४ वैशाख २०८१ मंगलबार
अर्थ

तंग्रिन खोज्दै होमस्टे

लम्जुङको घलेगाउँ होमस्टेमा पाहुना बोकेर पुगेका सवारी । कोरोनाले थलिएको होमस्टे व्यवसाय बिस्तारै तंग्रिने क्रममा छ । तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणको त्रासले गरिएको लकडाउनसँगै अघिल्लो चैतदेखि देशभरका होमस्टे ठप्प भए । पाहुना राख्न नपाउँदा होमस्टे संचालित समुदाय आम्दानी गुमाउन पुगे । आन्तरिक पाहुनालाई सत्कार गरेर कमाइ गरेका होमस्टे कोरोनाको कारणले गरिएको लकडाउनसँगै सुनसान बनेका थिए । तर संक्रमण कम हुँदै गएपछि गत मंसिरदेखि होमस्टेले पाहुना राख्न थालेका छन् ।

कोरोना त्रासले झन्डै नौमहिनासम्म सुनसान बनेका होमस्टे यतिबेला पाहुना पाउँदा केही तंग्रिने प्रयासमा छन् । त्यसको उदाहरण हो, लम्जुङको घलेगाउँ होमस्टे । यो होमस्टेले मंसिरदेखि पाहुना स्वागत गर्न थालेको छ । पाहुना गाउँ उक्लेसँगै स्थानीयले आम्दानी पनि गर्न पाएका छन् । पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्र्रेमबहादुर घलेका अनुसार गाउँका ४० घरमा होमस्टे सेवा संचालन भईरहेको छ ।  

‘यतिबेला आन्तरिक पाहुना आउन थालेका छन् । कोरोनाका कारण झन्डै नौमहिना पाहुना राख्ने अवस्था रहेन,’ घलेले भने, ‘मंसिरदेखि होमस्टेमा पाहुना आउन थालेका थिए । यतिबेला आगमन राम्रै छ ।’ उनका अनुसार ४० घरमा ३५० जनासम्म पाहुना अट्छन् । शुक्रबार र शनिबार घलेगाउँको होमस्टेमा बस्न पुगेका आन्तरिक पाहुनाको भीडभाड नै लाग्छ । ‘सबै आन्तरिक पाहुना हुन् । कोरोना त्रासले लामो समय घरबाहिर निस्कन नपाएका आन्तरिक पाहुना अहिले घलेगाउँसम्म आएका छन्,’ उनले भने, ‘यसले गाउँलेलाई आम्दानी दिएको छ ।’  

लकडाउनकै कारण आगामि थप केही महिना आम्दानी गुमाउनै पर्ने अवस्था आइपरेमा पनि घलेगाउँका बासिन्दाका लागि ५÷६ महिना घरखर्च धान्ने कमाई होमस्टले यो अवधिमा दिलाएको उनले बताए । ‘यो बेला विदेशीको अपेक्षा गर्न सकिन्न । सहरका युवायुवती होमस्टे बस्न गाउँ पसेका छन,’ उनले भने, ‘यसले गाउँलेलाई आम्ल्दानी पनि दिएको छ ।’ २०५६ मा घलेगाउँमा होमस्टे सुरु भएको थियो । यो गाउँलाई २०६५ मा सार्क राष्ट्रकै पहिलो नमूना ग्रामिण पर्यटकीय गाउँ घोषणा गरिएको थियो । २०७६ मा यो गाउँलाई नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा पनि विकास गरिएको थियो ।  

कास्कीको सिक्लेस होमस्टेका सचिव पदम गुरुङ पनि गाउँमा संचालित होमस्टेमा आन्तरिक पाहुना पुग्न थालेको बताउँछन् । तर, पाहुनाको आकार भने कोरोना अघिको जस्तो छैन । पछिल्लो समय कोरोनाको त्रास बढ्न थाल्दा पाहुना आउन रोकिने हुन् की भन्ने चिन्ता पलाएको सचिव गुरुङले बताए । ‘कोरोना अघिको जस्तो आकारमा त पाहुना आएका छैनन् । तर, पहिलेको जस्तो नभएपनि पछिल्ला केही महिना पाहुना बढ्न थालेका थिए,’ उनले भने, ‘पाहुना आउन थालेपछि केही सहज भएको थियो, हामी पनि उत्साही बनेका थियौं । तर, अब फेरि कोरोना त्रास बढ्न थाल्दा हामी पनि त्रसित भएका छौं ।’

