coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अन्योलमा स्वास्थ्य बिमा

कम्पनीहरूले हालसम्म १९ लाख  बढी कोरोना बिमा लेख बिक्री गरेका छन्। जसमध्ये ६० हजार पाँच सय ८७ जनालाई पाँच अर्ब ८५ करोड रूपैयाँ भुक्तानी भइसकेको छ भने अब ५१ हजार जनालाई भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ।  

विश्वका अधिकतर मुलुकका बिमा कम्पनीहरूले कुनै पनि महामारीको बिमा गरेको देखिदैन। नेपालमा पनि गत वर्ष कोभिड १९ को बिमा गर्ने वा नगर्ने भन्नेबारे सुरुमा निकै विवाद भयो। अन्ततः सरकारको दबाबमा बिमा कम्पनीहरू कोरोना बिमाको पोलिसी जारी गर्न बाध्य भए। अहिले यही बिमा समस्यामा छ। बिमा कम्पनीहरूले करिब १० अर्ब रूपैयाँ बिमा भुक्तानी गर्नुपर्ने देखिएको छ।  

बिमा कम्पनीका सञ्चालकहरू महामारीमा आम सर्वसाधारणको बिमा लेख जारी गर्न पाउनु राम्रो पक्ष भए पनि आगामी दिनमा यस्ता समस्यामा के गर्ने भन्नेबारे अन्योल देखिएको बताउँछन्। जबरजस्त बिमा गराउँदा भुक्तानीमा समस्या आएर समग्र बिमा क्षेत्र नै बदनाम हुने उनीहरू बताउँछन्।  

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पिसिआर र उपचार खर्च सरकारले बेहोरिहेको अवस्थामा कोरोना बिमाबारे प्रश्न उठाएका थिए। मेलम्ची खानेपानी आएको दिन बोल्दै ओलीले अबदेखि कोरोना बिमाले निरन्तरता नपाउने बताएका थिए।  

चार अर्ब सरकारको थाप्लोमा

कोरोना बिमा भुक्तानीको दायित्व सरकारले चार अर्ब रूपैयाँ बहन गर्नुपर्ने देखिएको छ। कोरोना बिमा दाबी भुक्तानी सम्झौता अनुसार साढे तीन अर्ब रूपैयाँमाथिको भुक्तानी दायित्व सरकारमा छ। हालसम्म कोरोना बिमा गरेकामध्ये ६० हजार पाँच सय ८७ ले पाँच अर्ब ८५ करोड रूपैयाँ भुक्तानी भएको बिमा समितिले जनाएको छ। अझै ५१ हजारलाई भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ।  

बिमा कम्पनीहरूले हालसम्म १९ लाख बढी कोरोना बिमा लेख बिक्री गरेका छन्। कोरोनाबाट प्रभावित हुनेको विवरण संकलन हुने क्रम अझै जारी रहेकाले दाबी भुक्तानी बढ्न सक्ने अनुमान गरिएको छ। अहिलेसम्म भुक्तानी गरिएको रकम बिमा कम्पनी, पुनर्बिमा र बिमा समितिको हो। बाँकी दाबी सरकारले गर्नुपर्ने छ। समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनी, पुनर्बिमा र समितिले कोरोना बिमा दाबी भुक्तानीबापत पुलमा पठाएको रकम वितरण भएको र बाँकी भुक्तानीका लागि सरकारसँग माग गरिएको बताए।  

‘पुलबाट दाबी भुक्तानीबापत सरकारसँग माग गर्न प्रतिवेदन आएको थियो, सोही आधारमा मन्त्रालयमा पत्र पठाइएको छ,’ उनले भने। अहिले बिमा कम्पनीहरूले नै दाबी भुक्तानीमा खर्च गरिरहेको र सरकारबाट माग गरिएको रकम प्राप्त भएपछि पुलबाट सबै कम्पनीलाई भुक्तानी गरिएको रकम वितरण गरिने उनको भनाइ छ। बिमा कम्पनीहरूले कोरोना बिमा लेख बिक्री गरी करिब एक अर्ब रूपैयाँ प्रिमियम संकलन गरेका छन्।  

रकम पाउन हम्मेहम्मे

कोरोना महामारीबाट प्रभावित हुनेको बिमा गरिए पनि भुक्तानीमा भने समस्या पर्ने गरेको छ। बिमा कम्पनीका सञ्चालकहरू आवश्यक कागजपत्र नपुगेका कारण भुक्तानीमा केही ढिला हुन पुगेको बताउने गरे पनि वास्तविकता प्रिमियम भन्दा निकै बढी माग दाबी परेकाले आर्थिक स्रोतको जोहोका लागि धेरै समय व्यतित हुने गरेको बताउँछन्।  

