१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

गण्डकीको नीति तथा कार्यक्रममा पर्यटनः ‘गोल्डेन ट्र्यांगल’ दुई दशकअघिकै अभ्यास

पर्यटकीय क्षेत्र पोखरा। फाइल तस्बिरः नागरिक

सोमबार सार्वजनिक आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रममा गण्डकी प्रदेश सरकारले पोखरा–काठमाडाैं–लुम्बिनीलाई गौतमबुद्ध स्वर्णिम त्रिकोण (गोल्डेन ट्र्यांगल) को रूपमा विकास गर्न संघीय र अन्तरप्रदेश सरकारको सहकार्यलाई निरन्तरता दिने उल्लेख छ।  

प्रदेश प्रमुख सीताकुमारी पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटनमा ‘गोल्डेन ट्र्यांगल’को विकास गर्ने बताइन्। प्रदेश प्रमुखले पोखरा–काठमाडौं–लुम्बिनीलाई ‘गोल्डेन ट्र्यांगल’को रूपमा विकास गर्ने बताए पनि यो रुट प्रवर्द्धनको प्रयास वर्षाैं अघि नै भएको थियो। यसलाई पर्यटन व्यवसायीले निकै प्राथमिकता दिएर प्रवर्द्धन गरेका थिए। व्यवसायीले पोखरा–काठमाडौं–चितवनलाई मात्र ट्र्यांगलमा समेटेका थिए। सरकारले नीति तथा कार्यक्रममार्फत लुम्बिनीलाई जोडेको छ।  

पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटा भन्छन्, ‘यो नयाँ अवधारणा होइन। दुई दशकदेखि पोखरा–काठमाडौं–चितवनलाई हामीले ‘गोल्डेन ट्र्यांगल’ भनेर प्याकेज बनाएर पर्यटकलाई बेच्दै आएका थियौं। सरकारले अहिले चितवन हटाएर लुम्बिनीसम्म पुर्‍याएको मात्र हो। लुम्बिनी पुर्‍याउँदा चितवन आफैं समेटिने भएकोले खासै समस्या नहुने उनले बताए।  

प्रदेश प्रमुखले पोखरा–काठमाडौं–लुम्बिनीलाई ‘गोल्डेन ट्र्यांगल’को रूपमा विकास गर्ने बताए पनि यो रुट प्रवर्द्धनको प्रयास वर्षाैं अघि नै भएको थियो। यसलाई पर्यटन व्यवसायीले निकै प्राथमिकता दिएर प्रवर्द्धन गरेका थिए। व्यवसायीले पोखरा–काठमाडौं–चितवनलाई मात्र ट्र्यांगलमा समेटेका थिए।

‘पर्यटकको बढी आउजाउ र चीरपरिचित रुट भएकोले हामीले त्यो बेला प्याकेज बनाएर बेचेका थियौं,’ सापकोटा भन्छन्, ‘अहिले पनि यो रुटको महत्व छ।’ व्यवसायीले दुई दशकअघि यो ट्र्यांगलको प्याकेज बेच्न थाल्दा लुम्बिनी उतिसारो विकसित भइसकेको थिएन। निकै कम मात्रामा विदेशी लुम्बिनी पुग्थे। ‘लुम्बिनी जोड्नु राम्रो हो, अब प्रवर्द्धनमा चासो भने दिनुपर्छ,’ उनले भने।  

सापकोटाका अनुसार त्यो बेला पर्यटक निकै कम समयका लागि नेपाल आउँथे। पदयात्रामा गएका पर्यटक पदयात्रा सकेर बचेको समय पोखरा, चितवन र काठमाडौं घुमेर फर्किन्थे। त्यही भएर यो रुट निकै चल्तीमा रहेको सापकाटाले बताए। ‘यो रुटलाई सरकारले नै सम्बोधन गरेको पहिलोपटक हो। यसको विकास गर्न सकेको खण्डमा पर्यटनमा सहज हुन्छ,’ सापकोटाले भने, ‘अहिले पनि यही रुटमा आउजाउ सहज छ। ऊ बेला व्यवसायीले यो रुटका लागि एक साताको प्याकेज बनाएका थिए।

