४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वाणिज्य बैंकहरूको प्रतिफल घट्यो

कोरोना महामारीका कारण वाणिज्य बैंकहरूको रिटर्न अफ इक्विटी (आरओई) घटेको छ। आरओई भनेको सेयरधनीले पाउने लगानीको प्रतिफल हो।  

बैंकरहरूका अनुसार कोरोना महामारीमा व्यवसाय राम्रो हुन नसक्दा आरओई घटेको हो। गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा बैंकहरूको आरओई औसतमा ०.५९ प्रतिशत बिन्दुले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।  

गत आवको चैत मसान्तसम्म बैंकहरूको औसत आरओई १४.४० प्रतिशत थियो। चालु आवको सोही अवधिमा भने आरओई १३.५४ प्रतिशत छ। पछिल्लो अवधिमा १३ बैंकको आरओई घटेको छ। अन्य बैंकको आरओई केही बढेको देखिए पनि त्यो निकै थोरै छ।  

यस अवधिमा आरओई सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको ५.१६ ले र सबैभन्दा कम सानिमा बैंकको ०.२४ प्रतिशतले बढेको छ। पछिल्लो हिसाब अनुसार कुनै लगानीकर्ताले वाणिज्य बैंकमा एक सय रूपैयाँ लगानी गर्दा चालु आवको चैत मसान्तसम्मको नाफाबाट १३ रूपैयाँ ५४ पैसाको प्रतिफल पाउने देखिन्छ।  

अघिल्लो आवको सोही अवधिमा एक सय रूपैयाँ लगानी गरेबापत पाउने प्रतिफल १४ रूपैयाँ ४० पैसा थियो। सामान्यतयाः बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने लगानीकर्ताले १५ देखि २० प्रतिशतसम्म प्रतिफल पाउने अपेक्षा गरेका हुन्छन्। सोही अुनपातमा आरओई हुने बैंकलाई राम्रो आम्दानी भएको मानिन्छ।  

चालु आवको चैत मसान्तसम्म १६ वाणिज्य बैंकको आरओई १५ प्रतिशतभन्दा कम छ। जसमा पाँच वाणिज्य बैंकको १० प्रतिशतभन्दा कम छ। ११ बैंकको १५ प्रतिशतभन्दा धेरै छ। राष्ट्र बैंकका अधिकारीहरूले भने आर्थिक वर्षको अन्त्यसम्म आरओई केही बढ्ने अनुमान गरेका छन्।  

पहिलो लहरको कोरोना महामारीको तुलनामा दोस्रो लहरमा त्यति धेरै असर नपरेकाले आरओई वृद्धि हुने अपेक्षा गरिएको उनीहरूको भनाइ छ। कोरोना महामारी नियन्त्रण गर्न सरकारले २०७६ चैतदेखि २०७७ असोजम्म लकडाउन गरेको थियो।  

त्यस्तै, दोस्रो लहरको महामारीका कारण वैशाख १६ पछि निषेधाज्ञा छ। दोस्रो लहरको महामारी नियन्त्रणउन्मुख भएकाले चाँडै काम गर्न सहज हुने बैंकरहरू बताउँछन्। ‘अनुभवको कमी भएकाले पनि होला पहिलो लकडाउनमा काम गर्न धेरै कठिन भएको थियो,’ एक बैंकरले भने, ‘अहिले निषेधाज्ञा जारी रहे पनि बिग्रने गरी त्यत्ति धेरै काम रोकिएका छैनन्।’  

मंसिरपछि बैंकहरूको नाफा बढ्न थालेको बताइएको छ। ‘गत वर्षको चैतदेखि कात्तिकसम्मको अवस्था कायम भएको भए त कैयन बैंक यतिखेर नोक्सानीमा गइसकेका हुन्थे,’ उनले भने, ‘पछिल्लो हेर्दा कम्तीमा त्यो सम्भावना भने देखिँदैन। सबै बैंकहरूले आम्दानीका लागि कुनै न उपाय फेला पारेका छन्।’  

बैंकहरूले मंसिरपछि कर्जा लगानीलाई जोड दिएका छन्। वित्तीय प्रणालीमा दुई सय अर्ब रूपैयाँभन्दा बढी पुगेको तरलता निकै घटेको छ। वैशाख अन्तिम सातासम्म ३० अर्ब रूपैयाँ भन्दा कम तरलता झरेको थियो। पुनः आर्थिक वर्ष सकिन थालेपछि तरलता बढ्न थालेको बैंकरहरू बताउँछन्। नेपालमा आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका काम हुने भएकाले वर्षको अन्त्यमा नै वित्तीय प्रणालीमा धेरै निक्षेप आउने गर्छ।  

यता चालु आर्थिक वर्षको चैत मसान्तमा गत आवको सोही अवधिको तुलनामा खुद नाफा भने १३.५० प्रतिशतले वृद्धि भएको छ। नाफा बढे पनि बैंकहरूको चुक्ता पुँजी बढ्दा आरओई घटेको हो। चैत मसान्तसम्म वाणिज्य बैंकहरूले ५० अर्ब ७४ करोड रूपैयाँ खुद नाफा गरेका छन्। गत आवको सोही अवधिमा बैंकहरूको नाफा ४४ अर्ब ७० करोड रूपैयाँ थियो। बैंकहरूले लगानी अनुपातामा गरेको नाफाको सूचक आरओई हो।

राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीका लागि वितरणयोग्य नाफाको ३० प्रतिशत नगद लाभांश र बाँकी बोनस सेयर जारी गर्न पाउने व्यवस्था गरेको छ। सोही व्यवस्थाका कारण बैंकहरूले बोनस सेयर जारी गर्दा सेयर संख्या बढेर चुक्ता पुँजी वृद्धि भई आरओई गत वर्षको तुलनामा कम हुन पुगेको बैंकरहरूको भनाइ छ। यस अवधिमा बैंकहरूको चुक्ता पुँजी १६.४५ प्रतिशतले वृद्धि भएर पाँच खर्ब ४० अर्ब रूपैयाँ पुगेको छ।

प्रकाशित: २५ जेष्ठ २०७८ ०५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App