३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

१४ अर्बभन्दा बढीको आइपिओ पाइपलाइनमा

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बिहीबार ६४ करोड ५० लाख रूपैयाँको साधारण सेयरको (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ। अरू थुप्रै कम्पनीहरू निकट भविष्यमै सेयर निष्कासनको तयारीमा छन्।  

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा विभिन्न १८ कम्पनीलाई आइपिओ ल्याउने अनुमति दिइसकेको छ। अनुमति पाइसकेका कम्पनीले चाँडै सार्वजनिक निष्कासनको तयारी गरेका छन्।  

अनुमति पाएका कम्पनीले १४ अर्ब ३४ करोड रूपैयाँभन्दा बढीको सेयर निष्कासनको तयारी गरेका छन्। निकट भविष्यमै साधारण सेयर जारी गर्ने तयारीमा तेह्रथुम पावर, मध्यभोटेकोसी जलविद्युत् लगायत छन्।  

एक वर्षमा दोब्बर भयो डिम्याट खाता

एक वर्षको अवधिमा सेयर कारोबारका लागि डिम्याट खाता खोल्नेको संख्या दोब्बरले बढेको छ। धितोपत्र बोर्डका अनुसार २०७७ असारमा १७ लाख रहेको डिम्याट खाता अहिले ३५ लाख पुगेको छ। त्यस्तै, सात लाखको हाराहारीमा रहेको मेरो सेयर खाताको संख्या सोही अवधिमा बढेर २६ लाख पुगेको छ।  

उता अनलाइन कारोबार गर्न युजर आइडी लिनेको संख्या करिब सात लाख पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। असारमा मात्रै ३५ हजारले युजर आइडी लिएका छन्।  

पछिल्लो समयमा सेयर कारोबारप्रति सर्वसाधाणको चासो बढ्दै गएको छ। अघिल्लो वर्षसम्म पाँच/सात लाखले प्राथमिक सार्वजनिक निष्कासनमा भाग लिने गरेकामा अहिले २१ लाख हाराहारीमा आवेदन पर्ने गरेको छ। अघिल्लो साता जीवन विकास लघुवित्तको आइपिओमा २० लाख ८४ हजारभन्दा बढीले आवेदन दिएका छन्।  

यसअघि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आएपिओमा साढे १८ लाखले आवेदन दिएका थिए। बोर्डका अनुसार चालु आर्थिक वर्षको १० महिनामै धितोपत्रको प्राथमिक बजारमार्फत ७८ अर्ब रूपैयाँ बराबरको पुँजी परिचालन भएको छ। चालु आवमा पूर्वाधार विकास बैंक, रिलायन्स लाइफ इन्स्योरेन्स, सिंगटी, ग्रिन लाइफ, सिइडिबी हाइड्रोपावर लगायतले आइपिओ जारी  गरिसकेका छन्।  

दोहोरो अंकले बढ्यो नेप्से

केही दिनदेखि निरन्तर घट्दो क्रममा रहेको सेयर बजार साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले बढेको छ। यस दिन सेयर बजार मापक परिसूचक नेप्से २३.७६ अंकले बढेर २८२४.८९ बिन्दुमा पुगेको छ। यस दिन व्यापार र अन्य बाहेक सबै समूह बढेका छन्।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.४१ ले बढेको छ। दुई सयभन्दा बढी कम्पनीका एक करोड ३१ लाख ४३ हजार दुई सय ४० कित्ता सेयर किनबेच हुँदा चार अर्ब ८१ करोड ५५ लाख २० हजार दुई सय ९४ रूपैयाँको कारोबार भयो।  

प्रकाशित: २५ असार २०७८ ०५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App