coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

माथिल्लो तामाकोसी ढिलासुस्तीमा प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री केपी शर्मा ओलीले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माणमा भएको ढिलासुस्तीमा असन्तुष्टि जनाउँदै यस विषयमा आवश्यक परे अनुसन्धान गर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले नापी विभागको अनलाइन सेवा ‘मेरो कित्ता’ एपको बिहीबार सार्वजनिक कार्यक्रममा माथिल्लो तामाकोसी आयोजनामा भएको ढिलासुस्तीप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए। 

‘अत्यन्तै अस्वाभाविक ढंगले माथिल्लो तामाकोसीको काममा ढिलाइ गरिएको छ। मैले यसतर्फ अलिकति विशेष ध्यान दिनुपर्ने, रुची बढाउनुपर्ने जस्तो मैले देखेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘अपर तामाकोसीको विषयमा लगभग तीन वर्षदेखि एउटै कुरा सुनिराखेको छु। जहिले पनि त्यही एउटै कुरा मात्रै सुनिराखेको छु। अहिले पनि सुन्दा त्यही हो। एउटा सानो पाइप के जाति जडान गर्नेमा किन ढिलासुस्ती भइरहेको छ।’

प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोसीको पाइप जडान गर्न नसक्दा दैनिक प्रत्यक्ष रूपमा पाँच करोड रूपैयाँ नोक्सान भइरहेको बताए। ‘पाइप जडान नगर्दा दैनिक प्रत्यक्ष पाँच करोड रूपैयाँ नोक्सान भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो आयोजनाको परोक्ष रूपमा दैनिक १३ करोड रूपैयाँ नोक्सान भइरहेको छ।’ प्रधानमन्त्री ओलीले तामाकोसी आयोजनामा भएको ढिलासुस्ती हो या अन्य कारणले हो भनेर हेर्नुपर्ने बेला भएको बताएका छन्। ‘यो ढिलासुस्ती हो वा अरू केही हो हेर्न पर्ने भएको छ। यस्तो ढिलासुस्ती अब मान्य हुँदैन,’ उनले भने, ‘जेहोस् यस्तो विलम्ब र ढिलासुस्ती सह्य र मान्य हुँदैन।’  

प्रधानमन्त्री ओलीले काममा ढिलासुस्ती र व्यबधान गर्नेलाई नदेखे झैं गर्न नसकिने बताए। ‘ढिलासुस्ती कसैले गर्छ भने उसले नै क्षतिको जिम्मेवारी लिनुपर्छ। चाहे देशभित्रको प्रश्न होस् या बाहिरको जुनसुकै ठाउँको भए पनि विलम्ब स्वीकार्य हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी तीव्र रफ्तारमा देश विकास गर्न चाहन्छौं कतैबाट पनि व्यबधान तथा अवरोध स्वीकार्य हुदैंन।’  

प्रधानमन्त्री ओलीले सरकारले कडाइ गरेकाले नै मेलम्ची खानेपानी अहिले आएको दाबी गरेका छन्। ‘हामीले कडाइ नगरेको भए मेलम्चीको पानी समेत आउँदैनथ्यो। हरेक दिनजसो ताकेता दिएर काम भएको हो,’ प्रधानमन्त्री ओलीले भने। अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेशप्रसाद न्यौपानेले आयोजनाले आयोजनाको पेनस्टक पाइप जडान कार्य अन्तिम चरणमा पुगेको बताए। ‘अहिले पेनस्टक पाइप जडान अन्तिम चरणमा पुगेको छ। अबको ८ देखि १० दिनभित्रै सबै पाइप जडान सकिनेछ।’ आयोजनाले आगामी वैशाख १५ देखि २० गतेको बीचमा सुरुङमा पानी पठाएर परीक्षण गर्ने जनाएको छ।

पेनस्टक र मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइप जस्ता संवेदनशील संरचनाहरू तथा गेट, म्यानहोल र भल्भहरूको प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरी काम भइरहेको छ। मुख्य निर्माण अन्तर्गत बाँध÷इन्टेक, मुख्य सुरुङ, विद्युत्गृह, टेलरेस सुरुङ लगायत सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ। जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायत सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणको प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ। आयोजनाको ६ वटा युनिट छन्। तीमध्ये एउटा÷एउटा युनिटको परीक्षण गरेर बिजुली उत्पादन गर्ने लक्ष्य छ।  

आयोजनाको लागत ब्याजसहित ८० अर्ब पुग्यो  

माथिल्लो तामाकोसी आयोजना आव ०६७/६८ मा सुरु गर्दा ३५ अर्ब रूपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर तोकिएको समयभित्र निर्माण सम्पन्न नभएपछि आयोजनाको लागत दोब्बरभन्दा धेरै नाघेको छ। अहिलेसम्म आयोजनामा ५२ अर्ब रूपैयाँ खर्च भइसकेको छ। सो आयोजनाको ब्याजमात्रै साढे २७ अर्ब रूपैयाँ पुगेको छ। दुवै रकम जोड्दा ८० अर्ब रूपैयाँ खर्च भइसकेको छ। आयोजना तोकिएको समयमै निर्माण सम्पन्न नहुँदा लागतमात्रै बढेको छैन, आयोजनाले वार्षिक १० अर्ब रूपैयाँभन्दा धेरै आम्दानी गुमाइरहेको छ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आर्थिक वर्ष ०६७÷६८ मा आयोजना सुरु गर्दा ०७३÷७४ भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर २०७२ सालमा भएको भूकम्प र नाकाबन्दीले तोकिएको समयभित्रै निर्माण सम्पन्न हुन सकेन। भूकम्प र नाकाबन्दीले प्रभावित भएसँगै पहिलोपटक ०७५/७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिका तय गरिएको थियो।  

उक्त तालिकाबमोजिम पनि आयोजनाको माथिल्लो तथा तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्न नसकेपछि फेरि नयाँ भाका २०७६ चैत मसान्तसम्म पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखियो। त्यो समयभित्र पनि पाइप जडान सम्पन्न हुन सकेन। आयोजनाले लकडाउन कै अवधिमा आयोजनाको सबैभन्दा जटिलमध्येको तल्लो र माथिल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्य सकेको थियो। आयोजनाको तल्लो ठाडो सुरुङमा ३७३ मिटर मिटर पेनस्टक पाइप जडान जडान गरिएको छ। त्यसैगरी माथिल्लो ठाडो सुरुङ ३१० मिटर पेनस्टक पाइप पनि जडान सम्पन्न भइसकेको छ। 

प्रकाशित: ३ वैशाख २०७८ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App