कोरोना भाइरस संक्रमणले थलिएको पर्वतारोहण क्षेत्रमा सुधारका संकेत देखिन थालेका छन् । नेपालका विभिन्न चुचुराको आरोहणका लागि विदेशी आरोहीको टोली आउन थालेको व्यवसायीले बताएका छन् । आरोहीको आगमनले पर्वतारोहण पर्यटनमा सुधार आउन सक्ने व्यवसायीको भनाई छ ।
अन्नपूर्ण प्रथम (८०९१ मि) आरोहणका लागि अहिले पाकिस्तान, चीन, अमेरिका, क्यानडा सहितका मुलुकका आरोही अन्नपूर्ण आधारशिविरमा पुग्ने क्रममा छन् । आरोहीको पहिलो टोली पाकिस्तानी समुह केहीदिन अघि नै आधारशिविर पुगिसकेको र अरु विदेशी आरोही पनि केहीदिनभित्रै आधारशिविर पुग्ने आरोहण व्यवस्थापन गरेका कम्पनिले बताएका छन् । नेपाली महिलाको आरोही टिम पनि आरोहणको तयारीमा रहेको छ ।
पाकिस्तानी सहितका आरोहीको आरोहण व्यवस्थापन गरेको इमेजिन नेपालका संचालक मिङमा ग्याल्जेन शेर्पाका अनुसार विभिन्न ४ वटा टिमका ४० जना विदेशी आरोही अहिले अन्नपूर्ण प्रथम आरोहणको तयारीमा रहेको छ । शेर्पाका अनुसार ती मध्ये दुईजना पाकिस्तानी आरोही पनि छन् । ती पाकिस्तानी बिना अक्सिजन आरोहणको तयारीमा रहेका छन् । विना अक्सिजन आरोहणको तयारीमा रहेको उनीहरु तयारीको क्रममा केहीदिन अघि नै आधारशिविर पुगिसकेको शेर्पाले बताए ।
‘बिना अक्सिजन आरोहण गर्ने भएकोले पाकिस्तानी टिम केहीदिन अघि नै आधारशिविर पुगेको हो । उचाईसँग अभ्यस्त हुनका लागि पाकिस्तानी आरोही अरुभन्दा केहीदिन अघि नै आधारशिविर पुगेको हो,’ उनले भने । पाकिस्तानीबाहेकका आरोही भने अक्सिजन लिएर आरोहणमा जानेछन् । ‘विभिन्न चुचुरा आरोहण गरेका उनीहरु यो पटक अन्नपूर्ण प्रथमको आरोहण तयारीमा जुटेका छन् । अबको चारदिनभित्र अरु आरोही पनि आधारशिविर पुगिसक्छन्,’ उनले भने, ‘अहिलेसम्म सबैगरि १५ जना आरोही आधारशिविर पुगिसकेका छन् ।’ शेर्पाका अनुसार अप्रिल २० भित्र ती आरोहीले आरोहण गर्नेछन् । उनीहरु अप्रिल महिनाभर नेपालमा रहनेछन् ।
.jpg)
कोरोना संक्रमणको मारमा परेको पर्यटन क्षेत्रमा आरोहणका लागि विदेशी आरोही भित्रिन थालेपछि व्यवसायी उत्साही बनेको उनले बताए । ‘एकवर्षदेखि विदेशी पर्यटक नेपाल भित्रिन पाएका छैनन् । यो अप्ठेरोमा पनि विदेशी आरोहीले नेपालको आरोहणमा चाँसो देखाएका छन्,’ उनले भने, ‘एकवर्ष आम्दानीविहीन भएको अवस्थामा अहिले आरोहीले चाँसो देखाउनु सकारात्मक हो ।’ कोरोनाको अप्ठेरो भइरहँदा पनि नेपालका चुचुरा आरोहणमा विदेशी आरोहीले चाँसो देखाउनु सकारात्मक रहेको उनले सुनाए ।
‘कोरोना त्रासले गर्दा पर्वतारोहण व्यवसायी एकवर्षसम्म सुतेरै बस्तुप¥यो । अब केही हुने आशावादी छौ,’ उनले भने, ‘अन्नपूर्ण मात्र नभई सगरमाथा र अरु हिमाल आरोहणका लागि पनि विदेशी आउन थालेका छन् । पर्वतारोहण व्यवसायीको दैनिकी नै अप्ठेरो भएको बेलामा विदेशीको आगमनले उत्साही तुल्याएको छ ।’ थोरै संख्यामा भएको आगमनले पनि नेपालको आरोहण क्षेत्रमा सकारात्मक सन्देश पुगेको उनले बताए । व्यवसायीले मात्र नभई पर्वतारोहण क्षेत्रमा लागेका मजदुरको पनि कमाई हुने उनले बताए ।
आधारशिविर पुगेको टिमलाई म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विदाई गरेको थियो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्बुजा पुनका स्वकीय सचिव सुरेन्द्र पुनका अनुसार ती आरोही म्याग्दी हूँदै आधारशिविर पुगेका थिए । उनीहरुलाई पुन सहितको टिमले आधारशिविर पु¥याएर फर्केका थियो । ‘पाकिस्तानी टिमका आरोहीहरु आरोहण अभ्यासमा जुटिसकेका छन् । अरु सहयोगीले व्यवस्थापन गरिरकेका छन,’ पुनले भने, ‘आरोहीको आगमनले गण्डकी प्रदेशको पर्वतीय पर्यटनमा सकारात्मक सन्देश प्रवाह भएको छ ।’ आरोहणका लागि आएको टिम गत मंगलबार आधारशिविर पुगेको थियो ।
पर्यटन विभागमा अनुसार यो सिजनमा अन्नपूर्ण प्रथम आरोहणका लागि अहिलेसम्म ४० जना विदेशी आरोहीले अनुमति लिएका छन् । ती बाहेक नुप्त्से र मनास्लु हिमाल आरोहणका लागि पनि विदेशीले आरोहण लिएको विभागको तथ्यांक छ । आरोहण अनुमति लिनेमा सबैगरि १५ जना महिला र ३० जना पुरुष आरोही रहेको विभागले बताएको छ ।
नेपाल पर्वतारोहण संघका गण्डकी अध्यक्ष शेषकान्त शर्मा कोरोनाका कारण त्रासमा रहेको पर्यटन क्षेत्रले सानो आकारमा भएपनि विदेशी आरोही पाउँदा सकारात्मक सन्देश फैलिएको बताउँछन् । ‘कोरोनाले सबैभन्दा बढी मारमा परेको क्षेत्र पर्यटन हो । अहिले पनि अप्ठेरो कायम नै छ,’ शर्माले भने, ‘यही अप्ठेरोमा पनि विदेशी पाहुना धमाधम आरोहणका लागि आएका छन् । यसले सकारात्मक सन्देश फैलिएको छ ।’
प्रकाशित: १३ चैत्र २०७७ ०८:४३ शुक्रबार