१६ चैत्र २०८० शुक्रबार
अर्थ

तटबन्धन भत्काएरै राप्ती दोहन

तस्बिर: गढवा गाउँपालिका स्थित राप्ती नदीको उत्खनन्मा प्रयोग गरिएका टिप्पर र डोजरहरु। तस्बिर सौजन्य: निशान भट्टराई

प्राकृतिक स्रोत साधन उपभोगको अधिकार टेक्दै गढवा गाउँपालिकाले वडा नम्बर ५ स्थित राप्ती नदीको ‘धरमपुर घाट’ मा उत्खनन्को ठेक्का खोल्यो। मापदण्ड अनुसार उत्खनन् गर्ने सहमती भएबमोजिम ठेकेदारले मेशिनरी औजार प्रयोग गर्न पाउँदैनथे। उत्खनन्को सिमित गहिराई तोकेर मात्रै उत्खनन् गर्नु पर्ने अर्को अनिवार्य सर्तपनि हो। तर ठेकेदारले राप्तीमा उत्खनन्को दोहन लीलानै मच्चाईदिए। फलतः गाउँलेहरु उत्खनन्को काम रोक्न नदीमै गईपुगे। बिहिबार गाउँलेहरुले उत्खनन्को काममा अबरोध पुर्‍याए।  

ठेकेदारले उत्खननकैलागि तटबन्धननै भत्काईदिए। जनताको तटबन्धन कार्यालयले निर्माण गरेको तटबन्धन भत्काएर उनिहरुले उत्खननकालागि नदी सम्म पुग्ने बाटो निर्माण गरे। ‘हाम्रो जग्गा जमिन कटानबाट बचाउनका लागि जनताको तटबन्धनको कार्यालयले बनाएको तटबन्धननै भत्काएर उत्खनन् गरे,’ एक स्थानीयले भने ‘ उनिहरुले तटबन्धननै भत्काएर राप्ती नदी सम्म डोजर, टिप्पर पुग्ने बाटो निर्माण गरेका छन्।’  

यसैगरि राप्ती नदीमा ठूल्ठूला खाल्डा खनेरै उत्खनन् गरिएका कारण धरमपुर गाउँनै जोखिममा परेको छ। त्यहाँ मापदण्ड मिचेरै ठेकेदारले ठूल्ठूला खाल्डा खनेका छन्। ‘राप्ती नदीको घाटमै ठूल्ठूला खाल्डा खनेर हाम्रो गाउँलाई नै असुरक्षित पार्ने काम गरिएको छ,’ ति स्थानीयले भने ‘यस्तो मनपरि उत्खनन्ले हामीहरुलाई उठिबास लाग्ने खतरा बढेको छ।’

यसैगरि धरमपुर गाउँको नदी क्षेत्रमा उत्खनन् गर्नु पर्ने ठेकेदारले पूर्व तर्फको मघवार गाउँ सम्म पुगेर उत्खनन् गरेका छन्। सम्झौता भएको ठाउँ भन्दा फरक ठाउँमा उतखनन् गरेर मघवार गाउँका नागरिकलाई समेत असुरक्षित पारेको भन्दै यो गाउँका सर्वसाधारणहरु पनि बिहिबार आन्दोलनमा उत्रिएका थिए। ‘उत्खनन् गर्नुपर्ने धरमपुर गाउँको घाट राप्ती नदीमा हो,तर हाम्रो गाउँको घाटमै पुगेर पनि उनिहरुले उत्खनन् गर्न थाले,’ मघवार गाउँका एक स्थानीयले भने ‘हाम्रो गाउँ नजिकै अब नखन्ने भनेर ठेकेदारले बाचा गरेका छन्।’ उत्खनन् ठेक्का लगाएको गढवा गाउँपालिकाले पनि ठेकेदारबाट बद्मासी भएको दाबी गर्छ।

