८ वैशाख २०८१ शनिबार
अर्थ

वर्षदिन भयो अन्नपूर्ण आधारशिविरले पाहुना नदेखेको

हिमपहिरोले थिचिएको एबिसी पदमार्ग कोरोनासँगै झनै थलियो

अन्नपूर्ण आधारशिविर क्षेत्र । फाइल तस्बिरः नागरिक

पोहोर माघ ३ गते अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग अन्तर्गत देउराली र हिङ कु केभको बीचमा भीषण हिमपहिरो झ¥यो । हिमपहिरोमा परेर एबिसी पदयात्रामा रहेका चारजना कोरियाली पर्यटक र तीनजना नेपाली सहित सातजना पदयात्री पुरिए । माघमा हिमपहिरोमा पुरिएका ती पदयात्रीको शव बैशाख तेश्रो साता बल्ल फेला परेको थियो ।  

माघको पहिलो साताको त्यो हिमपहिरोको असर लामै समय रह्यो । बाक्लो हिमपातका कारण एबिसी पदमार्गमा कैंयौ दिन पदयात्रा नै रोकियो । पदयात्रा नै जोखिमपूर्ण रहेको भन्दै पदयात्री नै पदयात्रामा जानबाट तर्सिए । माघको पहिलोसाता बन्द भएको पदयात्रा फागुनतिर केही सहज हुँदै गएपनि पदयात्रीले सुरक्षित नठान्दा उत्तिसारो चलायमान बन्न सकेको थिएन ।  

समुन्द्री सतहदेखि करिब ३२ सय मिटर उचाईको हिङ कु केभ र देउरालीबीचमा हिमपहिरो झरेको थियो । हिमपहिरोको मारमा परेको पदयात्रा जसोतसो तंग्रिन के खोज्दै थियो, अचानक कोरोना भाइरसको महामारीमो मारमा परिहाल्यो । हिमपातले रोकिएको पदमार्ग पूर्ण रुपमा संचालनमा आउन नपाउँदै कोरोनाको मारमा परिहाल्यो । हिमपहिरोको असरबाट उकासिन नसकेको एबिसीसम्मको पदयात्रा कोरोना भाइरसको मारले थलिएसँगै अझै ब्यूतिन सकेको छैन । अझैपनि एबिसीसम्मको पदयात्रामा पाहुना पुग्न सकेका छैनन् ।

हिमपहिरोका कारण माघ पहिलो साता र कोरोनाका कारण चैतदेखि बन्द रहेको एबिसीसम्मको पदयात्रामा लागेको पूर्णबिराम हटाउने प्रयास स्थानीय व्यवसायीले थालेपनि कोरोनाको त्रास कम नहुँदा व्यवसायीले आँट गरेका छैनन् । यो सिजनमा उत्तिसारो हिमपात नहुँदा आउजाउ सहज भएपनि कोरोना त्रासका कारण अझै कोही पनि पाहुना एबिसीसम्म पुग्न सकेका छैनन । पदमार्गको देउरालीबाट अगाडि बढ्नेगरि पाहुना पुगेका छैनन् । एकवर्षदेखि पदमार्ग पदयात्री भेटेको छैन ।  

पर्यटन व्यवस्थापन समिति छोमरोङका सचिव दिलीप गुरुङ भन्छन्, ‘एकवर्ष भयो, एबिसी पदमार्ग उठ्नै सकेन । पोहोर यतिखेरै हिमपातको चपेटामा परेको थियो । हिमपातको अप्ठेरो सहज हुन नपाउँदै कोरोनाको मारमा परेको हो ।’ कोरोना भाइरस महामारीका कारण गत चैतदेखि पर्यटन क्षेत्र पूर्णरुपमा थलिएपनि एबिसी क्षेत्रको पर्यटन भने गत माघको हिमपहिरोसँगै सुस्ताएको उनले बताए । ‘हिमपहिरोको असर कम हुँदै जाँदा कोरोनाको प्रभाव परिहाल्यो । हिमपातबाट जसोतसो ब्यूतले प्रयास मात्र गरेको थियो, कोरोनाले फेरि सुताइछाड्यो,’ उनले भने, ‘एकवर्ष भयो एबिसीले पाहुना देख्न पाएको छैन ।’