उनका अनुसार सिक्लेसका २० घरमा होमस्टे संचालन गरिएको छ । ती सबै घरमा एकरातमा १५० जनासम्म पाहुना अट्छन् । एक घरमा बढिमा १० जनासम्म पाहुना अट्छन् । काठमाडौं, चितवन, पोखराका आन्तरिक पाहुना बास बस्न र रमाउनका लागि सिक्लेस पुग्न थालेका थिए । ‘लामो समय कोरोनाका कारण होमस्टे व्यवसाय पनि थला परेकै हो । तर पछिल्लो समय ब्यूतिने प्रयास भईरहेको थियो । तर, फेरि डरत्रास छाएको छ,’ उनले भने, ‘बल्लतल्ल उठ्ने प्रयास भएको होमस्टे पुुन थला पर्ने हो की भन्ने चिन्ता पलाएको छ ।’ कोरोना त्रास सुरु हुनुअघि फाट्ट फुट्ट विदेशी पाहुना पनि यो होमस्टेमा पुग्न थालेका थिए । तर, पछिल्लो समय कोरोनाको त्रासले विदेशी पाहुना आउन नपाएपनि आन्तरिक पाहुना भने होमस्टेमा बास बस्न पुग्न थालेका थिए ।  

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी अध्यक्ष नवराज अधिकारी पनि प्रदेशका सबैजसो होमस्टेमा पाहुना पुग्न थालेको बताउँछन् । पहिलेको जस्तो आकारमा पाहुना नपुगेपनि होमस्टेले ४० प्रतिशत ब्यापार गर्न सकेको उनले बताए । ‘अप्ठेरो अवस्था नआउने हो भने अबका दुई–तीन महिनामा होमस्टेले पहिलेकै आकारको ब्यापार पाउँथे । तर, पछिल्लो समय कोरोनाको पुन संक्रमणको त्रास बढ्दै जाँदा ढुक्क हुने अवस्था भने छैन,’ अधिकारीले भने, ‘कोरोनाले गर्दा लामो समय घरभित्र बसेका आन्तरिक पाहुना अहिले एकरातका लागि मात्र भएपनि गाउँ उक्लिन खोज्दा त्यसको लाभ होमस्टेले पाएका छन् ।’  

अधिकारीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामा ३३० वटा होमस्टे संचालनमा छन् । ती सबैले पाहुना नपाएपनि नाम चलेका होमस्टेमा भने प्रयाप्त पाहुना पुग्न थालेको उनले बताए । ‘होमस्टेले आयआर्जन बढाउँदा स्थानीयबासि दंग थिए । तर, कोरोनाको त्रासका कारण लामो समय बन्द रहेका होमस्टे बल्लतल्ल तंग्रिने प्रयासमा छन,’ उनले भने, ‘त्रास बढ्दै जाँदा अब के हुने भन्ने अन्योल छ ।’

गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्साल पनि होमस्टेले बल्ल व्यावसायिकता पाउन थालेको बताउँछन् । ‘अघिल्ला वर्ष होमस्टेप्रति हामी अलि बढि उत्साही भएकै हौ । त्यो बेला आकर्षण थपिएर माग बढ्दै जाँदा अनुदान पनि दिइएको हो,’ लम्सालले भने । होमस्टेले स्थानीय उत्पादनमा सघाएको र आयात बिस्थापित गराउन सघाएको उनले बताए । ‘होमस्टेले आम्दानी पनि दिएको छ, संस्कृति जोगाएको छ । होमस्टे जनता र गरिबसँग जोडिएको छ । त्यसैले होमस्टेको विकासमा प्रदेश सरकारले सघाएको हो,’ उनले भने । कोरोनाका कारण थलिएको भएपनि महामारीको त्रास घट्नासाथ होमस्टे पुन उकासिने उनले बताए । 

प्रकाशित: १२ चैत्र २०७७ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App