१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

संसद् विघटनले सेयर बजारमा पहिरो

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटन गरेपछि सेयर बजारमा पहिरो गएको छ। बजार खुल्नुअघि नै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको खबर सार्वजनिक भएको थियो। त्यसपछि सेयर बजारमा गिरावट आउन थालेको थियो। ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि चुनावको तिथि तोकेपछि सेयर परिसूचक नेप्सेमा झनै गिरावट आयो।  

११ः४४ बजे २०२० बिन्दुमा फर्केको नेप्से राष्ट्रपतिले संसद् विघटन गरेपछि अन्तिम समयसम्म ओरालो लागिरह्यो। अन्ततः चार घन्टामा (११ देखि ३ बजेसम्म) नेप्से ९६.८८ बिन्दुले घटेर १९३५.६३ कायम भयो। सेयर बजार बन्द हुनुभन्दा २५ मिनेट अघिमात्र नेप्से ४३ बिन्दुले ओरालो लाग्यो।  

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २६.३९ बिन्दुले घटेर ३६९.५५ मा आयो। कारोबार रकममा भने राजनीतिक अस्थिरताको खासै असर परेन। यस दिन नौ अर्ब चार करोड ७९ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। एक सय ९८ कम्पनीको एक करोड ४५ लाख नौ हजार पाँच सय ३३ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएका सबै समूहका सूचक घटेका छन्।  

जलविद्युत् ६.६८, निर्जीवन बिमा ५.४८, जीवन बिमा ५.०५ र व्यापार समूह ४.२८ प्रतिशतले घटेको छ। त्यस्तै, विकास बैंक ३.६९, बैंकिङ २.९७, उत्पादन तथा प्रशोधन समूह २.९२, होटल २.६३, फाइनान्स २.३५ र म्युचुअल फन्ड समूह ०.९९ प्रतिशतले घटेको छ। अन्य समूह ८.३९ प्रतिशतले घटेको छ।  

यस दिन ११ कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढी गुमाएका छन्। सबभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशत गुमाए। नेरुडे लघुवित्त वित्तीय, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, छ्याङ्दी जलविद्युत्, अपर तामाकोसी जलविद्युत् कम्पनीका सेयरधनी पनि धेरै गुमाउनेमा परे।  

उच्च अंकले घटेको बजारमा युनाइटेड इदी मर्दीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो। दोसो बजारमा पहिलो दिन कारोबार भएको कम्पनीको सेयर मूल्य २९ रूपैयाँले बढेर तीन सय २५ रूपैयाँ पुग्यो।  

लगानीकर्ताले सेयर बजारमा आएको गिरावटलाई संसद् विघटन गर्ने निर्णयको तत्कालीन प्रतिक्रियाका रूपमा अथ्र्याएका छन्। नेपाल इन्भेटर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले राजनीति दुर्घटनामा पर्दा पुँजी बजार चिन्तित भएको उल्लेख गर्दै त्यसैको प्रतिक्रियास्वरूप सेयरमा गिरावट आएको बताए।  

‘तर यसले लगानीकर्ताका लागि अवसर सिर्जना गरेको छ,’ उनले भने, ‘यतिबेला आफूसँग भएको सेयर बचाएर अरू सेयर खरिद गर्ने अवसर आएको छ।’ उनले बजार घट्दा आत्तिने र बढ्दा मात्तिने बानी त्याग्न लगानीकर्तालाई आग्रह गरे। दुई–तीन दिनमा सेयर बजारले पुनः लय समात्ने उनको अनुमान छ। ‘राजनीतिक अस्थिरता सिर्जना हुँदा बैंक तथा अन्य कम्पनी बन्द हुने होइनन्,’ उनले भने, ‘त्यसैले लगानीकर्ता आत्तिनुपर्ने वा डराउनुपर्ने कारण छैन।’  

लगानीकर्ता संघका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले आइतबारको गिरावट संसद् विघटनको तत्कालीन असर भए पनि यस्तो असर दीर्घकालसम्म नरहने दाबी गरे। ‘आजको नतिजा बिशुद्ध राजनीतिक प्रभाव हो,’ उनले भने, ‘त्यसैले यो लामो समयसम्म कायम रहँदैन।’ उनले राजनीतिक र आर्थिक क्रियाकलाप फरकफरक पाटो हुन् भन्ने कुरा बुझ्न लगानीकर्तालाई आग्रह गरे । 

प्रकाशित: ६ पुस २०७७ ०५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App