उनका अनुसार कोरोना महामारीबीच पनि अन्यत्रका पर्यटकीय क्षेत्र जसोतसो ब्यूतेर आन्तरिक पाहुनाको स्वागतमा जुटिसकेका छन् । तर मुलुककै मुख्य र साहसिक मानिने एबिसीसम्मको पदमार्गले अझै पाहुना भेट्न सकेको छैन । ‘अन्यत्रका गन्तव्य खुलाएपनि एबिसी क्षेत्रको पदयात्रामा आउने पाहुनाका लागि कोरोनाको पिसिआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट ल्याउन अनिवार्य गरिएकोले पनि पाहुना आउन आँट गरेनन्,’ उनले भने, ‘हुन त यो बेला पदयात्राको मुख्य ‘अफसिजन’ हो । तर, कोरोनाको कारणले घरबाहिर निस्कन नपाएका आन्तरिक पाहुना यो पटक कम हिमपात भएकोले एबिसीसम्म उक्लिन सक्थे । तर, कोरोनाको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने झन्झटले कोही नआएको हाम्रो अनुमान छ ।’

गत विहीबारदेखि एबिसी पदयात्राको मुख्य प्रवेशद्वार मानिने घान्द्रुक पनि पाहुनाका लागि खुला गरिएको छ । तर, कोरोनाको नेगेटिभ रिपोर्ट नमाग्दा घान्द्रुकसम्म पुग्ने आन्तरिक पाहुना प्रयाप्त भएपनि एबिसीका लागि कोही नआएको उनले बताए । ‘अब हामीले पनि पिसिआरको नेगेटिभ रिपोर्ट नमाग्ने हो की भन्न बारे छलफल चलिरहेको छ । अन्यत्रका गन्तव्यले केही आकारमा पाहुना पाइसकेकोले अब एबिसीसम्म पनि पाहुना आउजाउमा सहजता बनाउनेबारे सोचिरहेका छौ,’ उनले भने, ‘स्वास्थ्य असुरक्षाका कारण रिपोर्ट खोजिएको भएपनि अब हटाउने बारे सोचिरहेका छौं । पिसिआरकै झन्झटका कारण पनि पाहुना जान मानेनन् ।’

सचिव गुरुङका अनुसार अहिलेसम्म एबिसी पदमार्गको देउरालीसम्मका होटल खुलेका छन् । देउरालीबाट तीनघण्टामा माछापुच्छ«े आधारशिविर (एमबिसी) र त्यहाँबाट थप डेढघण्टामा एबिसीसम्म उक्लिन सकिन्छ । होटल नखुलेकोले अहिले एबिसीसम्म केहीगरि पाहुना पुगिहालेको खण्डमा पनि बसोबासको व्यवस्था छैन । होटल नखुलिसकेकोले एबिसी पुग्न चाहने पाहुनाका लागि देउरालीदेखि नै खाना सहित पदयात्रामा जान सकिने व्यवस्था मिलाएको उनले बताए ।

‘होटल खोल्नका लागि कामदार आउनुपर्छ । कामदारलाई अब बोलाउने तयारी छ,’ उनले भने, ‘अहिले नै होटल नखुलेकोले पाहुनालाई खानपिनमा अप्ठेरो छ । त्यसैले जान चाहेका पाहुनाका लागि देउरालीदेखि नै खानेकुरा लिएर जाने र घुमेर फर्किन मिल्ने गरि प्याकेज बनाइएको छ ।’ बिहान देउरालीबाट हिडेका पदयात्री एबिसीसम्म उक्लेर ६–७ घण्टापछि देउराली नै फर्किन सकिने उनले बताए । छोमरोङदेखि दुइदिनमा देउराली पुग्न सकिन्छ ।

