१३ श्रावण २०८३ बुधबार
image/svg+xml
अर्थ

जनता एग्रोमा पाँच करोड संस्थागत लगानी थपिँदै

प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने तयारीमा रहेको जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेडले संस्थागत लगानी भित्र्याउने र पुँजी संरचना पुनः निर्धारण गर्ने निर्णय गरेको छ। शुक्रबार काठमाडौंमा सम्पन्न कम्पनीको विशेष साधारणसभाले संस्थागत लगानीकर्ताको प्रस्ताव स्वीकृत गर्दै पुँजी पुनः निर्धारण गर्ने निर्णय गरेको हो।

विशेष साधारणसभाले पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र समिट इनर्जी सोलुसन प्रालिलाई संस्थापक सेयरतर्फ जगेडामा रहेको सेयरमध्ये प्रतिकित्ता १२५ रुपैयाँका दरले २÷२ लाख कित्ता सेयर दिने प्रस्ताव पारित गरेको छ। यससँगै जनता एग्रोमा यी दुई संस्थागत लगानीकर्ताको कुल पाँच करोड रुपैयाँ बराबरको लगानी रहने भएको छ।

कम्पनीको जारी पुँजी दुई अर्ब ५० करोड रुपैयाँ रहेको छ। जनता एग्रोले जारी पुँजीको न्यूनतम २० प्रतिशतदेखि अधिकतम २७.५ प्रतिशतसम्म सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ। विशेष साधारणसभाले आइपिओ निष्कासनसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारीसमेत प्रदान गरेको छ।

कम्पनीले यसअघि २०८२ मंसिरमा सम्पन्न साधारणसभाबाट आईपीओ जारी गर्ने निर्णय गरेको थियो। आइपिओ निष्कासन प्रक्रियालाई व्यवस्थित, पारदर्शी र कानुनी मापदण्डअनुसार सम्पन्न गर्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सिद्धार्थ क्यापिटल लिमिटेड तथा क्रेडिट रेटिङका लागि केयर एज रेटिङ्सलाई नियुक्त गरिसकेको छ।

विशेष साधारणसभाले कम्पनीको नियमावली संशोधनसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। नेपाल धितोपत्र बोर्डको प्रचलित व्यवस्था, नियामकीय मापदण्ड र सुशासनको अवधारणाअनुसार नियमावलीको नियम २७ (३) संशोधन गर्दै सञ्चालक समितिमा दुई जना स्वतन्त्र सञ्चालक तथा सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

‘खेतीदेखि बिक्रेतासम्म’ भन्ने अवधारणालाई आत्मसात गर्दै स्थापना भएको जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेडले कृषि तथा वन पैदावारमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ।

कम्पनीका अध्यक्ष पवनकुमार गोल्याणले आइपिओ निष्कासनसँगै कम्पनीको आगामी यात्रा अझ सुदृढ र उत्तरदायी हुने विश्वास व्यक्त गरे। उनले प्राकृतिक स्रोत र मानव क्षमतालाई जोडेर आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने कम्पनीको उद्देश्य रहेको बताए।

‘तोकिएको मापदण्डअनुसार बाली तथा फलफूल उत्पादनका लागि किसानलाई करार सम्झौतामार्फत जोड्दै जानेछौं’, गोल्याणले भने, ‘यसले किसानलाई आफ्नो लगानी र उत्पादनको बजार सुनिश्चितताबारे ढुक्क बनाउनेछ।’

कम्पनीकी बिजनेस एक्सिलेन्स तथा स्ट्राटेजी प्रमुख अंकिता बगेडियाले जनता एग्रोको उद्देश्य व्यवसाय विस्तारमा मात्र सीमित नरहेको बताइन्। उनले मापनयोग्य र दीर्घकालीन मूल्य सिर्जना गर्ने एकीकृत कृषि प्रणाली निर्माणमा कम्पनी केन्द्रित रहेको जानकारी दिइन्।

‘किसान, आधुनिक प्रशोधन, जिम्मेवार लगानी र नेपाली ब्रान्डलाई एउटै मूल्य शृङ्खलामा जोड्दै स्थानीय उत्पादन प्रवर्धन गर्ने, आयात निर्भरता घटाउने र दिगो वृद्धि हासिल गर्ने हाम्रो लक्ष्य हो’, उनले भनिन्।

प्रकाशित: २९ असार २०८३ १०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App