ्ज डिपो निर्माण सुरु भएको थियो। ६७ हजार ७२४ वर्गमिटरमा फैलिएको यो डिपो २०३३ माघबाट सञ्चालनमा आयो। यो देशकै ठूलो डिपो हो।  

हाल अमलेखगञ्ज डिपोमा १५ हजार ११० किलोलिटर पेट्रोल, २४ हजार ८१० किलोलिटर डिजेल र २ हजार २७० किलोलिटर मट्टितेल भण्डारण क्षमता छ। सरकारले सातै प्रदेशमा ३ महिनाको माग धान्ने भण्डारण क्षमता विस्तारको योजना अघि सारेको छ। सोहीअनुसार निगमले विभिन्न प्रदेशमा भण्डारण क्षमता विस्तारको काम अघि बढाएको छ।  

पेट्रोलियम पाइपलाइनले सडक मार्गको अवरोध हटाएको छ। ‘ट्याङ्कर दुर्घटना र सडक मार्गको समस्याको जोखिम कम भएको छ,’ प्रमुख आचार्यले भने, ‘इन्धन चोरी र मिसावटको प्रश्नै उठ्दैन।’ पाइपलाइनबाट ढुवानी गर्दा वातावरणीय प्रभाव पनि कम हुन्छ।  

पाइपलाइनले ढुवानी खर्चमा वार्षिक ३ अर्ब रुपैयाँ बचत भएको छ। यसले निगमले इन्धनको उपभोक्ता मूल्य पनि घटाएको छ।  

सिलगुडी–चारआली र अमलेखगञ्ज–लोथर पाइपलाइनलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा तोकिएको छ। अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तारको काम सुरु भएको छ। निगमले साउन १६ देखि दोस्रो चरणको पाइपलाइन विस्तारको काम थालेको हो।  

राप्ती नगरपालिका–१ लोथभरमा २३ बिघा १२ कठ्ठा जग्गामा अत्याधुनिक ग्रीन फिल्ड टर्मिनल निर्माण हुनेछ। अमलेखगञ्जदेखि लोथरसम्म ६२ किलोमिटरको १०.७५ इञ्चको पाइपलाइन बिछ्याइने छ।  

यो परियोजना ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य परियोजना प्रमुख प्रदीप यादवले बताए। पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण हुनेछ। ६२ किलोमिटर लामो पाइपलाइनमा सधैं ३२ सय किलोलिटर इन्धन भण्डारण हुनेछ। पाइपलाइनबाट प्रतिघण्टा २७३ किलोलिटर तेल आपूर्ति गर्न सकिन्छ।  

पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिन्छ। लोथभरमा १६० वर्गमिटरको पाइपलाइन स्टेसन निर्माण हुनेछ।  

लोथभरमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका ३ वटा भर्टिकल ट्याङ्क, डिजेलका लागि १५ हजार ५०० किलोलिटर क्षमताका ३ वटा र मट्टितेलका लागि ८०० किलोलिटर क्षमताका २ वटा ट्याङ्क निर्माण हुनेछ। हवाई इन्धनका लागि ३ हजार ६०० किलोलिटर क्षमताका ३ वटा ट्याङ्क बनाइनेछ। लोथरको नयाँ डिपोमा ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ। २ वटा ट्रान्समिक्स ट्याङ्क पनि बनाइनेछ। पाइपलाइन र भण्डारण गृह निर्माणको लागत १४ अर्ब ९ करोड ६० लाख अनुमान गरिएको छ। अशोक घिमिरे/रासस

प्रकाशित: १ कार्तिक २०८२ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App