एबिसीमा चारवटा र एमबिसीमा पाँचवटा होटल छन् । अबको केहीदिनपछि दुवै आधारशिविरका एकएकवटा होटल खुलाउनेबारे योजना बनेको उनले बताए । ‘अरुबेला पनि माघमा सबै होटल चल्दैनथे । योपटक त झनै चल्ने अवस्था नै छैन,’ गुरुङले भने, ‘एबिसी क्षेत्रमा माघलाई सबैभन्दा कमजोर सिजन मानिन्छ । फागुनपछि पदयात्री आउने सम्भावना भएकोले पर्यटक पुग्न सक्ने भएकोले तयारीमा जुट्न थालेको उनले बताए ।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को छोमरोङ चेकपोष्टका कर्मचारी नेत्र शर्माले पनि एकवर्षदेखि एबिसी क्षेत्रको पर्यटन थलिएको बताए । ‘पोहोर यहीबेला हिमपातले थलिएको थियो । हिमपातको अप्ठेरो पूर्ण रुपमा हट्न नपाउँदै कोरोना कहर सुरु भईहाल्यो,’ शर्माले भने, ‘अन्यत्रका पर्यटकीय गन्तव्य संचालनमा आउँदा पनि एबिसी क्षेत्र भने वर्षदिनदेखि सुनसान छ ।’ अहिले छोमरोङदेखि देउरालीसम्मका होटल खुलेका छन् । देउरालीसम्मका होटल खुलेकोले पदयात्रीलाई त्यहाँसम्म आउजाउमा समस्या नभएपनि पर्यटन व्यवसायीले कोरोनाको नेगेटिभ रिपोर्ट खोजेकोले आन्तरिक पाहुना आउन नचाहेको उनल बताए ।  

‘एकवर्षदेखि एबिसी क्षेत्र पूर्णरुपमा बन्द सरह छ । कोरोनाले अन्यत्रका गन्तव्य खुलिसक्दा पनि एबिसी उठ्न सकेन,’ उनले भने, ‘कोरोनाले विदेशी आउन पनि पाएनन् । स्वदेशीका लागि पनि लामो समय बन्द रह्यो । अब बल्ल खुलेको छ, अब पाहुना आउनसक्छन् ।’ शर्माका अनुसार सन् २०१८ मा अन्नपूर्ण आधारशिविरमा ३३ हजार ६ सय ८३ जना विदेशी पर्यटक गएका थिए । त्यो संख्या घटेर २०१९ मा २८ हजार ८ सय ६० मा झरेको थियो । तर, २०२० मा भने पदयात्री जानै नपाएको शर्माले बताए ।  

आन्तरिक पर्यटकले पनि अधिक रुचाएको पदयात्राको रुपमा एबिसी क्षेत्रले पहिचान बनाएपनि एकवर्षदेखि थलिएको टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का उपाध्यक्ष धर्मराज पन्थीले बताए । ‘एकवर्षदेखि एबिसी पाहुनाविहीन छ । माघको पहिलो साता हिमपाथले थलिएको पदयात्रा क्षेत्र कोरोना कहरसँगै झनै अप्ठेरोमा परेको थियो,’ पन्थीले भने, ‘अन्यत्रका गन्तव्यले चैतपछि मात्र पाहुना पाएनन् । तर, एबिसीले भने माघदेखि नै पाहुना पाउन सकेन ।’ पोखरा भित्रिएकामध्ये पनि करिब ४० प्रतिशत पाहुना आसपासका क्षेत्रको पदयात्रामा जाने अनुमान छ । पोखरा आसपास मध्ये पनि अन्नपूर्ण क्षेत्रको पदयात्रामा जानेको संख्या उल्लेख्य रहेको व्यवसायीको भनाई छ । 

प्रकाशित: ५ माघ २०७७ १०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App