१६ चैत्र २०८० शुक्रबार
अर्थ

सात महिनामा ६१ हजार विदेशी नेपाल भित्रिए

पर्यटनमा छैन सुधारको संकेतः व्यवसायी

पोखरा सराङकोट घुम्न पुगेका पर्यटक । फाइल तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणले गर्दा विदेशी पर्यटकको आगमनमा अझै सुधार आउन सकेको छैन । गत मार्च, अप्रिल महिनामा केही संख्यामा विदेशी पाहुना नेपाल भित्रिएको भएपनि त्यसपछिका महिनामा आगमन निकै नै घटेको छ । अझै केही समय विदेशी पाहुना नेपाल आउने अवस्था व्यवसायीले देखेका छैनन् ।  

पर्यटन बोर्डका अनुसार सन् २०२१ लागेपछिको सात महिनामा जम्मा ६१ हजार ४९ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । ती मध्ये सबैभन्दा बढी गत अप्रिल महिनामा २२ हजार ४५० जना विदेशी नेपाल आएका थिए । जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, मे मा १४ सय ६८, जुनमा ११ सय ४३ र जुलाईमा २९ सय ९१ जना विदेशी पाहुना नेपाल आएका छन् ।  

पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेका अनुसार पर्यटन आगमनमा सुधारको संकेत देखिएको थियो, तर, कोरोनाको तेश्रो लहरको हल्लाले गर्दा पर्यटक घुमफिरमा निस्कन हच्केका छन । ‘पर्यटनमा सुधार देखिन थालेको त् थियो । बीचमा केही समय आगमन पनि बढ्दै गएको हो, तर, अहिले फेरि घट्न थालेको छ,’ लामिछानेले भने, ‘कोरोनाको तेश्रो लहरको संक्रमणको कारणले गर्दा पर्यटक आउन अलि डराएका छन ।’

उनका अनुसार नेपाल आउन चाहेका विदेशी पाहुनाको सोधपुछ भने बढिरहेको छ । तर, नेपालमा असोजदेखि कोरोनाको तेश्रो लहर आउने हल्ला चलेपछि विदेशीले तत्काल आउने योजना बनाउन सकेका छैनन । पर्यटकको सिजन सुरु हुने बेलामै तेश्रो लहरको हल्ला चलेपछि विदेशी स्वतः पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । ‘संख्यात्मक हिसाबले खासै सुधार भईसकेको छैन । तरपनि पर्यटकको आगमनको रुची भने छ । पर्यटक आउन रुचाएका हुन, तर, उनीहरुमा एकखालको त्रास छ,’ उनले भने, ‘संक्रमण रहिरहेकोले पनि त्रास छाउनु स्वभाविक हो ।’ पहिले भन्दा अहिले हवाई उडान केही खुलिसकेको भएपनि सिमित उडानका कारण हवाई यात्रा महंगो पर्न जाँदा पनि सहज नभएको उनले बताए ।  

पर्यटन व्यवसायी भने डेढवर्षदेखि पर्यटक आगमन ठप्प जस्तै हुँदा अत्तालिन थालेका छन् । सन् कोरोना संक्रमणले गर्दा सन् २०२० को मार्चदेखि एकाएक पर्यटकको आगमनमा गिरावट आउन थालेपछि व्यवसायीले नोक्सान खेप्न थालेका थिए । २०२० को सुरुवातदेखि नै आगमन घट्दै गएको भएपनि मार्चदेखि भने एकाएक आगमन ओरालो लागेको थियो । सुरुमा व्यवसायीले केही महिना मात्र पर्यटन आगमन खस्कने अनुमान गरेका थिए । तर, अब भने लामो समय यसको असर रहने उनीहरुको भनाई छ ।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘अहिले  विदेशीको त आश थिएन, स्वदेशी पाहुना आउने अनुमान हो । तर, आन्तरिकको आगमनमा पनि अवरोध आईरहेको छ ।’ पर्यटन क्षेत्रले कोरोनाको पहिलो र दोश्रो लहरको मार खेपेको भएपनि अब तेश्रो लहरले पनि उत्तिकै मार पार्ने अवस्था रहेको उनको अनुमान छ । ‘अहिले विदेशीको आगमनको त आशै छैन, तर, आन्तरिक पाहुनाको आगमनमा केही सुधार हुन्थ्यो की भन्ने लागेको थियो,’ उनले भने, ‘तेश्रो लहरको त्रासले झनै अप्ठेरो पारेको छ । आन्तरिक पाहुनाको हिडडुल हुने बेलामा तेश्रो लहर आउने भनिएकोले पनि त्रास छाएको छ ।’  

यसअघि पहिलो लहर सकिएर दोश्रो लहर सुरु हुनुअघि २–३ महिना केही आन्तरिक पाहुनाको हिडडुल भएपनि अहिले पुन सुस्ताएको उनले बताए । ‘विदेशीहरु त चाहेर पनि आउन सक्दैनन । हामीकहाँ मात्र नभई उनै विदेशीको मुलुकमा पनि समस्या छ । विभिन्न मुलुकमा अझै पनि लकडाउन भइरहँदा विदेशी पनि घुमफिरमा निस्कन सकेका छैनन,’ उनले भने, ‘घुमघामका लागि निस्कन नपाएको भन्दै विदेशी अत्तालिएका छन । तर, अझै केही समय यो संक्रमण कमजोर हुने देखिन्न ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराई पर्यटनको अवस्था काबु बाहिर पुगेको बताउँछन । अनुमान पनि गर्न नसकिने गरि पर्यटन व्यवसाय थला परेको उनले बताए । ‘पर्यटन क्षेत्र कहिले चल्ने भन्ने नै भएन । हामीले अनुमान पनि गर्न सक्दैनौ,’ भट्टराईले भने, ‘यो बेला विदेशी पाहुना चाहेर पनि आउन सक्दैनन ।’ दुई खेपसम्म खोप लगाएका मुलुकमा पनि संक्रमण अझै डरलाग्दो हुँदै जाँदा पर्यटन व्यवसायीले पाहुना आगमनको आश गर्न नसक्ने उनले बताए । 

प्रकाशित: २४ श्रावण २०७८ १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App