१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

कोभिडका बेला सात लाख लाइसेन्स छापियो

यातायात व्यवस्था विभागले कोभिड–१९ महामारीबीच सात लाखभन्दा धेरै स्मार्ट लाइसेन्स छापेको छ। विभागले कोभिड नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको समयलाई स्मार्ट लाइसेन्सको ‘ब्याकलक’ सक्ने अवसरमा बदलेको हो।

विभागका महानिर्देशक गोगनबहादुर हमालले लकडाउनको समयमा बाँकी स्मार्ट लाइसेन्स छाप्ने काम सकिएको बताए। ‘डेढ वर्षदेखि रोकिएको स्मार्ट लाइन्सेस लकडाउनको बेला द्रुत गतिमा छाप्ने काम गर्‍यौं,’ उनले भने, ‘लकडाउनको बेला चार सिफ्टमा काम गरेर पुरानो ब्याकलक सकायौं।’  

विभागले लकडाउन सुरु भएको १० दिनसम्म स्मार्ट लाइन्सेस छपाइ रोकेको थियो। त्यसपछि स्वास्थ्य सतर्कता अपनाएर चैत २० गतेदेखि मुद्रणको कामलाई निरन्तरता दिएको हमालले बताए।

महानिर्देशक हमालले गत अक्टोबरसम्म करिब सात लाख स्मार्ट लाइसेन्स छापेर सम्बन्धित यातायात कार्यालयलाई वितरण गरिसकेको बताए। ‘नोभेम्बर र डिसेम्बरमा नवीकरण गर्न आएका सेवाग्राहीको बाहेक अरू सबैको स्मार्ट कार्ड तयार भइसक्यो,’ उनले भने, ‘अहिले सम्बन्धित यातायात कार्यालयले धमाधम वितरण गरिरहेका छन्।’

कोरोना अवधिमा नयाँ लाइन्सेन्सको ट्रायल भएन। नवीकरण पनि कोही नआएकाले पुरानो कार्ड छाप्ने मौका पाएको हमालको भनाइ छ। ‘कोरोना महामारीलाई स्मार्ट कार्ड छाप्ने अवसरको रूपमा बदल्यौं,’ उनले भने।  

यसअघि साबिकको सवारी चालक अनुमतिपत्र नवीकरण गरेको एकदेखि डेढ वर्षसम्म पनि स्मार्ट लाइसेन्स नपाउने अवस्था थियो। विभागले पछिल्लो समय नवीकरण गर्न आएकाबाहेक पुरानो ब्याकलक लाइसेन्सको नवीकरण सकिएको जनायो। विभागले पहिला सवारी चालक अनुमतिपत्रको नवीकरण र नयाँ थपिने क्रम ज्यादा हुँदा ब्याकलक हुने समस्या देखिएको थियो।

प्रकाशित: २५ मंसिर २०७७ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App