कतिपय बिमितले कागजपत्र पेस गरेको चार÷पाँच महिना हुँदा पनि रकम नपाएको गुनासो गरेका छन्। ‘बिमा कम्पनीले मागेका सबै कागजात दुई महिनाअघि बुझाइसकेकी हुँ,’ कोरोना बिमा गरेकी अन्जु गिरीले भनिन्, ‘भुक्तानीका लागि कम्पनीमा पुग्दा सधैं काम भइरहेको छ भन्ने जबाफ दिने गर्छन्।’ एक लाख रूपैयाँको बिमा गर्दा एकै परिवारका दुईभन्दा बढी भए प्रतिव्यक्ति ६ सय र एकल बिमा गर्दा बिमा कम्पनीहरूले एक हजार रूपैयाँ शुल्क लिने गर्छन्।  

सुरुमा थोरै माग दाबी पर्ने अनुमानका साथ धमाधम कोरोना बिमा गरेका कम्पनीहरूले दाबी बढ्न थालेपछि कोरोना बिमामा कडाइ गर्नाको साथै भुक्तानीमा समेत आलटाल गरिरहेको आरोप लाग्दै आएको छ। कोरोना बिमा भुक्तानी कार्यविधिमा कागजपत्र पेस गरेको सात दिनभित्र दाबी भुक्तानी गरिसक्नु पर्ने उल्लेख छ।  

कार्यविधिमा कोरोना बिमाको भुक्तानीमा एक अर्ब रूपैयाँसम्मको दाबी भुक्तानी बिमा कम्पनीहरू बेहोर्ने सहमति छ। एक अर्ब रूपैयाँभन्दा बढी र दुई अर्ब रूपैयाँसम्मको रकम नेपाल पुनर्बिमा कम्पनीले बेहोर्नेछ। दुई अर्ब रूपैयाँदेखि साढे दुई अर्ब रूपैयाँसम्मको रकम बिमक कम्पनीहरूको महाविपत्ति कोषबाट बेहोरिने योजना छ।  

त्यस्तै साढे दुईदेखि साढे तीन अर्ब रूपैयाँसम्म भुक्तानी गर्नुपर्दा समितिले बेहोर्नेछ। साढे तीन अर्ब रूपैयाँभन्दा बढी भुक्तानी गर्नुपरेमा सरकारले बेहोर्ने कार्यविधिमा उल्लेख छ।  

जीवन बिमाको व्यापार बढ्यो

कोरोना महामारीमा जीवन बिमा कम्पनीरूको व्यापार बढेको छ। सञ्चालनमा रहेका जीवन बिमा कम्पनीले यस अवधिमा करिब ३६ प्रतिशतले व्यापार बढाउन सफल भएका छन्। यो अवधिमा जीवन बिमा कम्पनीहरूको बिमा शुल्क आर्जन उल्लेख्य मात्रामा बढ्दा व्यापारमा गिरावट नदेखिएको बिमा समितिका कर्मचारी बताउँछन्।  

समितिका अनुसार २०७६ फागुन मसान्तमा ६० अर्ब २४ करोड रूपैयाँ बिमा शुल्क संकलन गरेका कम्पनीहरूले २०७७ फागुन मसान्तमा ८२ अर्ब २० करोड रूपैयाँ बिमा शुल्क संकलन गरेको समितिले जनाएको छ।

त्यस्तै सञ्चालनमा रहेको १९ जीवन बिमा कम्पनीले एक वर्षको अवधिमा सात अर्ब ५४ करोड रूपैयाँले थप विस्तार गरेका छन्। गत वर्षको फागुन मसान्तसम्म २० अर्ब ५५ करोड रूपैयाँ प्रथम बिमा शुल्क संकलन गरेका थिए। जुन चालु आवको सोही अवधिमा २८ अर्ब ९ करोड रूपैयाँ पुगेको छ। यस अवधिमा नवीकरण बिमा शुल्क संकलन भने ३६.६६ प्रतिशत अर्थात् १४ अर्ब ४३ करोड रूपैयाँले थप भएको छ। गत आवको फागुन मसान्तमा ३९ अर्ब ३६ करोड रूपैयाँ नवीकरण बिमा शुल्क संकलन रहेको गरेका कम्पनीहरूले चालु आवको सोही अवधिमा ५३ अर्ब ७९ करोड रूपैयाँ पुर्‍याएका छन्।

साथै, गत आवको फागुन मसान्तमा एक अर्ब ६० करोड रूपैयाँ वैदेशिक रोजगार म्यादी बिमा शुल्क संकलन गरेकामा चालु आवको सोही अवधिमा ८० प्रतिशतले घटेर ३२ करोड रूपैयाँ छ।

प्रकाशित: ११ वैशाख २०७८ ०१:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App