१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बेनी–जोमसोम सडक ध्वस्त

गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक खण्ड पहिरो र कालीगण्डकी नदीको कटानले छियाछिया परेको छ।  

सोमबारदेखि लगातार भइरहेको भीषण वर्षाजन्य पहिरो र कटाले विस्तार र स्तरोन्नति क्रममा रहेको सडक क्षतविक्षत भएको छ। अन्नपूर्ण गाउँपालिका–२, भुरूङ तातोपानीमा बिहीबार राति कालीगण्डकीले ट्र्याक समेत नरहने गरी कटान गरेकाले पहिलेकै अवस्थामा फर्किन समय लाग्ने देखिएको छ भने दानाको रुप्से झरना र मुस्ताङको सिमाना काभ्रेभीर आसपासमा समेत पहिरोले जोखिम बढाएको छ।  

‘बाढीपहिरो र कटानले सडक बिग्रिएको छ, मर्मत गर्न निकै समय लाग्ने देखिन्छ,’ भुरूङ तातोपानीका पर्यटन व्यवसायी अमृतमान शेरचनले बताए। कालीगण्डकीले हरेक वर्ष धार परिवर्तन गर्दा सडकमा क्षति हुने गरेको छ।

सडक खण्डमा रहेका दर्जनौं ठाडो खोलाको कटानले समेत चुनौती थपिँदै गएको छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन गर्बुजाले यस वर्ष बर्खाअघि नै कालीगण्डकी नदी उर्लेर आउँदा मुख्य सडक नै छियाछिया भएको बताए। ‘अहिलेसम्मकै बढी पानी परेको अनुमान छ। भदौ महिनासम्म सडकमा धेरै समस्या झेल्नुपर्छ,’ अध्यक्ष पुनले भने।  

माथिल्लो भेगमा भीषण वर्षा हुँदा नदीको बहाव बढेर बस्ती र सडक कटान गर्ने गरेकाले बेनी–जोमसोम–कोरला सडक आयोजना र ठेकेदार कम्पनीलाई समेत मर्मतमा समस्या हुने गरेको छ।  

सडक विस्तारको काम भइरहँदा पहिरो र कटानले सडक ध्वस्त भएपछि मर्मतमा दुवै जिल्लामा प्रजिअले पहल गरे पनि दैनिकजसो हुने वर्षाले समस्या भइरहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ। भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावटकै कारण बाढीपहिरो र कटान हुने गरेको छ। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटरको सडक खण्ड अन्तर्गत सबैभन्दा जोखिमपूर्ण म्याग्दीको दानादेखि मुस्ताङको घाँसासम्म पर्छ।  

बर्खाको समयमा यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। असारदेखि भदौसम्म बेनी–जोमसोम नियमित र सिधा सञ्चालनमा आउने सम्भावना न्यून रहेको प्राविधिक बताउँछन्। पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्ड सहित जिल्लाका ग्रामीण क्षेत्र जोड्ने अधिकांश सडक अवरुद्ध छ।

प्रकाशित: ६ असार २०७८ ०५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App