८ वैशाख २०८१ शनिबार
अर्थ

सहकारीमा अपांगतामैत्री नगद काउन्टर निर्माण

रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित ठाडेमा रहेको ठाडे प्रगतिशील कृषि सहकारीमा निर्माण गरिएको अपांगतामैत्री नगद काउन्टर। तस्बिर : हिमनाथ/नागरिक

रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित ठाडेमा रहेको ठाडे प्रगतिशील कृषि सहकारीमा अपांगतामैत्री नगद काउन्टर निर्माण गरिएको छ। अपांगता भएका व्यक्तिहरूलाई सहकारीमा आएर आर्थिक कारोबार गर्न समस्या हुने भएकाले अपांगतामैत्री काउन्टर निर्माण गरिएको हो।  

गाउँपालिकाभित्र रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूमा अपांगतामैत्री काउन्टर स्थापना भएको छैन। यस सहकारीसम्म पुग्नका लागि अपांगतामैत्री बाटो समेत निर्माण गरिएको छ। यसले अपांगता भएका व्यक्तिलाई आर्थिक कारोबार गर्न सहयोग पुग्ने सहकारीका अध्यक्ष नुर्पुछिरिङ तामाङले बताए।  

रसुवा अपांग पुनर्स्थापना केन्द्र, नेपालसँगको साझेदारीमा काउन्टर स्थापना गरिएको सहकारीले जनाएको छ। काउन्टर स्थापनाका लागि केन्द्रले १ लाख ४० हजार ६ सय १६ रुपैयाँ सहयोग गरेको छ। केन्द्रले ह्याण्डीक्याप इन्टरनेशनल (एचआइ) को सहयोगमा आर्थिक सहयोग गरेको हो।

सहकारीमा अपांगता भएका व्यक्तिहरूको पहुँच पुर्‍याउनका लागि काउन्टर स्थापना गरिएको हो। सहकारीमा हाल अपांगता भएका २ जना सदस्य छन्। केन्द्रले थप १० जना अपांगता भएका व्यक्तिलाई सहकारीको सदस्य बनाउन सहयोग गर्नेछ।  

हाल केन्द्रले एचआइको सहयोगमा स्वास्थ्य र सामाजिक सुरक्षामा अपांगता भएका महिलाहरू र बालबालिकाहरूको पहुँचमा सहजीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ। जीविकोपार्जन सेवा प्रदायक संस्थालाई अपांगतामैत्री बनाउने परियोजनाको उद्देश्यअनुरूप सहकारीमा अपांगतामैत्री काउन्टर निमार्ण गरिएको केन्द्रका कार्यक्रम अधिकृत छिरिङ लामाले बताए। परियोजना अन्तर्गत केन्द्रले जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सामाजिक सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ।

सहकारीमा अपांगतामैत्री संरचना निर्माण गर्नका लागि गोसाइँकुण्ड गाउँपालिकाले पनि आर्थिक तथा प्राविधिक सहयोग गरेको छ। गाउँपालिकामा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये यो सहकारीको आफ्नै भवन रहेको र अपांगतामैत्री समेत भएकाले दीर्घकालसम्म चलायमान बनाउनका लागि स्थानीय तहले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।  

त्यसैगरी सहकारीको काउन्टर बने लगत्तै गोसाइँकुण्ड गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारी खेती (काउली) पकेट क्षेत्र विकास गर्नका लागि कुलो मर्मत, प्लाष्टिक पोखरी निर्माण गर्न ६ लाख ९२ हजार ६ सय ५ रुपैयाँ बजेट दिएको छ।  

यो सहकारी २०७० सालमा स्थापना भएको हो। हाल सहकारीमा ८३ जना सदस्य छन्।

प्रकाशित: २७ असार २०७८ १२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App