७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

वाणिज्य बैंकको निक्षेप र कर्जा वृद्धि जारी

केही महिनादेखि नै निक्षेप संकलन र कर्जा लगानी वृद्धि गरिरहेका बेला वाणिज्य बैंकहरूले निषेधाज्ञामा पनि सोही क्रमलाई जारी राखेका छन्।  

नेपाल बैंकर्स संघले सोमबार दिएको जानकारी अनुसार अघिल्लो साताको तुलनामा सबै वाणिज्य बैंकहरूले पछिल्लो एक सातामा निक्षेप संकलन १० अर्ब र कर्जा लगानी १५ अर्ब रूपैयाँले बढाएका छन्।  

वैशाख १६ देखि कोरोना महामारी नियन्त्रणका लागि देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाले यतिखेर बैंकका कर्मचारीले राम्रोसँग काम गर्न पनि पाएका छैनन्। अधिकांश बैंकका कर्मचारीले घरबाटै काम गरिरहेका छन्।  

सोही अवधिमा पनि बैंकले निक्षेप संकलन र लगानीलाई जोड दिइरहेको सोही विवरणबाट देखिन्छ। पछिल्लो समयको वृद्धिसँगै बैंकहरूले वैशाख २४ सम्म ३९ खर्ब ३३ अर्ब रूपैयाँ निक्षेप संकलन गरी ३६ खर्ब नौ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्। बैंकहरूले गत वैशाख १७ सम्ममा ३९ खर्ब २३ अर्ब रूपैयाँ संकलन गरेका थिए भने त्यतिबेलासम्म ३५ खर्ब ९४ अर्ब रूपैयाँ कर्जा लगानी गरेका थिए।  

२७ बिन्दुले बढ्यो नेप्से

यसैबीच, सोमबार सेयर बजार मापक परिसूचक नेप्से २७.४१ बिन्दुले वृद्धि भएर २६४५.८४ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स ४.३५ ले बढेर २७५.१२ बिन्दु कायम भएको छ। यस दिन २१८ कम्पनीको ७५ लाख ७९ हजार ३ कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब २० करोड ३८ लाख रूपैयाँ बराबरको कारोबार भयो।  

यस दिन राष्ट्रिय बिमा कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक एक हजार सात सय ५० रूपैयाँले वृद्धि भई १९ हजार दुई सय ५० रूपैयाँ पुगेको छ। उक्त कम्पनीको संस्थापक समूहतर्फको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ। 

प्रकाशित: २८ वैशाख २०७८ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App