स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले भदौ १ गतेभित्र चारवटै युनिटबाट ३०४ मेगाबाट बिजुली व्यापारिक उत्पादन गर्ने भएको छ। आयोजनाको तिनवटा युनिटबाट अहिले २२८ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडेर प्राविधिक परीक्षणको काम भइरहेको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाको तीन युनिटबाट उत्पादन भएको बिजुली प्राविधिक परीक्षण भइरहेको बताए। ‘पहिलो युनिटबाट उत्पादन भएको ७६ मेगावाट व्यापारिक उत्पादन साउन १६ गतेभित्रै गर्नेछ। त्यसको चार दिनपछि फेरि दोस्रो युनिटबाट व्यापारिक उत्पादन गर्ने कार्यतालिका तय गरेका छौं।’
कार्यकारी निर्देशक शाक्यले भदौ १ गतेसम्म आयोजनाको चारवटा युनिटबाट ३०४ मेगावाट बिजुली व्यापारिक उत्पादन गर्ने कार्ययोजना अनुसार काम भइरहेको बताए। ‘तामाकोसी आयोजनाले भदौ १ गतेदेखि ३०४ मेगावाट बिजुली व्यापारिक उत्पादन गर्नेछ,’ उनले भने, ‘त्यो बेलासम्म ६ वटै युनिटमा प्राविधिक परीक्षणको काम चल्नेछ।’ शाक्यले प्राविधिक परीक्षण र व्यापारिक उत्पादनलाई सँगसँगै अघि बढाउँदै लैजाने योजनासहित काम भइरहेको बताए।
‘यो आयोजनाको चारवटै युनिटबाट ३०४ मेगावाट बिजुली व्यापारिक उत्पादन भएसँगै भारतबाट वर्षायाममा पिकआवरमा आयात गर्ने बिजुलीको अंश निकै कम हुनेछ,’ उनले भने, ‘यो आयोजनाबाट सुक्यायामको पिकआवरमा पनि दैनिक चार घन्टा बिजुली उत्पादन गर्न सकिने भएकाले बिजुली आयात कटौतीमा निकै ठूलो सघाउ पुग्नेछ।’ प्राधिकरणले दुईदेखि तीन दिनभित्रै आयोजनाको चौथो युनिटको पनि प्राविधिक परीक्षण सुरु हुने जनाएको छ। प्राधिकरणले भदौभित्रै आयोजनाको ६ वटै युनिटबाटै बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २१ गते बालुवाटारबाटै यो आयोजनाको पहिलो युनिटको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडेर उद्घाटन गरेका थिए। प्रधानमन्त्री ओलीले बाँकी पाँच युनिटबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा नजोडिँदै उद्घाटन गरेका हुन्।
लक्ष्य ६ वर्ष, निर्माण हुन लाग्यो ११ वर्ष
बहुप्रतीक्षित यो आयोजनाको मुख्य सिभिल निर्माणको काम २०६७ भदौ १७ गते सुरु गरिएको थियो। तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६८ जेठ ४ मा आयोजनाको शिलान्यास गरेका थिए। प्रारम्भिक चरणमा यो आयोजना ६ वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।
२०७२ सालको भूकम्प र भारतीय नाकाबन्दीले काम २० महिना रोकियो। भूकम्पले भूमिगत मुख्य सुरुङको डिजाइन परिर्वतन गर्नुपर्दा काम तोकिएको समयमा पूरा हुन सकेन। अर्काेतर्फ आयोजनाको पेनस्टक पाइप जडान तथा आपूर्तिको काम गर्ने जिम्मेवारी पाएको भारतीय
कम्पनी टेक्स्म्याकोले ढिलासुस्ती गरेपछि २०७५ पुस २३ मा तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइयो।
एन्ड्रिजले पनि तोकिएको समयमै पेनस्टक पाइप जडान गर्न सकेन। कार्यकारी निर्देशक शाक्य प्राधिकरणले समयमै पेनस्टक पाइप जडान गर्न नसकेपछि ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गर्नुपर्नेमा सो गर्न नसक्दा आयोजना निर्माणमा केही वर्ष ढिला भएको बताउँछन्। २०७८ वैशाख १६ मा पेनस्टक र मुख्य सुरुङमा पानी खसालेर परीक्षण भयो। तर म्यानहोलबाट पानी चुहिएपछि मर्मतसम्भार गरियो। त्यसैगरी, लामोसाँघु चरिकोट सडक स्तरोन्नतिको कारण ढुवानीमा आएको समस्या, हाइड्रोमेकानिकल कार्यका ठेकेदारको कमजोर कार्यसम्पादन र कोरोना महामारी जस्ता कारणले आयोजनाको निर्माण कार्य झन् पछि धकेलियो।
यस्तो छ सेयर हिस्सा
यो आयोजनामा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत, राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, दोलखा जिल्लाबासीको १० प्रतिशत, कर्मचारी सञ्चय कोष, प्रधिकरण कर्मचारी लगायतको २४ प्रतिशत सेयर रहेको छ।
लागत दोब्बरभन्दा धेरै माथि
यो आयोजनाको सुरुवाती अनुमानित लागत व्याजबाहेक ३५ अर्ब २९ करोड रूपैयाँ थियो। तर निर्धारित समयभित्रै निर्माण नहुँदा लागत मात्रै ५२ अर्ब रूपैयाँ पुग्ने प्रक्षेपण गरिएको थियो। सुरुआती चरणमा आयोजनाको निर्माण अवधिको ब्याज १४ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएकोमा ढिलाइले थप १८ अर्ब बढेर ३२ अर्ब रूपैयाँ पुगेको छ। आयोजनाको कुल ब्याजसहित लागत ८४ अर्ब रूपैयाँ पुग्ने भएको छ।
प्रकाशित: १३ श्रावण २०७८ ०४:४१ बुधबार