अर्का व्यवसायी बासु त्रिपाठी ‘गोल्डेन ट्र्यांगल’को नामले भारतमा पनि पर्यटकीय गन्तव्य विकास गरिएको बताउँछन्। भारतमा दिल्ली–जयपुर र आग्रालाई गोल्डेन ट्र्यांगल भनेर प्रवर्द्धन गरिएको छ। उनका अनुसार काठमाडौं, पोखरा र चितवनलाई त्यो बेला गोल्डेन ट्र्यांगल, पोखरा, चितवन र लुम्बिनीलाई ‘सिल्भर ट्र्यांगल’ र पोखरा मनाङ र डोल्पालाई एडभेन्चर ट्र्यांगल भनिएको थियो।

यसले नेपालका मुख्य तीनवटा विमानस्थल (काठमाडौं, पोखरा र लुम्बिनी) लाई छुने भएकोले गोल्डेन ट्र्यांगलभन्दा उपयुक्त हुने उनले बताए। उनका अनुसार चितवन जंगलका गतिविधिका लागि र लुम्बिनी बौद्ध धार्मिक पर्यटकीय केन्द्र भएकोले ती गन्तव्यमा जाने पर्यटक केही पृथक छन्। पोखरा र काठमाडौं सबै प्रकारका पर्यटकका लागि मिल्ने गन्तव्य भएकोले जो कोही आउजाउ गर्न सक्ने उनले बताए।

ट्र्यांगलको यो अवधारणा निकै नै राम्रो भए पनि विगमा सरकारले चासो नदिएको उनको बुझाइ छ। ‘पर्याप्त बजेट दिएर यो रुटको प्रवर्द्धन गर्न सके पर्यटनमा राम्रो हुन्छ। नीति निर्माताले त्यो अवसर दिँदैनन्,’ त्रिपाठीले भने, ‘जबकि पर्यटनबारे नीति बनाउँदा पर्यटन व्यसायीसँग छलफल समेत हुँदैन।’  

नीति तथा कार्यक्रममा गण्डकी प्रदेशलाई नेपालको मुख्य पर्यटन केन्द्रबिन्दु र पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख छ। त्यसैगरी, अन्नपूर्ण, धौलागिरी र मनास्लु चक्रीय पदमार्ग तथा अन्य पर्यटकीय गन्तव्यमा पदमार्ग निर्माण, स्तरोन्नति र सौन्दर्यीकरण गर्ने कार्यलाई निरन्तरता दिने योजना छ। प्रदेशभित्रका मुख्य उपत्यका (भ्याली) को एकीकृत विकासको लागि बृहत्तर परियोजना सञ्चालन गर्न संघ र स्थानीय तहसँग सहकार्य गरिने छ। त्रिवेणी, देवघाट, केलादीघाट, राम्दीघाट, रुद्रवेणी, शालिग्राम, बागलुङ कालिका, पञ्चकोट, बराह, गलेश्वर, मुक्तिनाथ, दामोदरकुण्ड, विन्ध्यवासिनी पोखरा, करापुटार, व्यास दमौली, छिम्केश्वरी, गोरखकाली, मनकामना जोड्ने धार्मिक परिपथ विकास गर्ने योजना नीतिमा समेटिएको छ।  

प्रदेशका मुख्य पर्यटकीय गन्तव्यमा पर्यटकीय होटलको विस्तार तथा सञ्‍चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने छ। प्रदेश राजधानी पोखरालाई देशका प्रमुख सहरहरूसँग हवाई सेवाले जोड्ने नीति अन्तर्गत भैरहवा, विराटनगर, भरतपुर र नेपालगन्जमा सिधा हवाई सेवा सञ्‍चालनलाई निरन्तरता दिइने छ। भद्रपुर, सिमरा, जनकपुर, जुम्ला र धनगढीमा सिधा हवाई सेवा सञ्‍चालन गर्न निजी क्षेत्रलाई सहजीकरण गरिने पनि नीतिमा समेटिएको छ।  

विश्व शान्ति जैविक विविधता उद्यान, विश्वशान्ति स्तुप, पुम्दी/भुम्दीकोट, भञ्ज्याङ हुँदै भदौरेसम्म जैविक तथा पर्यटकीय पदमार्ग निर्माण कार्य अगाडि बढाइने छ। गुणस्तरीय पर्यटनमा जोड दिई आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विदा पर्यटन कार्यक्रमलाई निरन्तरता दिइने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

प्रकाशित: १ असार २०७८ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App