साहसिक पर्यटकलाई लक्षित गर्दै पोखराको रातोपहिरोमा बञ्जीजम्प संचालनमा आउने भएको छ । एकवर्ष अघि नै संचालन गर्न ठिक्क पारिएको बञ्जी कोरोना भाईरस संक्रमणका कारण चलाउन पाइएको थिएन । बुधबारदेखि बल्ल बञ्जी संचालनमा आउने संचालकले बताएका छन् ।
बञ्जी नेपाल एडभेन्चरका प्रबन्ध निर्देशक सन्तोष भट्टराइका अनुसार अनुसार गत बैशाख १ देखि नै यो बञ्जी संचालनको तयारी भएकोमा कोरोना संक्रमणका कारण पछाडि सारिएको हो । ‘हामीले पोहोर बैशाख १ गतेदेखि नै संचालनको तयारी गरेका थियौ, तर, कोरोनाका कारण गरिएको लकडाउनले त्यो बेला सकिएन,’ उनले भने, ‘एकवर्ष ढिला गरेर बुधबारदेखि संचालनमा ल्याउँदैछौ ।’
.jpg)
पोखरा महानगरपालिका–१७ को रातोपहिरोमा यो बञ्जीजम्प बनाइएको छ । यसको नजिकै पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पनि छ । भट्टराईका अनुसार यो बञ्जीमा रमाउने पर्यटकले १२५ मिटर तलसम्म झरेर सेतीनदीको खोंच, आसपासका हरियाली सहित हिमाली श्रृंखलाको दृष्यावलोकन गर्न सकिन्छ । हिमाल खुलेको बेला पर्यटकले छ्यांगै हिमाली सौन्दर्य पनि अवलोकन गर्न पाउँछन् ।
प्रायजसो ठाउँमा खोँचमा हाम फल्नेगरि झोलुंगे पुलमा बञ्जी संचालन गरिएपनि यहाँ भने पुलको साटो क्यान्टिलिभर पुलमार्फत टुप्पोमा पुगेर पर्यटक हामफाल्न सक्छन । यहाँ हाम फाल्न जाने पर्यटकले ५५ मिटर लामो क्यान्टिलिभर पुलको टुप्पोमा पुग्नुपर्छ । खोंचमा हामफाल्न मिल्नेगरि यहाँ क्यान्टिलिभर पुल बनाइएको छ । क्यान्टिलिभर पुलसँगै ३५ मिटर अग्लो भ्यू टावर पनि बनाइएको छ । भ्यू टावरबाट पनि पाहुनाले पोखरा क्षेत्र अवलोकन गर्न सक्छन् । सबैभन्दा बढी १२५ किलो र सबैभन्दा कम ४० किलो तौल भएका व्यक्ति यहाँ बञ्जी गर्न सक्नेछन् ।
भट्टराईका अनुसार आठकरोड रुपैयाँ बढी लगानी गरेर यहाँ बञ्जीजम्प बनाइएको हो । भट्टराईका अनुसार यहाँ बञ्जी गर्दा नेपाली र विदेशी जो कोही पाहुनाका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँ तोकिएको थियो । तर, कोरोनाका कारण पोखरामा आउने पर्यटक कम हुने सम्भावना भएकोले नै आन्तरिक पर्यटक तान्नका लागि केही छुट दिइने उनले बताए । उद्घाटन अफरमा ४ हजार ५ सय रुपैयाँमा बन्जी गर्न पाइने उनले बताए ।
प्रकाशित: ३१ चैत्र २०७७ १६:३४ मंगलबार