४ जेष्ठ २०७८ मंगलबार
अर्थ

स्वरोजगार बन्दै युवा

वैदेशिक रोजगारीबाट फर्केका र जान चाहने युवा स्वदेशमै उद्यम गरी अरूका लागि प्रेरणाको स्रोत बन्दैछन् । गाउँमै बेमौसमी तरकारी खेती, गाई, बाख्रा, कुखुरा र बंगुर पालन गरी यहाँका युवाले त्यसैलाई व्यवसाय बनाउन थालेका हुन् ।  

जिल्लाको माई नगरपालिका र रोङ गाउँपालिकाका युवा अहिले सामूहिक र व्यक्तिगत रूपमा स्वरोजगार बनिरहेका छन् । त्यतिमात्र होइन, कतिपय युवाले अरू युवालाई समेत रोजगारी दिइरहेका छन् । सानो लगानीबाट सुरु गरेको व्यवसाय बढाउँदै युवाले गाउँमै आम्दानीको राम्रो अवसर आफैं जुटाउन थालेका हुन् । यहाँका युवाले उद्यमशिलता र सीप विकाससम्बन्धी तालिम लिएर व्यवसाय थालेका हुन् । उनीहरूले केराका परिकार बनाउने, च्याउखेतीलगायत गाउँमा नयाँ कामसमेत सुरु गरेका छन् । अहिले यी गाउँका युवा आफू गाउँकै व्यवसायमा रमाइरहेका छन् भने अरू युवालाई पनि गाउँमै बसेर व्यवसाय गर्न उत्प्रेरणा दिइरहेका छन् ।  

माई नगरपालिका–७ का तेजेन्द्र तामाङ कृषि व्यवसाय गर्दैछन् । उनी वैदेशिक रोजगारीमा भन्दा स्वदेशमै गरेको व्यवसायमा आफू सन्तुष्ट रहेकोसमेत बताउँछन् । ‘म पैसा कमाउन वैदेशिक रोजगारीमा गएँ, त्यतिमात्र होइन, नेटवर्किङ व्यवसायसमेत गरें,’ उनले भने, ‘घर–परिवारको हातमुख जोर्ने मेलो गर्न कतार र मलेसिया ३/३ वर्ष बसेपनि अहिले घर–गाउँमै गरेको व्यवसायमा जस्तो सन्तुष्टि पाइनँ ।’  

यहीं खेतीपाती गरेर अन्य ठाउँमा रोजगारी गरेभन्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने भएपछि उनले बेमौसमी तरकारी खेती लगाए । बारीमा टमाटर, रायो साग, सिमीलगायत रोपेर उनी अरूलाई पनि यहीं व्यवसाय गर्न हौस्याइरहेका छन् । माई नगरपालिका–१, पालटारका अर्का युवक गोविन्द तामाङले पनि कुखुरापालन व्यवसाय गरेर उसैगरी आम्दानी गर्दैछन् । वैदेशिक रोजगारीकै लागि ४ वर्ष दुबही बसेका उनले १ वर्ष इजरायल पुगेर पनि कृषि व्यवसाय अवलोकन गर्न पाएका थिए । उनी च्याउ खेतीलाई पनि व्यावसायिक बनाउँदैछन् ।

युवालाई गाउँमै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न र अरूलाई पनि रोजगारी दिने वातावरण बनाउन इलामस्थित मानवअधिकार मञ्चले सघाएको हो । मञ्चले सञ्चालन गरेको परियोजनाले युवालाई जीविकोपार्जनमा मद्दत गरेको छ । विशेषगरी वैदेशिक रोजगारीमा जाने उमेर १८ देखि ३० वर्षसम्मका युवा परियोजनाबाट लाभान्वित भएका छन् । सन् २०१९ देखि सन् २०२० सम्म २ वर्ष सञ्चालन भएको परियोजनाअन्तर्गत २ पालिकाका ५ सय ४३ युवाले उद्यमशिलताको तालिम लिएको मञ्चले जनाएको छ । परियोजना संयोजक सन्तोष मगरले तालिम लिएकामध्ये करिब साढे ३ सय युवा स्वरोजगार बनेको बताए । ‘सबैजसोले व्यवसाय दर्ता नै गरेर गाउँमा उद्यम थाल्नुभएको छ,’ उनले भने, ‘यसरी सुरु गरिएको व्यवसायमा गाउँका अन्य युवाले समेत रोजगारी पाएका छन् ।’  

परियोजनाले युवालाई उद्यमशिलता, सीप विकास तालिम दिएर केहीलाई व्यवसाय गर्ने बीउ पुँजी पनि प्रदान गरेको छ । रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युटबाट प्राविधिक जनशक्ति झिकाएर गाउँमा युवालाई कृषि, पशुपालनसम्बन्धी तालिम प्रदान गरिएको छे । सम्बन्धित स्थानीय तहसमेतले यस्ता युवाको उद्यमशिलतामा साझेदारी गरेपछि व्यवसायमा सहयोग पुगेको हो । परियोजनाको अवधि सकिएपनि स्थानीय तहले त्यसैलाई निरन्तरता दिने भएका छन् । ‘परियोजनाकै अवधारणामा युवालाई स्वरोजगार बनाउन ती स्थानीय तहले कार्यविधिसमेत तयार गरिसकेका छन्,’ मगरले भने, ‘अब स्थानीय तहले नै परियोजनाको उपलब्धिलाई निरन्तरता दिनेछन् ।’  

मञ्चले जिल्लाकै चुलाचुली र माइजोगमाई गाउँपालिकामा समेत यही परियोजना सञ्चालन गरिरहेको छ । चुलाचुलीमा सन् २०२० मा परियोजना सुरु भइसकेको छ भने माइजोगमाईमा भर्खर सुरु हुँदैछ । वैदेशिक रोजागारीमा गएका युवाले सोचेजस्तो आम्दानी गर्न नसकेको, एउटा काममा भनेर गएका युवा अर्काे काममा फसाइने गरेकोजस्ता खबर यहाँका लागि नौला होइनन् । तर, गाउँमै स्वरोजगार भएपछि कृषि र पशुपालन बिस्तारै निर्वाहमुखीबाट व्यावसायिकतातिर जाँदैछ ।

परियोजनाले युवालाई विदेश नगई स्वदेशमै रोजगारी र आर्थिक उन्नतिका सम्भावना देखाइदिने, विदेश जानैपरे उचित ज्ञान र सीप सिकेर मात्र जान परामर्शसमेत दिएको छ । लक्षित वर्गको विषयगत क्षमता, सामाजिक संरचनाको विकास, प्रवर्धन, सञ्जालीकरण र पैरवी गर्दै समस्यामा परेर फर्किएका आप्रवासी तथा मानव बेचबिखनबाट पीडितको सामाजिक–आर्थिक पुनस्र्थापनामा सहयोग गर्ने उद्देश्य परियोजनाको थियो ।

प्रकाशित: ३ वैशाख २०७८ १८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?