पञ्चकन्या समूहले भैरहवा विशेष आर्थिक क्षेत्रमा स्टेनलेस स्टिल ट्यांकी उद्योग सञ्चालनमा ल्याएको छ। बिहीबार एक विशेष कार्यक्रम गरी पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले उक्त उद्योगको उद्घाटन गरेका छन्।
उद्योगले बिहीबारबाटै उत्पादन सुरु गर्नेछ। भारतमा निकासी गर्ने उद्देश्यका साथ पञ्चकन्या समूहले एसएस ट्यांकीको दोस्रो उद्योग भैरहवा विशेष आर्थिक क्षेत्रभित्र सुरु गरेको समूहको विज्ञप्तिमा उल्लेख छ। नेपाल मै पहिलोपटक १० हजार लिटरको एसएस ट्यांकी सोही उद्योगले उत्पादन गर्ने विज्ञप्तिमा उल्लेख छ। उक्त उद्योगले २५० देखि १० हजार लिटरसम्मको भर्टिकल तथा होरिजन्टल एसएस ट्यांकी उत्पादन गर्नेछ।
उद्योगले वार्षिक ८० हजारवटा ३०४ तथा ३१६ ग्रेडका एसएस ट्यांकी उत्पादन गर्नेछ। हाल काठमाडौंस्थित पहिलो उद्योगले भारतको लखनऊ तथा कलकत्ता क्षेत्रमा निकासी गरिरहेकोमा दोस्रो उद्योगले उत्तर भारतमा आफ्नो उत्पादन बिक्री गर्ने उद्देश्य राखेको समूहका उप–महाप्रबन्धक देवेन्द्र साहुले जानकारी गराए।
बिहीबारको कार्यक्रममा रूपन्देही क्षेत्रका उद्योगी व्यवसायी, भैरहवा विशेष आर्थिक क्षेत्रका प्रमुख, पञ्चकन्या समूहका कर्मचारी तथा अन्य व्यक्तित्वको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ। पञ्चकन्या समूहले नेपालमा पहिलोपटक २०६९ सालमा एसएस ट्यांकी उद्योग सञ्चालनमा ल्याएको थियो।
प्रकाशित: ६ चैत्र २०७७ ०३:११ शुक्रबार





