१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

गल्छी–मैलुङ सडकको २३ किलोमिटर कालोपत्रे

रसुवागढी नाका जाेड्ने सडक खण्डकाे पहिलाे खण्डमा पर्ने गल्छी-मैलुङ सडककाे स्ताेरन्न्तीकाे काम गरिँदै। तस्बिर: नागरिक

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–मैलुङ सडक खण्डमा २३ किलोमिटर कालोपत्रे गर्ने काम सकिएको छ। रसुवागढी जोड्ने सडक खण्डको दुई खण्डमा नेपाली पक्षले र एक खण्डमा चिनियाँ पक्षले स्तरोन्नति गर्ने योजना अनुसार पहिलो खण्डमा कालोपत्रे गर्ने काम चलिरहेको छ।  

चालु आर्थिक वर्ष २०७७/७८ को असार मसान्तभित्र ४१ किलोमिटर कालोपत्रे गरिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ। अहिलेको गतिमा काम हुन सकेको खण्डमा समयसीमाभित्रै कालोपत्रे सकिने योजना प्रमुख नारायणदत्त भण्डारीले बताए।

'चालु आर्थिक वर्षभित्र गल्छीदेखि ढुंगेसम्म स्तरोन्नतिको काम सकाउने लक्ष्य राखेका छौं,’ उनले भने, ‘अहिले कालोपत्रे गर्नुका साथै भीर कटिङको काम भइरहेको छ।’ गल्छी–मैलुङ खण्डअन्तर्गत गल्छी–ढुंगे सडकको करिब ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ। पिलटारदेखि ढुंगेसम्म अदालतको स्टे अर्डरका कारण काम रोकिए पनि यसअघि नै तीन किलोमिटर क्षेत्रमा पहिलो लेयर कालोपत्रे गर्ने काम सकिएको छ।

पहिलो खण्ड अन्तर्गत गल्छी–मैलुङ सडक खण्डमा ४६ किलोमिटर कालोपत्रे गर्नुपर्नेमा चालु आर्थिक वर्ष २०७७/७८ मा ४१ किलोमिटर कालोपत्र हुने उनले बताए। पहिलो खण्ड स्तरोन्नतिको काम हालसम्म करिब ६७ प्रतिशत भएको छ। नाका जोड्ने छोटो दुरीको रूपमा रहेको यो सडकको तीन खण्डमा स्तरोन्नतिको काम हुनेछ।

गल्छी–मैलुङ खण्डको दुरी ४६ किलोमिटर छ। दोस्रो मैलुङ–स्याफ्रुबेसी खण्डमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ। चालु आर्थिक वर्षमा केही भाग ग्राभेलको काम गर्ने तयारी छ। यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त हो। यो सडक बेत्रावती, कालिकास्थान, धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर छ। बेत्रावती–मैलुङ–स्याफ्रुबेसीको दुरी २९ किलोमिटर मात्रै छ।  

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन। गल्छीदेखि रसुवागढी पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट घुम्ती पार गर्न पर्दैन। मैलुङ­–स्याफ्रुबेसी सडकको विकल्पमा बेत्रावती–धुन्चे–स्याफ्रुबेसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती–धुन्चे सडक सञ्चालन हुँदै आएको छ।

प्रकाशित: २७ माघ २०७७ ०५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App