गाउँपालिकाका अध्यक्ष सहजराम यादवले तटबन्ध नै भत्काएर उत्खनन् गर्नु जायज नभएको भन्दै मापदण्ड भन्दा बढिनै ठूला खाल्डा खनेर उत्खनन् गरिएको स्वीकारे। ‘तटबन्धननै भत्काएका रहेछन्, तर मैले सुनेको त्यो तटबन्धन पछि निर्माण गरिदिने भन्ने गाउँलेहरुसंग सहमती भएको हो अरे,’ गाउँपालिका अध्यक्ष यादवले भने ‘तर त्यहाँ मेशिनरी औजार प्रयोग गरेर ठूल्ठूला खाल्डा बनाईएका छन्, यो बद्मासी हो।’ गढवा ५ मा मात्रै हैन, देउखुरीमा पर्ने राप्ती नदी भरी अहिले छपक्कै टिप्पर र डोजर देखिन्छन्। उनिहरुले अनियन्त्रीत रुपमा राप्ती नदीको दोहन गरिरहेका छन्। त्यो पनि बिकासे आयोजनानै ध्वस्त पारेर उत्खनन्मा संलग्नहरुले अनियन्त्रीत दोहन गरिरहेका छन्।  

गत बर्ष राप्ती गाउँपालिकको भालुवाङ स्थित राप्ती नदीमा उत्खनन् चल्दा स्थानीयले आन्दोलनै गरे। देउखुरीको खेतियोग्य सिँचाईका लागि निर्माण गरिएको प्रगन्ना बड्कापथ सिँचाई आयोजनाको मुहान त्यहिँ भालुवाङमै पर्छ। त्यो बेला ठेकेदारले यो आयोजनाको तीनवटै मुहान नजिक उत्खनन् गर्न थाले। स्थानीयहरुले बिरोध गरेर त्यो उत्खनन्को काम ढिलै भएपनि रोकियो। यो बर्ष पनि स्थानीयहरुले स्थानीय सरकार समक्ष यि तीन मुहान आसपासमा उत्खनन् ठेक्का नलगाउन अनुरोध गरे। मुहान नजिकै उत्खनन् गरे पानीको सतहत ल जाने र सिँचाई आयोजनाको नहरमा पानी  नचढ्ने भएकाले यसो नगर्न उनिहरुले अनुरोध गरेका थिए।

तर अहिले पनि गाउँपालिकाले उहि स्थानमै ठेक्का लगायो। जहाँ आयोजनाका तीनटा मुहान छन्। ‘आयोजनाका तीनवटै मुहान नजिकै उत्खनन् गरिएका बडेमानका खाल्डै खाल्डा छन्,’ स्थानीय टंकनाथ चौधरीले भने ‘खाल्डो पारिएका कारण पानीको सतह अब तल जाने निश्चित छ, किसानहरुको खेतबारीमा पानी सिँचाईका लागि बनाईएका नहर सुख्खा हुने उच्च सम्भावना रहेको छ।’  

उनका अनुसार ठेकेदारले अहिले त्यहाँ रातभर अनियन्त्रीत उत्खनन् गरिरहेका छन्। ठेक्का अवधि भने त्यहाँ सकिईसकेको हो। तर सम्झौता अनुसारको परिमाण निकाल्न नपाईएको भन्दै ठेकेदारले अहिले जथाभावी दोहन गरिरहेका छन्। ‘यहाँको उत्खनन् ठेक्का सकिईसकेको हो, तर ठेक्का अनुसारको क्वान्टिटी नपुगेको भनेर ठेकेदारले जथाभावी दोहन गरिरहेका छन्,’ उनले भने ‘राप्ती नदिलाई त सखापै पारिएको छ।’  

राप्ती र गढवा संगै देउखुरीमा पर्ने लमही नगरपालिका र राजपुर गाउँपालिकाले पनि राप्तीमा ठेक्का लगाएका छन्।  निश्चित मापदण्ड तोकेर उत्खनन् ठेक्का लगाईएको भएपनि उत्खनन्मा भने कुनै मापदण्ड अपनाईएको भने छैन। ठेकेदारहरले मनपरि डोजर प्रयोग गरेरै राप्तीको दोहन गरिरहेका छन्। ‘जहिल्यै बिबाद हुने बेला गढवा गाउँपालिकाको ठेक्कामा हुन्छ, तर देउखुरीमा रहेका सबै स्थानीय तहहरुको उत्खनन् उस्तै हो,’ गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने ‘डोजर एक्सकाभेटर राप्तीको कुन ठाउँमा छैन ?’ जेठ अन्तिम सम्म मात्रै उत्खनन्को सम्झौता हुने भएकाले ठेकेदारहरुले अहिले दिनरात जथाभावी उत्खनन् गरिरहेका छन्। सैयाैं टिप्प र डोजर छपक्कै नदीमा झारेका उनिहरुले सकेजति लाभ उठाउने दाउमा देखिन्छन्।

प्रकाशित: २७ जेष्ठ २०७८ १३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App