coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

६ लेन सडक निर्माण: थप म्याद पनि सकियो, काम सकिएन

सुदूरपश्चिम प्रदेशको दक्षिण तर्फ भारतको नाकासँग जोडिएको धनगढीको मोहना देखि अत्तरिया सम्मको ६ लेन सडक निर्माणको काम सम्झौता अनुसार दुई बर्षमा सम्पन्न गरिसक्नु पथ्र्यो । निर्धारित समयमा निर्माण काम सम्पन्न भएन । १० महिना ढिलो गरेर एक वर्ष अवधी म्याद थप गरियो । थप गरेको म्याद सकिदाँ पनि निर्माण काम पुरा भएको छैन ।  

सुदूरपश्चिम प्रदेशको महत्वपुर्ण आयोजनाको रुपमा रहेको दक्षिणतर्फ भारतको मुृख्य नाका गौरिफन्टा सँग जोडिएको धनगढी मोहना देखि अत्तरिया सम्मको ६ लेन सडक  निर्माण दुई बर्षमा सिध्याउनु पर्नेमा आयोजना कार्यालय र ठेकदारको लापरवाहीले ४३ महिना बित्दा पनि सम्पन्न हुन सकेको छैन ।

तीन खण्डमा बर्गिकरण गरेर निर्माण गर्न ठेक्का दिइएको छ लेनअन्तर्गत पहिलो खण्डमा थप गरिएको अवधि गत मंसिर ६ गते सकिएको छ । भने दोस्रो र तेस्रो खण्डमा माघ १५ मा समाप्त हुने छ । तर हालसम्म भौतिक प्रगति ७५ प्रतिशतमात्र भएको आयोजनाका इन्जिनियर लक्ष्मण रावलले बताएका छन । म्याद सकिए पनि पहिलो खण्डमा ठेक्का पाएको शर्मा–अमर–नागार्जुन जेभीले काम जारी राखेको छ । यस्तै दोस्रो खण्डमा लुम्बीनी–राजेन्द्र–डाँफे तथा तेस्रो खण्डको लामा–राजेन्द्र–डाँफेले काम गरिरहेका छन् ।

सडक छेउमा रेलिङ्ग , नालीसहित दुई मिटर चौडा फुटपाथ, कंक्रिट बेरियर हाल्ने  र न्यूनतम् साढे तीन मिटर चौडाइको सर्भिस लेन निर्माण गर्ने काम अझै हुन वाँकी छ  

तीनै खण्डमा पहिलो चरणको कालोपत्रे काम सम्पन्न भएको छ भने दोश्रो चरणको कालोपत्रे काम आधा भएको उनले बताए । दुई चरणमा गरेर १० सेन्टीमिटर मोटाइको कालोपत्रे गरिने छ । छ सेन्टीमीटर मोटाइको कालोपत्रेको काम सम्पन्न भएर अहिले दोस्रो चरणमा चार सेन्टीमिटर मोटाइको कालोपत्रे थप्ने काम भइरहेको हो ।

दोस्रो र तेस्रो खण्डको सम्झौता २०७४ जेठ १ तथा पहिलो खण्डको सम्झौता त्यहि बर्ष  जेठ १० मा भएको थियो । तीन वटै खण्डको काम दुई वर्षभित्र सिध्याउने सम्झौता थियो ।

एक अर्ब ६५ करोडको लागतमा आयोजना निर्माण भइरहेकामा निर्माण कम्पनीहरुले कुल लागतको करिब ७५ प्रतिशत भुक्तानी लगिसकेका छन् । १ वर्ष थप गरिएको म्याद अवधीमा पनि निर्माण काम सम्पन्न नभएको आयोजना प्रमुख युवराज पोखरेलले बताए।

सुदुरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीलाई देशका अन्य ठाउसँग जोड्ने एकमात्र सडक समयमा सम्पन्न नभएर लामो समय निमार्णाधिन हुदाँ सर्वसधारणले समस्या भोग्नु परेको छ । लामो समय निर्माणाधिन रहदाँ खाल्डाखुल्डी  र निर्माणाधिन कल्भर्टले दुर्घटना भएर ६ जनाले ज्यान गुमेको छ भने कयौ घाइते भएका छन ।

गत बर्षको जेठमा म्याद सकिदाँ १० महिना सम्म अनेक वाहानामा म्याद थप गरिएन । गत फागुन महिनामा सार्वजनिक खरिद नियमावलीको नवौ शंसोधनमा टेकेर एक बर्ष निर्माणको कम्पनीको म्याद थप गरिएको थियो । यस अघिको नियमावलीमा सम्झौता भएको अवधीको ५० प्रतिशतमात्र अर्थात एक बर्ष सम्म मात्र म्याद थप गर्ने प्रावधान रहेकोमा शंसोधन गरिएको नियमावलीमा म्याद थप गर्ने निर्णय गरेको मितीले एक बर्ष भन्ने वाक्यांस उल्लेख गरेर निर्णय भएको मितीले एक बर्ष थप गरियो । १० महिना बिचको अवधी निर्माण कम्पनीलाई थप उपलब्ध भयो ।

लकडाउनमा सँम्झौता भएका र म्याद थप भएका योजनाको अवधी ६ महिना थप्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । लकडाउन अघि नै म्याद थप भएकाले यो निर्णय अनुसार म्याद थप गर्न सहज छैन । तर म्याद थप गर्न प्रक्रिया भने शुरु भैसकेको छ ।

‘६ लेन आयोजना लकडाउन अघि म्याद थप भएकाले के गर्ने भन्ने बिषयमा एकिन भैसकेको छैन’उनले भने । म्याद थप नभएमा काम भने पुरा गर्नुपर्ने छ भने जरिवाना समेत गरिने उनको भनाई छ । मोहनापुल अत्तरिया ६ लेन सडक योजनामा ५ जना प्रमुख बदलिएका छन ।

सुरुवातमा नविनमान श्रेष्ठलाई प्रमुखको जिम्मेवारी दिइएकोमा त्यसपछि मनिष शाह, राजेश पौडेल हेमवहादुर ऐसी र अहिले युवराज पोखरेल कार्यरत छन । आयोजना प्रमुखको सरुवाले पनि निर्माणको काममा प्रभाव परेको छ ।

धनगढी भन्साररोडदेखि अत्तरिया चोकसम्म १४.२ किलोमिटर लामो ६ लेन सडक ३ खण्डमा छुट्याइएर छुट्टाछुट्टै ठेक्का दिइएको थियो । भन्सार देखि वोराडाडी सम्म साढे ४ किलोमिटर पहिलो खण्ड, वोराडाडी देखि गेटा सम्म साढे ४ किलोमिटर दोश्रो खण्ड र  गेटा देखि अत्तरिया सम्म ५.२ किलोमिटर तेश्रो खण्ड निर्माणको लागी ठेक्का दिइएको हो । ६ लेनको सडकमा ८० किलोमिटर प्रतिघण्टाका दरले सवारी कुदाउन सकिने योजनाको डिजाईनमा उल्लेख छ  

यो सडकमा ३ वटा पुलहरु निर्माण गरिने छन । निर्माण शुरु भएको ३ बर्ष सम्म पुलको डिजाईन बनाएर निर्माण कार्य समेत शुरु भएन । मनहरार  सुनिखोलामा दुईवटा पुलको अहिले टेण्डर भएको इन्जिनियर रावलले भने । एक पुलको टेण्डर हुन अझै वाँकी छ।

प्रकाशित: ७ माघ २०७७ ०७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App